Logo

Apr 28 2025 | २०८२, वैशाख १६गते

Apr 28 2025 | २०८२, वैशाख १६गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख १५ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख १५ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख १५ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..

    एनएमबि बैंकले ५ अर्ब रुपैयाँको '७% पावर बन्ड' निष्कासन गर्न अनुमति माग्यो

    काठमाडौं । एनएमबि बैंकले ५ अर्ब रुपैयाँ बराबरको बन्ड निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरले ५० लाख इकाई ‘७% एनएमबि पावर बन्ड १’ बिक्री गर्ने प्रस्ताव गरेको हो।

    प्रस्तावअनुसार, बन्डमध्ये २० लाख इकाई सर्वसाधारणका लागि जारी गरिनेछ भने बाँकी ३० लाख इकाई बैंकले आफ्नै पहलमा निजी रुपमा बिक्री गर्नेछ। यो बन्डको अवधि ७ वर्षको हुनेछ र यसमा वार्षिक ७ प्रतिशत ब्याजदर तोकिएको छ।

     

    सिद्धार्थ क्यापिटल लिमिटेडले बन्ड बिक्री तथा व्यवस्थापनको जिम्मा लिएको छ।

    ग्रीन डेभलपमेन्ट बैंकको ३१ लाख बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो सेयर बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर हो।

    नेप्सेले सूचीकृत सेयरहरू लाभग्राहीको डिम्याट खातामा जम्मा भएपछि बजारमा कारोबार गर्न सकिने जनाएको छ। अब लगानीकर्ताहरूले ती सेयरहरू किन्न, बेच्न वा कारोबार गर्न सक्नेछन्।

    शेयर बजार : नेप्से परिसूचकमा १४.५८ अंकले घटेर २६४७.०२ बिन्दुमा, ८ अर्ब ९१ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा  १४.५८ अंकले घटेर २६४७.०२ बिन्दुमा आएको छ ।  आज ८ अर्ब ९१ करोड  रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

     

    आज २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ४ वटा समूहका सूचक बढेका छन् ।  यस दिन ३ सय २७ कम्पनीको २ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७० करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र युनिभर्सल पावर कम्पनी परेका छन् । 

    गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा

    गण्डकी । निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन् । 

     

    निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । पचास वर्षअघि निर्माण भएको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । 

    गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड ९जामुने–मुग्लिन०मा हालसम्म भौतिक प्रगति ८२।९५ प्रतिशत र पश्चिम खण्ड ९पोखरा–जामुने०मा ५०।३४ प्रतिशत पुगेको छ । पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार कूल ४१ दशमवल ४५ किमी दूरीको उक्त खण्डमा तीन किमि मात्र कालोपत्र हुन बाँकी छ । “कालोपत्र अन्तिम चरणमा पुगेको छ, दमौली र डुम्रे बजारमा गरी करिब दुई किमि सडक छ लेनको बनेको छ, अन्यत्र चार लेनको छ”, उहाँले भन्नुभयो, “आगामी असारभित्रमा पूर्वी खण्डको काम सक्ने लक्ष्य छ ।”

    कामना सेवा विकास बैंकको ११ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ११ हजार ७४१ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ। बैंकले प्रतिकित्ता ११० रुपैयाँ अंकित मूल्यमा वैशाख १५ गतेदेखि यी सेयर बिक्री खुला गरेको हो।

     

    सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले पनि आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र प्राथमिकता दिएर विक्री खुला गरिएकोमा सम्पूर्ण सेयर वितरण नभएपछि अन्य इच्छुक व्यक्ति तथा संस्थालाई समेत आवेदन दिन अनुमति दिइएको हो।

    ट्रेड टावर लिमिटेडको वैदेशिक आइपीओमा २.७० गुणा बढी आवेदन

    काठमाडौं ।ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको प्राथमिक सेयर (आइपीओ) मा १० करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार, आज (वैशाख १५ गत) बिहान १०:०६ बजेसम्म ४८ हजार ९२१ जनाले कूल १० लाख ७५ हजार ६८० कित्ताका लागि आवेदन दिएका छन्, जुन कम्पनीले निष्कासन गरेको सेयर संख्याको २.७० गुणा बढी हो।

    कम्पनीले वैशाख ८ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेको हो। पहिलो चरणमा कम्पनीले ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको हो।

    आत्मनिर्भर लघुवित्तको नाफा ६८.९३% ले बढ्यो, एनपीएल १५.०८%पुग्यो

    काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६८.९३ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा संस्थाले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।

     

    संस्थाको खुद ब्याज आम्दानी ८ करोड ६४ लाख रुपैयाँबाट बढेर ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा उल्लेख्य सुधार ल्याएको छ। साथै, प्रोभिजनका लागि छुट्याइने रकममा पनि कमी आएको छ।

    सुनको मूल्य तोलामा रु १,४०० ले घट्यो, प्रतितोला रु एक लाख ८८ हजार ३००

    काठमाडौँ । आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट देखिएको छ ।

     

     

    आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

     

     

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर  एक हजार ९७० कायम भएको छ ।

    लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न कांग्रेसलाई चेम्बरको सुझाव

    काठमाडौँ । निजी क्षेत्रको संस्था नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई सुझाव दिएको छ ।

     

    आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा चेम्बरले औद्योगिक एवं व्यापारिक क्षेत्रमा देखिएका समस्या एवं सुधारको पहलसहित विभिन्न सुझाव दिएको हो । चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव हस्तान्तरण गर्नुभयो ।

    ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

    काठमाडौँ  ।  प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

     

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सो प्रस्ताव प्रस्तुत गर्नुभएको  थियो । प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसद प्रेमबहादुर आलेले पोखरा विमानस्थल दुर्दशाको कारण नियामक र सेवाप्रदायक एउटै व्यक्ति हुनु रहेको बताउनुभयो । विसं २०८० साउन ९ गते क्यानको महानिर्देशकले धम्क्याएर ‘ग्राउण्डेड’ भएको जहाजलाई उडाएकाले दुर्घटना भएको उहाँले बताउनुभयो ।

    नेपाल प्रहरीका ६३ जना एसपीको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ। सोमबार (वैशाख १५ गते) प्रहरी महानिरीक्षक ९आईजीपी० दीपक थापाको निर्णयअनुसार उनीहरूको सरुवा तथा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    प्रहरी मुख्यालयका अनुसार सरुवा भएका एसपीहरूले हाल कार्यरत जिल्लाबाटै आगामी महिनाको तलब–भत्ता प्राप्त गर्नेछन्। सरुवापछि उनीहरूलाई नयाँ जिम्मेवारीका साथ विभिन्न जिल्लामा खटाइएको छ।

    चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्वाह भत्ता दिने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने तथा आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुुपर्ने निर्णय गरेको छ ।

     

    आयोगको गत माघ २५ गते बसेको १६औँ बैठकले निजी मेडिकल कलेजले सरकारीसरह पिजीका आवासीय चिकित्सकलाई मासिक रु ४८ हजार ७३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबिबिएस तथा बिडिएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवेदन स्वीकार गरेको छ ।

    पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारसम्बन्धी अध्ययन गर्न गठित उपसमितिले संसदीय समितिलाई प्रतिवेदन बुझायो

    काठमाडौं । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारसम्बन्धी अध्ययन गर्न सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले संसदीय समितिलाई प्रतिवेदन बुझाएको छ । लिङदेनको नेतृत्वमा करिब एक वर्षअघि गठित उपसमितिले आज सोमबार संसद भवनमा रहेको शंकर हलमा पत्रकार सम्मेलनबीच प्रतिवेदन बुझाएको हो । लिङदेन प्रतिनिधिसभाअन्तर्गत रहेको सार्वजनिक लेखा समिति सदस्यसमेत हुन् ।

     

    २०८१ जेठ २८ मा विमानस्थलमा भएका अनियमितता, भ्रष्टाचारसँग सम्बन्धित गुनासाका बारेमा अध्ययन गर्न गठन भएको र उक्त उपसमितिले स्थलगत अनुगमन, अन्तरक्रिया र छलफल तथा कागजात अध्ययनपछि ३८ पृष्ठको प्रतिवेदनमा ६ वटा निष्कर्ष निकालिएको छ । लिङदेन संयोजक रहेको उक्त उपसमितिमा जनार्दन शर्मा, गोकुल बास्कोटा, अमनलाल मोदी, अर्जुननरसिंह केसी, प्रेम आले, रामकृष्ण यादव, तारा लामा, देवप्रसाद तिमिल्सेना, दीपक गिरी र रुकमणी राना सदस्य रहेका छन् ।

    काठमाडौं महानगरपालिकाले कुकुर–बिरालो दर्ता र माइक्रोचिप जडान अभियान सुरु गर्‍यो

    काठमाडौं। घरपालुवा जनावरको सुरक्षा र व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले कुकुर र बिरालो दर्ता अभियान सुरु गरेको छ। यो अभियान अन्तर्गत स्वदेशी कुकुर निःशुल्क दर्ता गरिनेछ भने विदेशी प्रजातिका कुकुर तथा बिरालो दर्ता गर्न प्रतिजनावर २,००० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था गरिएको छ।

     

    महानगरले दर्ता गरिएका जनावरमा माइक्रोचिप जडान गर्ने योजना ल्याएको छ, जसले हराएका वा चोरी भएका कुकुर-बिरालो पहिचान गर्न सहयोग गर्नेछ। मेयर बालेन्द्र शाहले माइक्रोचिप जडान प्रणालीलाई अनिवार्य बनाउँदै "घरपालुवा जनावरको सुरक्षाका लागि माइक्रोचिप अनिवार्य लगाऔँ" भन्ने सन्देशसहित जानकारीमूलक भिडियो सार्वजनिक गरेका छन्।

    एनआइएमबी एस क्यापिटलका पाँच म्युचुअल फन्डको 'न्याभ' चैतमा घट्यो

    काठमाडौं । एनआइएमबी एस क्यापिटलद्वारा व्यवस्थापन गरिएका पाँच म्युचुअल फन्डहरूमध्ये सबैको प्रतिइकाई खुद सम्पत्ति मूल्य (NAB – Net Asset Value) चैत महिनामा घटेको देखिएको छ।

     

    विशेषगरी, एनआइबीएल सहभागिता फन्डको न्याभ चैतमा घटेर १० रुपैयाँ ९२ पैसा पुगेको छ, जुन फागुनमा ११ रुपैयाँ १९ पैसा थियो। यद्यपि, सोही अवधिमा यस फन्डले सूचीकृत सेयरमा गरेको लगानीमा वृद्धि भएको छ। फागुनमा ४ अर्ब ३३ करोड रुपैयाँको सेयरमा लगानी गरिएको थियो भने चैतमा यो बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

    राष्ट्र बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले देशका विभिन्न बैंक तथा वित्तीय संस्थामा जम्मा ३ अर्ब ८४ करोड रुपैयाँ मुद्दति निक्षेपका रूपमा राख्ने तयारी गरेको छ। राष्ट्र बैंकले विभिन्न कोषमा रहेको यो रकम मुद्दति निक्षेपको रूपमा राख्नका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाबाट प्रस्ताव आह्वान गरेको हो।

     

    राष्ट्र बैंकको योजना अनुसार, वाणिज्य बैंकहरूमा ३ अर्ब ७ करोड ५२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ५७ करोड ६५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूमा १९ करोड २१ लाख रुपैयाँ जम्मा गरिनेछ।

    सत्र वर्षदेखि स्वदेशी औषधिको मूल्य समायोजन भएन ,स्वदेशी उद्योगहरु समस्यामा

    चितवन ।   सत्र वर्षदेखि नेपालमा उत्पादित औषधिको मूल्य समायोजन हुन नसक्दा  उद्योग सञ्चालनमा समस्या देखिएको छ । आयातित औषधिको बाहुल्य हुँदा  स्वदेशी उद्योगहरुले लागत मूल्य पाउन नसकेको र कतिपय उत्पादन नै बन्द गर्नुपरेको जनाइएको छ । 
     
    नेपाल औषधि उत्पादक सङ्घका पूर्वअध्यक्ष जीनारायणबहादुर क्षेत्रीका अनुसार ३० भन्दा बढी प्रकारका औषधिको मूल्य सत्र वर्षदेखि एउटै छ । उहाँले भन्नुभयो, “नेपालमा खुलारुपमा आउने भारतीय त्यही प्रकारका औषधिको मूल्य बढी भए पनि यहाँ उत्पादन भएका औषधि सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ । बजारमा बढी माग हुने स्वदेशमा उत्पादित सिटामोल अहिले प्रतिट्याब्लेट रु एकमा बिक्री हुन्छ भने जीवनजल प्रतिप्याकेट रु १० मा बिक्री गर्नुपर्छ । अरु उत्पादनको पनि यही समस्या छ ।” उहाँका अनुसार यी औषधि लागत मूल्यभन्दा कममा बिक्री गर्न व्यवसायी बाध्य छन् । 

    भारतीय कपडा चोरी पैठारी गरी दश करोडभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागद्धारा श्यामप्रसाद गुप्ताविरुद्ध मुद्दा दायर

    काठमाडौं । राजस्व अनुसन्धान विभागले श्याम वस्त्रालयका प्रोप्राइटर श्यामप्रसाद गुप्ताविरुद्ध राजस्व चुहावटको आरोपमा उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरेको छ। ​भारतीय कपडा चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा गुप्ताविरुद्ध ​आइतबार अभियोगपत्र दायर गरिएको हो । 

     

    विभागकी उपमहानिर्देशक एव प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरीमार्फत अनुसन्धान कार्य सम्पन्न गरी आइतबार अभियोगपत्र दायर गरिएको हो ।

    शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग

    काठमाडौँ ।सांसदहरूले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरूले शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद् पक्ष हो भन्दै शिक्षकहरूमाथि गरिएको अभद्र व्यवहार रोकिनुपर्ने धारणा राख्नुभयो । 

     

     

    साथै विद्यालय शिक्षा ऐन दिएर शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गर्नुभएको छ ।

     

    नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले तदारूकता देखाउनुपर्ने धारणा राख्नुभयो । उहाँले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेर दर्जनौँ शिक्षकहरू घाइते भएको घटनाप्रति घोर भत्र्सना गर्दै राज्यले ऐन बनाएर शिक्षकको जायज माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा सरकार र शिक्षकहरूबीच भएको सम्झौता कार्यान्वयन गर्न माग पनि गर्नुभयो ।

    नोबेल पुरस्कार विजेताहरूद्वारा ट्रम्प र पुटिनलाई आणविक निःशस्त्रीकरणका लागि भेट्न आग्रह

    जेनेभा ।आणविक हतियारहरू निर्मूल गर्न अभियान चलाइरहेका नोबेल शान्ति पुरस्कार विजेता तीन समूहले सोमबार संयुक्त रूपमा अमेरिकी र रुसी राष्ट्रपतिहरूलाई भेट्न र महत्त्वपूर्ण आणविक निःशस्त्रीकरणमा सहमत हुन आग्रह गरेका छन् ।

     

    यो संयुक्त अपील गत वर्षको नोबेल पुरस्कार विजेता जापानको आणविक बम बचेकाहरूको समूह निहोन हिदान्क्योस सन् २०१७ को विजेता अन्तर्राष्ट्रिय आणविक हतियार उन्मूलन अभियान ९आइसिएएन०स र सन् १९८५ को विजेता, आणविक युद्ध रोकथामका लागि अन्तर्राष्ट्रिय चिकित्सकहरूबाट आएको थियो ।

     

    उनीहरूले दुई नेतालाई एउटा संयुक्त पत्र पठाएको कुरा आइसिएएनले सोमबार एक विज्ञप्तिमा जनाएको छ ।

    ट्रम्पको व्यापार नीतिहरूमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै

    रियो डि जेनेरियो .अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिबाट उत्पन्न हुने खतराहरूको सामना गर्न संयुक्त मोर्चा प्रस्तुत गर्न ब्रिक्स देशका वरिष्ठ कूटनीतिज्ञहरू सोमबार ब्राजिलमा भेट्ने छन् ।

     

     

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यस हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापक नयाँ करको प्रभावमा वृद्धिको पूर्वानुमान कटौती गरेपछि विश्व अर्थतन्त्रका लागि यो बैठक महत्त्वपूर्ण क्षणमा आएको हो ।

     

    ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित हालका अध्यक्ष ब्राजिलसहितका व्यापारिक समूहका कूटनीतिज्ञहरू जुलाई महिनामा हुने नेताहरूको शिखर सम्मेलनको पूर्वतयारीका रूपमा रियो डि जेनेरियोमा दुई दिनका लागि भेट्नेछन् ।

    दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल

    काठमाडौँ । अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको बताउनुभएको छ । 

     

     

    इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’को विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

     

    स्थिरता र वित्तीय समावेशीकरण नीतिगत समाधानको रूपमा अनुसन्धान शीर्षकमा आयोजित बहस सत्रमा अर्थशास्त्री प्याकुरेलले भन्नुभयो, “वित्तीय पहुँच र समावेशीकरणलाई प्रवर्धन गर्न डिजिटल प्रविधि र नवीन वित्तीय उपकरणहरूको महत्व औँल्याउँदै दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको छ ।”

    आजको मौसम पूर्वानुमान: कोशी प्रदेशमा भारी वर्षा, अन्य प्रदेशहरूमा हल्का वर्षा र चट्याङ

    काठमाडौँ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाटठ भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । 

     

    महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू(भागका केही स्थान तथा बाँकी भू(भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

    काठमाडौँ  । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ । 

     

     

    युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij