
काठमाडौँ । बजेटको अधिवेशन पहिलो दिन विभिन्न दलका दोस्रो वरियताका नेताहरूको सम्बोधनबाट सञ्चालन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको छ।आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने सुरु गर्ने अनौपचारिक तयारी थियो ।
तर प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् ।
आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।त्यसै पनि संसद सचिवालयले सार्वजनिक गरेको कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन समावेश गरिएको थिएन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij