Logo

Apr 16 2025 | २०८२, वैशाख ४गते

Apr 16 2025 | २०८२, वैशाख ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज २ वैशाख मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सर्वोच्च अदालतको आदेश : गभर्नर नियुक्तिमा संशोधित मापदण्ड तत्काल लागू नगर्न

    काठमाडौं । गभर्नर नियुक्तिमा उमेर हद सम्बन्धी संशोधित मापदण्ड तत्काल लागू नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

     

    न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उक्त आदेश दिँदै, सरकारले अर्थ मन्त्रालय अन्तर्गतका पदाधिकारी नियुक्तिका लागि मापदण्ड २०७३ मा गरेको संशोधनलाई रोक लगाएको हो। संशोधन अनुसार गभर्नर नियुक्तिका लागि तोकिएको ६५ वर्षको उमेर सिमा हटाइएको थियो।

    तर, उक्त निर्णयविरुद्ध अधिवक्ता विशाल थापा लगायतले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही सन्दर्भमा सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि आगामी आइतबार बोलाएको छ। त्यसपछि मात्र अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गरिनेछ।

    नेपाल वायुसेवा निगमले ७ अर्बभन्दा बढी ऋण भुक्तानी, वाइडबडी र न्यारोबडीका किस्ता चुक्ता

    काठमाडौं । नेपाल वायुसेवा निगमले हालसम्म ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ ऋण भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी विमानका लागि कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये ठूलो हिस्सा चुक्ता गरिएको हो।

    निगमका अनुसार चालु आर्थिक वर्षको चैत महिनामा दुई न्यारोबडी जहाजको किस्ता पूर्ण रूपमा र दुई वाइडबडी जहाजको आंशिक रुपमा गरी चैत ३१ गते मात्र ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको छ। निगमले बिस्तारै आफ्नो ऋण दायित्व कम गर्दै लगेको जानकारी दिँदै आगामी दिनमा थप किस्ता नियमित रूपमा तिर्ने प्रतिबद्धता जनाएको छ।

    नयाँ वर्षको पहिलो दिन सेयर बजारमा हरियाली, ८ अर्ब ५४ करोडको कारोबार

    काठमाडौं । नयाँ वर्षको पहिलो दिन  सेयर बजारमा हरियाली छाएको छ ।  नयाँ वर्ष २०८२ वर्षको पहिलो कारोबार दिनमा नेप्से २७. ९विन्दुले बढेर २६८९.१७ विन्दुमा पुगेको छ । आज मंगलबार नेप्सेमा ८ अर्ब ५४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन विगत १ महिनाभन्दा यताकै उच्च हो ।

    यस दिन ३ सय २० कम्पनीको २ करोड १८ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ अर्ब १ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा बलेफी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । cfh दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र राधी विद्युत परेका छन् ।

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा १.४२ लाख संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई पनि आवेदन दिन मौका

    काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यो सेयर अब सर्वसाधारणसहित इच्छुक व्यक्ति, कम्पनी वा संघ–संस्थाहरूले पनि खरिद गर्न सक्नेछन्।

    पहिले बैंकले विद्यमान संस्थापक सेयरधनीहरूलाई सेयर खरिदको अवसर दिएको थियो। तर उनीहरूले खरिद नगरेपछि उक्त सेयर सर्वसाधारणका लागि समेत खुला गरिएको हो।

    नयाँ आईपीओहरूमा लगानीकर्ताको चासो, थोरै कित्ताको शेयरमा उच्च मूल्यको प्रवृत्ति

    काठमाडौँ ।हालैको समयमा नेपालमा लघु जीवन बीमा कम्पनीहरूको आईपीओप्रति लगानीकर्ताको ध्यान आकर्षित भइरहेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो लाइफ इन्स्योरेन्स, र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता शेयर मात्र जारी गरेका छन्। यी तीनवटै कम्पनीको चुक्ता पुँजी पनि लगभग समान छ, जसले गर्दा बजारमा यी कम्पनीहरूको शेयर मूल्य तीव्र रूपमा बढ्न थालेको देखिन्छ।

     

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स पहिलो कम्पनी थियो जसले नेप्सेमा सूचीकृत भइ कारोबार सुरु गर्‍यो। प्रारम्भिक कारोबारका केही दिनहरूमा सीमित संख्यामा मात्र शेयर किनबेच भएको भए पनि, सोही अवधिमा यसको मूल्य अधिकतम २७७८ रुपैयाँसम्म पुगेको थियो।

    पाकिस्तानको बलुचिस्तानमा विस्फोट, तीन जना प्रहरीको मृत्यु, १६ घाइते

    इस्लामाबाद ।पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको  बम विस्फोटमा तीन जना प्रहरीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।
    सरकारी प्रवक्ता शाहिद रिन्दका अनुसार घटना मस्तुङ जिल्लाको कुन्द मसुरी क्षेत्रमा भएको हो, जहाँ तालिम केन्द्रबाट फर्किरहेकै क्रममा प्रहरीहरू चढेको गाडीलाई लक्षित गरी विस्फोट गराइएको थियो ।

     

    दुई जना घाइतेको अवस्था गम्भीर छ । सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । प्रहरी टोली बलुचिस्तान नेशनल पार्टी–मेङ्गल ९बीएनपी–एम० द्वारा आयोजना गरिएको धर्नाको सुरक्षामा खटिएको थियो ।

    काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा वर्षा, मौसम बदली बिहीबारसम्म रहने अनुमान

    काठमाडौँ । काठमाडौँ उपत्यकालगायतका मुलुकका विभिन्न स्थानमा पानी परेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । 

     

     

    महाशाखाका मौसमविद् मीनकुमार अर्यालले पश्चिमी वायुको प्रभाव र हाल स्थानीय वायु सक्रिय भएका कारण मेघगर्जनसहित वर्षा सुरु भएको बताउनुभयो । “अहिले सुरु भएको दुई घण्टासम्म रहने अनुमान छ, ठूलो वर्षा हुने सम्भावना छैन”, उहाँले भन्नुभयो, “बिहीबारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।”

     

    महाशाखाले बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा  मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

    त्रिविको उपकुलपतिको जिम्मेवारी डा केसीलाई

    काठमाडौँ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोक्नुुभएको छ ।

     

     

    उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार शिक्षाध्यक्ष केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।

    राजस्व अनुसन्धान विभागद्वारा २५ करोड विदेशी मुद्रा भएको ट्रकको अनुसन्धान सकी मुद्दा दायर

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले  २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा प्रकरण विषयमा  अनुसन्धान सकी अभियोग पत्र दायर गरेको छ । सरकारी वकिल कार्यालय काठमाडौँको राय प्राप्त भएपछि विभागले जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो।सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा र नारायण पौडेललाई अभियोगपत्रमा मुख्य अभियुक्त बनाइएको हो। यसअघि राजस्व अनुसन्धान विभागले  २५ करोड रुपैयाँको मालिक पौडेल भएको खुलाएको थियो । तर अहिले ट्रक चालक कुसाङलाई पनि मुख्य अभियुक्त नै बनाइएको छ।

     

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  चैत ४ गते टोखाबाट ट्रकभित्र राखिएको २५ करोड भएको ट्रक बरामद गरेको थियो। ट्रकका चालक कुसाङको साथबाट बरामद भएको मोबाइल, बैंक एकाउन्टमा भएको डिपोजिट रकम र अन्य कुराको आधारमा राजस्व अनुसन्धान विभागले २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा पौडेलको भएको खुलाएको थियो।टोखाको बालकुमारी मन्दिरमा पौडेलको मोबाइलको अन्तिम लोकेसन ट्र्याक भएपछि मोबाइल अफ भएको देखिएको छ। पौडेलको घर टोखामै छ।

    पियोर इनर्जीको आइपीओमा  माग भन्दा १९.०२८ गुणा बढी आवेदन

    काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओमा २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार (वैशाख २ गते) साँझसम्ममा १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन १९.०२८ गुणा बढी हो ।

    दिलिप अग्रवालले सञ्चालन गरेको जान्वी ग्रुप अन्तर्गतका कम्पनी मित्तल ओभरसिज र  प्लास्टोक्याबले यसरी छल्छन् भन्सार /राजस्व, सम्बन्धित निकाय मौन

    काठमाडौँ । दिलिपकुमार अग्रवालद्वारा सञ्चालित जान्वी ग्रुप (JANVI GROUP) अन्तर्गतका कम्पनीहरू मित्तल ओभरसिज र जान्वी प्लास्टोक्याबले विभिन्न शीर्षकमा भन्सार राजस्व छली गरिरहेको पाइएको छ ।
    इलेक्ट्रिक्स /इलेक्ट्रोनिक्सका  विभिन्न मालवस्तुको आयात, तथा बिक्री वितरण  गर्ने  कम्पनी मित्तल ओभरसिज ( काठमाडौँ भोटेबहाल) र जान्वी प्लास्टोक्याब( बारा वीरगञ्ज)ले विभिन्न शीर्षकमा भन्सार राजस्व छली गरिरहेको पाइएको हो ।

     

    दिलिपकुमार अग्रवालले सञ्चालन गरेका यी कम्पनीहरूले चाइनाबाट विभिन्न इलेक्ट्रिक्स / इलेक्ट्रोनिक्स मालवस्तुहरू आयात गर्दा न्यून बिलबीजकमा ल्याएर भन्सार राजस्व छली गरिरहेको पाइएको छ । उसले किलोमा ल्याएर गोटामा बिक्री वितरण गर्ने गरेको पाइएको छ । भन्सारको छिद्रहरूलाई समाउँदै भन्सार कर्मचारीलाई समेत प्रभावमा पारी विगत लामो समय देखि मित्तल ओभरसिज र जान्वी प्लास्टोक्याबले भन्सार राजस्व  छल्दै आएको पाइएको छ । जान्वी ग्रुप अन्तर्गतका यी कम्पनीहरूले भारतबाट विभिन्न कम्पनीहरूका इलेक्ट्रिक्स /इलेक्ट्रोनिक्सका विभिन्न मालवस्तु आयात गर्दा साफ्टा सुविधा अन्तर्गत आयात गर्ने गरेको पनि देखिएको छ । साफ्टा सुविधा अन्तर्गत ल्याइएका यस्ता मालवस्तुहरू बिक्री वितरण गर्दा समेत यी कम्पनीहरूले राजस्व छल्ने गरेको ,अधिकतम् नाफा खाने गरेको वीरगञ्जका एक व्यापारीले बताएका छन् ।

    दन्त सामग्री वितरक संघद्वारा तेस्रो ‘नेपडेन्ट’ सम्मेलनको आयोजना गरिँदै

    काठमाडौं । नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडीडीए)ले तेस्रो नेपडेन्ट सम्मेलनको  आयोजना गर्न लागेको छ । संघले  बैशाख ५, ६ र ७ गते अन्तर्राष्ट्रियस्तरको तीनदिने नेपडेन्ट २०२५ सम्मेलन हुने जनाएको हो । संघका सचिव निरन्जन खतिवडाले तेस्रोपटक हुन लागेको उक्त सम्मेलन काठमाडौँको भुकुटीमण्डपमा हुने जनाए । सम्मेलनमा ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने  खतिवडाले विश्वास व्यक्त गरे । यसभन्दा अघि संघले भृकुटीमण्डपमा यस प्रकारको सम्मेलन सम्पन्न गरेको थियो।

     

    नेपालमा दन्त सामग्री आपूर्तिको क्षेत्रमा ४८ संस्थाहरुले काम गर्दै आइरहेका छन् । करिब ९० भन्दा बढी स्टल रहने उक्त सम्मेलनमा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामग्रीबारे जानकारी समेत दिइने जनाइएको छ।

    सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छ : ट्रम्प

    हनोई ।चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार भियतनामका दिवङ्गत क्रान्तिकारी नेता हो ची मिन्हलाई हनोईको भ्रमणको अन्तिम दिन श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त भ्रमणले संयुक्त राज्यलाई ‘बिगार्ने’ लक्ष्य राखेको बताउनुभएको छ ।

     

     

    मलेसिया र कम्बोडिया समावेश हुने दक्षिणपूर्वी एसिया भ्रमणको एक हिस्साका रूपमा सी भियतनाममा हुनुहुन्छ । ती मुलुकका नेताहरूले अमेरिकी भन्सार शुल्कको सामना गरिरहेको बेला बेइजिङले आफूलाई ट्रम्पको स्थिर विकल्पका रूपमा स्थापित गर्न खोजिरहेको छ ।

    सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

    कमलामाई (सिन्धुली)। नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन् । अतिथि सत्कारका लागि राखिएका मुड्का कुनै खाली छैनन् । मञ्चमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मले विभिन्न लोपोन्मुख सांस्कृतिक प्रस्तुतिहरु पस्किरहेका छन् । दर्शकदीर्घा हरेक दिन भरिन्छ, बच्चादेखि बुढासम्मको उपस्थितिले । २०८१ चैत २८ गतेदेखि यहाँ राष्ट्रिय कला महोत्सव चलिरहेको छ । महोत्सवमा नेपालको मौलिक जीवनशैली झल्किने वस्तुहरू सजिएका छन् । परम्परागत घरको नमूना बनाइएको छ । यहाँ प्रदर्शन गरिएका रोङ्गटे पिङ, ऐतिहासिक पुरातात्विक सामग्रीहरु, मौलिक बाजागाजादेखि जातीय झाँकी, गीत, लोक नृत्यमा संस्कृति बोलिरहेको छ ।

    सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस

    काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष तीन तहका सरकारले उठाउन पाउने आन्तरिक ऋणको सीमा सिफारिस गरेको छ । आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋण उठाउँदा सङ्घ सरकारले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशत र प्रदेश तथा स्थानीय तहले आफ्नो आन्तरिक स्रोत तथा वित्तीय हस्तान्तरणबाट प्राप्तसमेत कुल राजस्वको १२ प्रतिशतभन्दा बढी नहुनेगरी ऋण उठाउन पाउने व्यवस्था भएको छ । “देशको समष्टिगत आर्थिक स्थिति, राजस्व तथा खर्चको अनुमान र बजार सहजताको विश्लेषण गरी सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि अनुमानित कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्नेछ”, आयोगको सिफारिसमा भनिएको छ । आन्तरिक ऋण उठाएर पुँजी सिर्जना गर्ने क्षेत्रमा मात्र सरकारले लगानी गर्नुपर्ने सुझाव दिइएको छ । राष्ट्रिय नीति तथा योजनामा आधारित भई लागत–लाभ विश्लेषणबाट आन्तरिक प्रतिफल दर वा खुद वर्तमान मूल्य उपयुक्त भएका परियोजना, राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी आयोजना र मध्यकालीन खर्च संरचनाअन्तर्गतको पहिलो प्राथमिकता प्राप्त आयोजनाका लागि मात्र आन्तरिक ऋण उठाउन आयोगको सिफारिस छ ।

    एनआईसी एशिया बैंकको ५ अर्बको ऋणपत्र बाँडफाँट सम्पन्न, सर्वसाधारण र व्यक्तिगत तर्फबाट बिक्री

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले १० वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँट सम्पन्न गरेको छ। बैंकले ७ प्रतिशत वार्षिक ब्याजदरमा ५० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो।

     

    उक्त ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गरेको छ भने बाँकी ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरिएको थियो।

    बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक समस्यामा

    वीरगन्ज (पर्सा) । बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक र रोजगारदाताबीचको कानुनी उपचार खोज्नका लागि सङ्घीय राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता कायमै छ  यसबाट श्रमिक र रोजगारदाताको समय र खर्च दुवै बढी हुने कारणले पनि न्यायको पहुँचसम्म पुग्न हिच्किचाइरहेको अवस्था छ । मुलुकभरकै श्रमिक तथा रोजगारदाताहरू श्रमसम्बन्धी मुद्दा लिएर श्रम अदालत काठमाडौँ जाँदा अदालतमा पनि मुद्दाको चाप बढी हुँदा न्याय प्राप्तिका लागि धेरै समय खर्चिनुपर्ने बाध्यता पनि थपिएको छ । नेपाल टे«ड युनियन कांग्रेस मधेस प्रदेशका पूर्वअध्यक्ष लक्ष्मण कुर्मी बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा यहाँका मजदुरले ठूलो समस्या झेल्दै आइरहेको बताउनुहुन्छ । “उद्योगी र व्यवसायीबाट पीडित भएको श्रमिक न्याय खोज्नकै लागि श्रम अदालत काठमाडौँ धाउनुपर्ने समस्या यथावत् नै छ”, उहाँले भन्नुभयो, “बिहान–साँझ श्रम गरेर खानुपर्ने श्रमिक आफ्ना सबै कुरा छाडेर कानुनी उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी भइसकेको छ । हामीले पटकपटक बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रलाई समेट्नेगरी श्रम अदालत स्थापना गर्न माग गरिसक्यौँ, तर अहिलेसम्म पनि कार्यान्वयन हुनसकिरहेको छैन ।” अध्यक्ष कुर्मीले अहिले पर्साकै कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पर्साकै हुनुभएकाले पनि उहाँले पहलकदमी गरेको खण्डमा श्रम अदालत वीरगन्जमा ल्याउन सकिने बताउनुभयो ।

    रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा आज गिरावट, मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ३ सय कायम

    काठमाडौँ।गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ । गत आइतबार प्रतितोला रू एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रू एक हजार ७०० ले घटेर रू एक लाख ८४ हजार ३०० मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

     

    त्यस्तै आज चाँदी तोलामा रू १५ घटेर रू एक हजार ९४५ मा खरिदबिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

     

    युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ २७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

     
     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij