Logo

Apr 29 2025 | २०८२, वैशाख १७गते

Apr 29 2025 | २०८२, वैशाख १७गते

images

अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्ने ट्रम्पको अपेक्षा

अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्ने ट्रम्पको अपेक्षा

  •  

    न्युयोर्क ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माताहरूमाथिको महसुलको प्रभाव कम गर्न सहमत हुनुभएको अमेरिकी मिडियाले सोमबार रिपोर्ट गरेको छ ।

     

    यो कदम राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो एक सय दिन पूरा भएको अवसरमा डेट्रोइट नजिकै मङ्गलबार राति हुने ट्रम्पको र्‍याली अगावै आएको हो ।

     

    द वाल स्ट्रिट जर्नलले पहिलो पटक रिपोर्ट गरेअनुसार यो परिवर्तनको अर्थ कार आयातमा २५ प्रतिशत भन्सार महसुल तिर्ने कम्पनीहरूले फलाम र एल्युमिनियम जस्ता अन्य शुल्कहरू तिर्नु पर्दैन ।

     

    जर्नलका अनुसार प्रशासनले मे ३ मा लागू हुनुपर्ने विदेशी अटो पार्ट्समा केही प्रतिपूर्तिहरू पनि अनुमति दिइरहेको छ ।

     

    भन्सार महसुलहरूले मेक्सिको र क्यानाडाबाट आयातलाई प्रभावित पार्ने हुनाले अमेरिकी अटो निर्माताहरू सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक हुन् । 

     

    ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतामा पुनः वार्ता गरेपछि डेट्रोइट कार निर्माताहरूले ती बजारहरूमा लगानी कायम राखे ।

     

    विश्लेषकहरूले भन्सार महसुलहरूले उच्च मूल्यहरू निम्त्याउन सक्छ भन्दै यसले अमेरिकी कार बिक्रीलाई घटाउँछ र रोजगारीलाई खतरामा पार्ने चेतावनी दिएका छन् ।

     

    जर्नलका अनुसार वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पले ‘महत्त्वपूर्ण साझेदारी निर्माण गरिरहनुभएको’ बताउनुभयो ।

     

    “यो सम्झौता पहिले नै घरेलु रूपमा उत्पादन गरिरहेका कम्पनीहरूलाई पुरस्कृत गरेर राष्ट्रपतिको व्यापार नीतिका लागि ठूलो जीत हुनेछ भने अमेरिकामा लगानी गर्न र घरेलु उत्पादन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्ने निर्माताहरूलाई एक मार्ग प्रदान गर्नेछ”, लुटनिकले भन्नुभयो ।

     

    अमेरिकी अटो निर्माताहरूले परिवर्तनलाई स्वागत गरेका छन् ।

     

    “अमेरिकी अटोमोटिभ उद्योग र हामीमाथि निर्भर रहेका लाखौँ अमेरिकीलाई सहयोग गरेकोमा हामी राष्ट्रपति ट्रम्पप्रति आभारी छौँ”, जनरल मोटर्सकी प्रमुख कार्यकारी मेरी बाराले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij