
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले न्यून बजेट खर्चप्रति सम्बन्धित मन्त्रालय नै जिम्मेवार हुनुपर्ने बताउनुभएको हो ।
“अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ । अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने हो । तर विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो”, उहाँले भन्नुभयो ।
अर्थमन्त्री पौडेलले बेरुजु फछ्र्यौट, वैदेशिक लगानीलाई सहजीकरण, पुँजी परिचालन, आधुनिक प्रविधिको प्रयोग, सेवा प्रवाहलगायतलाई ध्यान दिएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
बैठकमा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुङ्गानाले आर्थिक तथा मौद्रिक परिसूचकहरुले अर्थतन्त्र विस्तारै लयमा आएको उल्लेख गर्दै वित्तीय स्थायित्वमा जोड दिनुभयो ।
अर्थसचिव घनश्याम उपाध्यायले नियमन र कारबाहीलाई प्रभावकारी बनाउँदै अघि बढ्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
राजस्व सचिव दिनेशकुमार घिमिरेले आन्तरिक सुशासनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले बैठकमा आगामी आर्थिक वर्षका लागि कार्यतालिका अनुसार बजेट निर्माण प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij