
काठमाडौँ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। उनले शुक्रबार बिहान राजीनामा दिएका हुन्।तर गभर्नर बन्नकै लागि उनलाई राजीनामा गर्नुपर्ने अवस्था भने छैन् । नेपाल राष्ट्र बैंक ऐनले ‘गभर्नर नियुक्तिको प्रयोजनका लागि कार्यकारी निर्देशकले राजीनामा दिनुपर्छ’ भनेको छैन। गभर्नर नियुक्त भएपछि कार्यकारी निर्देशकबाट स्वतः राजीनामा गरेको मानिन्छ।तर उनको राजीनामा गभर्नर पदको जिम्मेवारी पाउने गरी भएको चर्चा चलेको छ ।
सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको भएपनि अहिलेसम्म त्यसको बैठक सम्म बसेको छैन् । सत्तागठबन्धनका दुई ठुला दलबीच गभर्नर कसलाई बनाउने विषयमा निर्णय हुन नसक्दा समितिको बैठक बस्न नसकेको सम्बद्ध विषयका जानकारहरू बताउँछन् ।यस विषयमा बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टका नाममा सहमति भएको स्रोत बताउँछ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले सक्दो छिट्टो बैठक बसी भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने छ । सिफारिससँगै मन्त्रिपरिषद् बैठकबाट भट्टलाई गभर्नर बनाउने तयारी भइरहेको छ ।गभर्नरका लागि भट्टको नाममा सहमति भएपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले उनलाई डाकेर भेटिसकेका छन्।
नेपाल राष्ट्र बैंकले गभर्नरका लागि केही योग्यताहरु तय गरेको छ । उच्च नैतिक चरित्र भएको नेपाली नागरिकका अतिरिक्त आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने आवश्यक योग्यता अन्तर्गका विषय तय गरेका छन् । कार्यअनुभवका रुपमा कानुनले– सरकार वा राष्ट्र बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी तहको पद वा त्यो सरहको पद वा मर्यादाक्रमको हिसाबले त्यो पदभन्दा उच्च पदमा काम गरेको अनुभव सम्झनु पर्छ भनेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij