
काठमाडौँ । राजस्व अनुसन्धान विभागले भेप तस्करी गरी राजस्व चुहावट गरेको कसुरमा प्रविन खत्री र दोर्जे लामा विरुद्ध दायर गरेको छ ।बाह्रबिसे सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार कार्यालयबाट जाँचपास गराइ आएको ना ६ ख ५४९६ नम्बरको कन्टेनर ट्रकको सिट पछाडि क्याबिनबाट बिल बीजक बिनाका ७४० गोटा तस्करी गरी ल्याउन खोजिएकोमा उक्त मुद्दा दायर गरिएको हो ।
प्रहरीले पक्राउ उक्त भेप फेलापारी ट्रक चालक खत्रीलाई समाती भेपसहित राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो । राजस्व अनुसन्धान विभागले त्यसमा थप अनुसन्धान गरी सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा न २ स्थायी ठेगाना भएका दल बहादुर खत्रीको नाती हेमबहादुर खत्रीको छोरा वर्ष ३४को प्रविन खत्री र मालधनी भोटेकोशी गाउँपालिका वडा न २ कै ग्याल्जेन लामाको छोरा वर्ष ३१का दोर्जे लामा विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
राजस्व चुहावटको कसुरमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण )ऐन २०५२को दफा २३ (१) बमोजिम बिगो जफत गरी दुवै प्रतिवादीहरू लामा र खत्रीलाई जनही बिगो रकम १८ लाख२३ हजार ८ सय २५ रुपैया ७९ पैसाको शतप्रतिशत जरिवाना गरी छत्तीस लाख सतचालीस हजार ६ सय चौवन्न रुपैया ५८ पैसा बराबरको मागदाबी र हदैसम्मको कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा वैशाख १७ गते मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले विज्ञप्ति जारी गरी जनाएकी छिन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij