Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

वाणिज्य बैंकहरूको नाफा ९ महिनामा सवा ४१ अर्ब बढी

वाणिज्य बैंकहरूको नाफा ९ महिनामा सवा ४१ अर्ब बढी

  • काठमाडौँ । चालु आर्थिक वर्ष (आव)२०८१÷८२को ९ महिनामा वाणिज्य बैंकहरूको नाफा बढेर सवा ४१ अर्ब बढी भएको छ । चालु आवको तेस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ भन्दा बढी नाफा कमाएका हुन् ।सञ्चालनमा २० वटा वाणिज्य बैंकहरू रहेका छन् । चालु आर्थिक वर्षको ९ महिनामा कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा १.४० प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुको नाफा  ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ थियो । 

    ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ । सो अवधिमा सबै भन्दा बढी नाफा कमाउने बैंकमा नबिल रहेको छ । यसको नाफा ५ अर्बभन्दा बढी छ । यो बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ रहेको छ । यो गत आवको सोही अवधिको  तुलनामा  ८.२१ प्रतिशतले बढी हो । ५ अर्ब नाफा कमाउने नबिल एक्लो बैंक हो ।

    प्रतिशतको हिसाबमा यो अवधिमा सबैभन्दा बढी नाफा पाउने नेपाल बैंक लिमिटेड बन्न पुगेको छ । गत आवको सोही अवधिको तुलनामा यो बैंकले २०३२.८० प्रतिशतले नाफा बढाएको छ । कुल २ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ बढी नाफा कमाएको छ । 

    नाफा घट्ने बैंकहरुमा प्राइमक कमर्सियल बैंक, स्टान्र्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय  वाणिज्य बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआइसी एसिया बैंक छन् ।
    यसैगरी चालु आवको तेस्रो त्रैमासिकसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा नाफा वृद्धि गर्ने बैंकमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा, ग्लोबल आइएमई, एभरेष्ट, नेपाल बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा लक्ष्मी सनराइज, नेपाल एसबिआई र माछापुच्छ्रे बैंक रहेका छन् ।

    सर्वाधिक नाफा आर्जन गर्ने बैंकको दोस्रो नम्बरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । यो बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ३८.६१ प्रतिशतले बढेको छ।

    धेरै नाफा कमाउनेमा तेस्रो  ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले तेस्रो त्रैमासिकसम्मको अवधिसम्म ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ रहेको थियो । बैंकले गत आवको तुलनामा चालु आवको ९ महिनामा ३७.१२ प्रतिशतले नाफा बढाएको छ ।

    यसैगरी चालु आर्थिक वर्षको चैतसम्म एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    चैतसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    यसैगरी  चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्मी सनराइज बैंकले १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ४३ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ३२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    चैतसम्म सिजिजन्स बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, हिमालयन बैंकले ५० करोड रुपैयाँ, कुमारी बैंकले २८ करोड ५८ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १५ करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij