
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज २८ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै ४.६ गुणा बढी माग
काठमाडौं । पियोर इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपीओ) बिक्री खुल्ने पहिलो दिनमै मागभन्दा ४.६ गुणा बढी आवेदन परेको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार साँझ ५:०७ बजेसम्म कुल ५४ करोड ९८ लाख ३३ हजार रुपैयाँ बराबरको आवेदन परेका छन्। यसमा ४ लाख ५८ हजार ५४१ जना लगानीकर्ताहरूले ५४ लाख ९८ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन्।
सर्वसाधारणका लागि खुला गरिएको कित्तालाई आधार मान्दा सो आवेदन उल्लेखनीय रुपमा बढी देखिएको छ, जसले लगानीकर्ताको उच्च उत्साह झल्काउँछ।
चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
काठमाडौँ । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।
कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौँ ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुने छ ।
“अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुने छभने जुनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र हुने छ । साथै सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
शेयर बजार : नेप्से परिसूचकमा ८.६० अंकले घटेर २६६७.६८ बिन्दुमा, ५ अर्ब ६३ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ८.६० अंकले घटेर २६६७.६८ बिन्दुमा आएको छ । आज ५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन ३ सय २१ कम्पनीको १ करोड १३ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।आज ३५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधि विद्युत अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।
डोमिनिकन रिपब्लिकः नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो
सान्तो डोमिङ्गो ।डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको
सङ्ख्या २१८ पुगेको छ ।
प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा परेजका प्रबन्धकसमेतको मृत्यु भएको थियो । यसअघि बुधबार दिइएको जानकारीमा करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो । उक्त घटनापछि कार्यक्रमस्थलमा फसेका कम्तीमा २०० जनाको उद्धार गरिएको थियो भने दर्जनौँ मानिस घटनापछि आँफै सुरक्षित स्थलमा भाग्न सफल भएका थिए । स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजार मानिस थिए ।
पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न महानगरप्रमुखको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । आज पुरातात्विक महत्त्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उहाँले पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त हिटी कामपाको वडा नम्बर ७ गङ्गाहिटी मार्गमा पर्दछ । अनुगमनका क्रममा प्रमुख शाहले हिटीको प्राचीन पहिचान, उपयोग र अतिक्रमण, पानीको प्रवाह र निकासका बारेमा जानकारी लिनुभएको थियो ।
भैरव हिटीभन्दा माथिल्लो भूगोलमा रहेको गङ्गाहिटीमा आउने पानीलाई भैरव हिटीमा आउने पानीको स्रोतका रूपमा उपयोग गर्न सुझाव प्राप्त भएपछि प्रमुख शाहले पुरानो पानीको स्रोत पहिचान गरेर उपयोगको सम्भावना खोज्न निर्देशन दिनुभएको हो ।
म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ ।
ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो ।
बीएडब्लुका आधिकारिक वितरकद्वारा नयाँ वर्षमा उपभोक्तालाई भारी छुटको अफर
काठमाडौँ । नेपालका गाडी बजारका उपभोक्ताहरूका लागि बीएडब्लुका आधिकारिक वितरक एलआरआर मोटर्सले भारी छुटको अफर योजना लिएर आएको छ ।कम्पनीले आफ्नो मिनि कार ब्रम्बीका लागि भारी छुट योजना लिएर आएको जनाएको हो ।े नयाँ वर्षको अवसरमा २ लाख ९१ हजार नगद छुट दिएर सो कार बिक्री गर्न लागेको हो ।
यसअघि २२ लाख ९० हजार रुपैयाँमा बिक्री भइ आएको ब्रम्बी ईभीको सिमित स्टकलाई १९ लाख ९९ हजारमै बिक्री थालिएको छ । बीएडब्लुको ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने जनाइएको छ ।
बाढीले निर्माणाधिन पुल भत्काउँदा दुई करोड बराबरको क्षति
कटारी ।आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ ।
सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनुभयो । ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगार्इँका अनुसार पुल भाचिँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । “रु दुई करोड बराबरको क्षति पुगेको “प्रारम्भिक अनुमान गरिएको छ, अर्को बनाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो, “प्राविधिक मूल्याङ्कनपछि वास्तविक क्षतिको विवरण आउँला ।”
बिस्का जात्रा आजबाट सुरु, तौमढीबाट रथ तानिँदै
भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजबाट सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि स्थानीयको भीड लागेको छ ।
आज बिहान सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज बिहानैदेखि नित्य पूजा सुरु गरेपछि सर्वसाधारणको पूजा सुरु भइसकेको छ, दिउँसो १ बजेसम्म गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेर त्यसपछि अन्य समुदायको पूजा सकेर भैरवको रथ तान्न सुरु गरिने छ, यस वर्ष छिट्टै रथ तानेर गहिटी पुर्याउने लक्ष्य राखेका छौँ ।”
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
म्यानमार । नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो ।
यान्गुन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिनुभयो । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन् ।
सहसचिव अधिकारीका अनुसार म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरणपछि दुई देशका सरकारी प्रतिनिधिबीच छलफलसमेत भएको थियो । सोह्र सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र पत्रकारलगायत हुनुहुन्थ्यो ।
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शानः राष्ट्रपति
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभइ अन्तरर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक भएको बताउनुभएको छ । उहाँले अन्समिल मिसन लिवियामा जाने तयारीमा रहेको श्री नयाँ भैरवी दल गुल्म सातौँ डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई आज काभ्रेको पाँचखालमा सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । उहाँले नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पार्नुभएको छ । “आन्तरिक रूपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकाय प्रतिबद्ध छ भन्नेमा म ढुक्क छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनामा भाग लिँदै अन्तरराष्ट्रिय जगत्मा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उहाँले बताउनुभयो । राष्ट्रपति पौडेलले नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको छ भन्ने कुरा शान्ति सेनामा सबैभन्दा ठूलो हाम्रो उपस्थितिले स्पष्ट पारेको बताउनुभयो ।
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट
काठमाडौँ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन साइडेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा थप सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा जर्मनीले नेपाललाई गर्दै आएको सहयोगलाई कसरी थप प्रभावकारी बनाएर अगाडि बढ्ने भन्नेबारे छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।
ट्रम्पको भन्सार विश्राम बजारलाई राहत तर चीनसँगको व्यापार युद्ध तीव्र बन्दै
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व बजारमा उत्साह जगाउँदै अधिकांश देशमा करहरू अचानक रोक्नुभएको छ । तर उहाँ महाशक्ति प्रतिद्वन्द्वी चीनसँगको कठोर व्यापार युद्धमा अगाडि बढ्नुभएको छ ।
केही दिनको उथलपुथलपछि ट्रम्पले लगभग सबै राष्ट्रका लागि ९० दिनका लागि भन्सार शुल्क वृद्धि रोकिएको घोषणा गरेपछि वाल स्ट्रिट र एसियाभरिका स्टकहरूमा ठूलो उछाल देखियो ।
तर ट्रम्पले ‘सम्मानको कमी’ का कारण चीनमाथि कर बढाएर १२५ प्रतिशत पुर्याएको पनि बताउनुभयो ।
अमेरिकी कर स्थगन विश्व अर्थतन्त्रलाई स्थिर बनाउन ‘महत्त्वपूर्ण कदम’ : इयु प्रमुख
ब्रसेल्स । युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भन डेर लेयनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नियोजित भन्सार शुल्क वृद्धि रोक्ने निर्णयलाई ‘विश्व अर्थतन्त्रलाई स्थिर बनाउने दिशामा महत्त्वपूर्ण कदम’ का रूपमा स्वागत गर्नुभएको छ ।
“व्यापार र आपूर्ति शृङ्खलाले काम गर्नका लागि स्पष्ट, पूर्वानुमानयोग्य अवस्थाहरू आवश्यक छन्”, कार र अन्य औद्योगिक सामानहरूका लागि द्विपक्षीय भन्सार शुल्क छुटको ब्लकको प्रस्ताव दोहोर्याउँदै युरोपेली आयोगका अध्यक्षले एक विज्ञप्तिमा भन्नुभयो, “युरोपेली सङ्घ संयुक्त राज्य अमेरिकासँग रचनात्मक वार्ताका लागि प्रतिबद्ध छ ।”
"नियमित मोही सेवन स्वस्थ र फूर्तिलो जिवन" भन्ने नाराका साथ राष्ट्रिय मोही दिवस मनाइयो
काठमाडौँ । काठमाडौँ । आज राष्ट्रिय मोही दिवस मनाउन लागिएको छ । नेपाल डेरी एसोसिएसनको अगुवाइमा यसको आयोजना गरिएको हो ।एसोसिएसनले पत्रकार सम्मेलनको आयोजना गरी जारी गरेको विज्ञप्ति अनुसार नेपाल डेरी एसोसिएसनले जहाँ जहिले पनि स्वदेशी उत्पादनको उपभोग बढाउने उदेश्यले आफ्ना गतिविधि गरिरहेको हुन्छ । आफ्ना कार्यक्रमहरु बालबालिका वा जेष्ठ नागरिकलाई दुध सेवन गराई समुद्घाटन गर्ने, मायाको चिनो स्वरुप दुग्ध पदार्थ वितरण गर्ने, आफ्ना कार्यक्रमहरुमा दुग्ध पदार्थ खुवाउने, अन्य पेय पदार्थको ठाउँमा मोही, लस्सि, दही, आइसक्रिम आदि राख्ने, सधै दुध वा दुध चिया, कफि खुवाउने अभियानमा निरन्तर काम गरिरहेको छ । जसले गर्दा केहि मात्रामा भए पनि दुध तथा दुग्ध पदार्थको स्वदेशी खपत बढेको छ ।
सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने सङ्कल्प प्रकट भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्र विकासका लागि आत्मविश्वासका साथ अघि बढेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट गर्नुभयो ।
“सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश बनाउनुपर्छ । तीव्र गतिमा विकास गर्नुपर्छ । हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लाँदा गर्व महसुस गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस् । यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन । यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो ।”
नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालका सरकारलाई सुझाव
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले उद्योगी व्यवसायीको मनोबल अझ बढन नसकेको बताएका छन् । उनले नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।
कालोसूचीमा पर्न लागेको निर्माण व्यवसायी र खराब कर्जाको बोझले थिचिन लागेका बैंकहरूलाई राहत दिने निर्णय
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तनावमा रहेका निर्माण व्यवसायी र खराब कर्जाको बढ्दो भारी बोक्ने बैंकहरूका लागि नीतिगत व्यवस्था गरी राहत दिएको छ । निर्माण व्यवसायीहरूले सरकारबाट भुक्तानी पाएर बैंकहरूलाई तिर्नुपर्ने साँवा ब्याज नतिरिदिएकाले दुवै क्षेत्र बढिरहेको तनाव कार्यवाहक गर्भनर नीलम ढुंगाना तिम्सिनाको पहिलो बैठकबाट तत्कालका लागि सरेर गएको हो ।
यसबाट व्यवसायीहरूले भुक्तानीको समय पाएका छन भने बैंकहरूले त्रैमासिक वासलातमा खराब कर्जाको भारीबाट राहत पाउने भएका हुन् ।राष्ट्र बैंकले बुधबार जारी गरेको सर्कुलरले यस्तो जनाएको हो ।बैंकहरुले निर्माण क्षेत्रको ऋण असुलीमा समस्याका कारण तेस्रो त्रैमासिकमा खराब ऋण एक प्रतिशतभन्दा धेरै बढ्ने अनुमान गरिरहेका थिए। वाणिज्य बैंकहरुको औसत खराब ऋण दोस्रो त्रैमासिकसम्म ४.७३ प्रतिशत छ।
नेपाल–भारतका भन्सार अधिकारीहरूबीच काठमाडौंँमा भन्सारसम्बन्धी दुई दिने छलफल सुरु
काठमाडौ । नेपाल र भारतका भन्सार अधिकारीहरूबीच काठमाडौंँमा भन्सारसम्बन्धी दुई दिने छलफल सुरु भएको छ।भन्सार विभागका महानिर्देशक महेश भट्टराई नेतृत्वमा नेपाली टोली र भारतको राजस्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभय कुमार श्रीवास्तवको नेतृतवमा भारतीय टोलीबीच दुई दिने छलफल सुरु भएको हो ।
नेपाली टोलीमा अर्थ, परराष्ट्र र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा बाली क्वारेन्टाइन विभागका प्रतिनिधिहरू सहभागी रहेका छन्।भारतीय टोलीमा राजस्व इन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रीय ईकाईका सहायक महानिर्देशक, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव, कलकत्ता, पटना र लखनउ भन्सार कार्यालयका प्रमुखलगायतका अधिकारीहरूको सहभागिता रहेको छ ।
मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री ओली सबै मन्त्री र सचिवहरूसँग बजेटबारे छलफल गर्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक अघि आगामी अर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न लागेका छन् ।सिंहदरवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्री र सचिवहरुसँग छलफलको आयोजना गरिएको हो ।
प्रधानमन्त्री ओलीको सचिवालयलले जानकारी सार्वजनिक गरे अनुसार सो बैठक आज दिउँसो साढे ३ बजेका लागि बोलाइएको हो ।प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिने भएका हुन् । यसअघि तयारीका बारेमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग बजेटको सीमा र राजस्व संकलनको अवस्थाबारे छलफल गरेर सम्भावित आयोजना बनाउन आग्रह गरेका थिए ।
लड अफ द ड्रिंक्स् (एलओडी कल्ब) विश्वकै उत्कृष्ट मध्ये ४४ औं स्थानमा
काठमाडौं । काठमाडौंको ठमेलमा रहेको लड अफ द ड्रिंक्स् एलओडी कल्ब विश्वकै उत्कृष्ट मध्ये ४४ औं स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले २०२५ का लागि गरेको छनौटमा एलओडी ४४ औं स्थानमा परेको हो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबहरुको सहभागी थिए । क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।
एलओडी डिजे म्याग टप सयको छनौट भएर ४४ औं स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए। उनकाअनुसार यस पटक पनि मुलुकका पाँच सय क्लब सहभागी थिए।\
आज एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकद्वारा जारी गरिएको ऋणपत्रमा आवेदन दिने आज बिहीबार अन्तिम दिन हो। व्यक्तिगत तवर ९प्राइभेट प्लेसमेन्ट० बाट अत्यधिक माग आएपछि आजै बिक्री बन्द गर्न लागिएको हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
बैंकले चैत २५ गतेदेखि प्रति इकाई १,००० रुपैयाँका दरले कुल ५० लाख इकाई ऋणपत्र निष्काशन खुला गरेको हो। यसमध्ये ४० प्रतिशत अर्थात् २० लाख इकाई सर्वसाधारणका लागि र बाँकी ६० प्रतिशत अर्थात् ३० लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्न लागिएको हो।
सर्वसाधारणका लागि छुट्याइएको इकाईमध्ये ५ प्रतिशत ९१ लाख इकाई० म्युचुअल फन्डका लागि आरक्षित गरिएको छ। ‘७५ एनआईसी एशिया डिबेन्चर २०९१’ नाम दिइएको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
सुनको मूल्यमा नयाँ रेकर्ड ,तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँ
काठमाडौं । सुनको मूल्यमा आज नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिन तोलामा २ हजार बढेको सुन आज बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको छ । बुधवारका दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो
यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुगेको छ ।
चालु आवको आठ महिनामा मुद्रास्फीति ३.७५ प्रतिशत, वैदेशिक व्यापार र विप्रेषणमा उल्लेखनीय वृद्धि
काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे चालु आवको आठ महिनाको तथ्याङ्कअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको थियो ।
वर्षा कमी र गर्मीको दोहोरो प्रभाव: मार्च महिनामा ३० प्रतिशतसम्म वर्षा कमी, तापक्रममा पनि वृद्धि
काठमाडौँ । गएको मनसुनपछि नेपालमा राम्ररी वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार यही चैत ९ र १० ९मार्च २२ र २३० गते देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा भएकामा तत्पश्चात् पर्याप्त वर्षा हुन सकेको छैन ।
पश्चिमी वायुको प्रभाव ज्यादै कमजोर रहेकाले विगत लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रममा वृद्धि हुँदा वायुमण्डल सुक्खा रहेको विभागकी प्रवक्ता विभूती पोखरेलले बताउनुभयो । त्यसैले तुवाँलोको प्रभावले वायुमण्डलको पारदर्शितासमेत न्यून हुन गई हालको वायु प्रदूषणलाई थप जोखिमयुक्त अवस्थामा पु¥याउन भूमिका खेलेको उहाँले बताउनुभयो ।
यस्तो छ आजको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij