
चितवन। धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्यांकनकर्ताहरू चिन्तित भएका छन्। नेपाल भ्यालुयर्स (मूल्यांकनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्यांकन र अहिले कारोबार कम हुँदा भएको मूल्यांकनको विषयलाई लिएर बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ।
एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतोले बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताए। कोभिड अगाडि र पछाडिको मूल्यांकनमा दुई तिहाइ नपुगे मूल्यांकनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको उनको भनाइ छ।
‘यसले गर्दा मूल्यांकनकर्ताहरूमा निराशा छ। यही अवस्था रहे मूल्यांकन गर्ने/नगर्ने भन्ने विषय अन्योल हुन्छ,’ उनले भने। हाल देशका हरेक ठाउँमा धितोको मूल्यांकन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उनले मूल्यांकनकर्ताहरूलाई कालोसूचीमा राख्न नहुने बताएका छन्।
केन्द्रीय सल्लाहाकार ई लक्ष्मणबाबु सेढाईले आफूहरूले बैंक र बैंकका ग्राहक बीचमा समन्वयको काम गर्ने भएकाले कालोसूचीमा राख्नु गलत भएको बताए। उनले भने, ‘बैंकहरूले मूल्यांकनकर्ताहरूलाई कारबाही गर्नतर्फ लाग्दा समस्या आउने देखिएको छ।’
अहिले धितोका रूपमा राखिने जग्गा र अन्य मेसिनरी सामानहरूको मूल्य घटेको भन्दै उनले यो अवस्थामा बैंकहरूले सोचेर काम गर्नुपर्नेमा जोड दिए। यस्ता गतिविधिले इञ्जिनियरहरू पलायन हुने अवस्था आउने उनको भनाइ छ।
एसोसिएसनका कोशी प्रदेश अध्यक्ष ई आमोदराज आचार्यले कालोसूचीमा राख्ने कानुनी मान्यता नरहेको भए पनि बैंकहरूले कारबाही गर्ने गरेको बताए। पहिलोपटक गरेको मूल्यांकनको दुई तिहाइ नपुग्दा समस्या भएको उनको भनाइ छ।
एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष सञ्जयचन्द्र न्यौपानेले बैंकका ऋणीहरूलाई सहजीकरण गर्ने मूल्यांकनकर्ताहरूलाई हतोत्साहित बनाउने काम बैंकहरूले गरेको उल्लेख गरे। बैंकहरूले दोस्रो पटक मूल्यांकन गर्ने र ऋणीहरूको धितो कम मूल्यमा लिलाम गर्ने गरेको उनको भनाइ छ।
चितवन च्याप्टरका संस्थापक अध्यक्ष ई ईश्वरीप्रसाद कौडालले अहिले अस्वस्थ प्रतिस्पर्धाका कारण मूल्यांकनकर्ताहरूमा समस्या आउन थालेको बताए। नेपाल इञ्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रका अध्यक्ष कृष्ण रिजालले समय र परिस्थितिअनुसार धितोको मूल्य घटबढ हुने कुरालाई बैंकहरूले बुझ्नुपर्ने बताए।
नेपाल भ्यालुयर्स एसोसिएसनमा अहिले चार हजारभन्दा बढी इञ्जिनियर आबद्ध छन्। रासस
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij