Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ३० मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ३० मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख ३० मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक    समाचारहरू....

    निफ्राद्वारा ५ अर्ब रुपैयाँको ऊर्जा ऋणपत्र निष्कासन गर्ने  अनुमति

    काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले निफ्रालाई प्रतिकित्ता १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो।

    उक्त ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई सर्वसाधारणका लागि खुला रहनेछ भने बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई अन्य संस्थाहरूलाई बैंकले आफ्नै पहलमा बिक्री गर्नेछ।

    युनाइटेड अजोड इन्सुरेन्सको नाफा ५७% भन्दा धेरैले घट्यो, आम्दानीका सबै मुख्य स्रोतमा गिरावट

    काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा युनाइटेड अजोड इन्सुरेन्सको खुद नाफा ५७.६५ प्रतिशतले घटेर ११ करोड ६१ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

     

    नाफामा आएको गिरावटको प्रमुख कारण कम्पनीका प्रमुख आम्दानी स्रोतहरूमा आएको कमी हो।

    लगानी तथा कर्जाबाट हुने आम्दानी ३१.४१ प्रतिशतले घटेर १७ करोड ६२ लाख रुपैयाँमा झरेको छ।

     

    कमिसन आम्दानी पनि १०.३३ प्रतिशतले घटेको छ।

    त्यस्तै, खुद बिमा शुल्क आर्जन ८.१६ प्रतिशतले घटेर ७२ करोड रुपैयाँमा सीमित भएको छ।

    चिलिमे हाइड्रोपावरको नाफा ८.९४% ले वृद्धि, प्रतिशेयर आम्दानी भने सामान्य घट्यो

    काठमाडौं ।चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.९४ प्रतिशतले बढी हो, जब कम्पनीले ४६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो।

     

    कम्पनीको नाफा वृद्धिमा विद्युत बिक्रीबाट भएको आम्दानी मुख्य कारण बनेको छ। विद्युत बिक्रीबाट आम्दानी ५.४२ प्रतिशतले बढेर ८२ करोड ४९ लाख रुपैयाँ पुगेको हो।

    हिमालयन एभरेष्ट इन्सुरेन्सको नाफामा ४५% गिरावट, खर्च वृद्धि मुख्य कारण

    काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन एभरेष्ट इन्सुरेन्स कम्पनीको खुद नाफा ४५.२० प्रतिशतले घटेर ३३ करोड २३ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

     

    यद्यपि कम्पनीले खुद बिमा शुल्क आम्दानीमा उल्लेखनीय वृद्धि गर्न सफल भएको छ। उक्त अवधि भित्र आम्दानी ४८.२६ प्रतिशतले बढेर १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। तर, आम्दानीको वृद्धिसँगै कम्पनीको कुल खर्च पनि ४८.२१ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेपछि नाफामा दबाब परेको हो। अघिल्लो वर्ष सोही अवधिमा खर्च ८७ करोड ९९ लाख रुपैयाँ मात्र थियो।

    \शेयर बजार : नेप्से परिसूचकमा १४.८७ अंकले घटेर २६३४.२३ बिन्दुमा, ९ अर्ब ६३ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा  १४.८७ अंकले घटेर २६३४.२३ बिन्दुमा आएको छ । आज ९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

     

    यस दिन ३ सय १४ कम्पनीको २ करोड १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६७ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा युनिभर्सल पावर अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र नेपाल माइक्रो इन्सुरेन्स कम्पनी परेका छन् ।

    समृद्धि फाइनान्सले ११ लाखभन्दा बढी संस्थापक शेयर विक्रीमा

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ। कम्पनीले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी सार्वजनिक सूचना प्रकाशित गरेको छ।

     

    शेयर खरीदमा इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मकवानपुर, हेटौंडामा पुगेर आवेदन दिनुपर्नेछ।

    कम्पनीका अनुसार तोकिएको समयावधिमा सम्पूर्ण शेयर विद्यमान संस्थापकहरूमा विक्री नभएमा अन्य व्यक्ति वा संस्थालाई विक्री प्रक्रिया अघि बढाइनेछ। यो प्रक्रियाबाट कम्पनीले शेयर स्वामित्व व्यवस्थापनलाई थप पारदर्शी बनाउन खोजेको देखिन्छ।

    मिड सोलु हाइड्रोपावरको नाफामा ३०३% वृद्धि, प्रतिसेयर आम्दानी १५.५२ रुपैयाँ

    काठमाडौं — मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०३.०२९ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यो कम्पनीले २ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो।

     

    कम्पनीको नाफामा सुधार आउनुको मुख्य कारण विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको वृद्धि हो। आम्दानी २० करोड ३८ लाख रुपैयाँबाट बढेर २४ करोड १२ लाख रुपैयाँमा पुगेको छ। साथै, वित्तीय खर्च पनि १० करोड ९२ लाख रुपैयाँबाट घटेर ७ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धिमा थप योगदान पुर्‍याएको हो।

    अपर तामाकोशीको घाटा बढेर २ अर्ब नाघ्यो, विद्युत् बिक्री घट्दा असर

    काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ६ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १ अर्ब ३९ करोड रुपैयाँ घाटामा रहेको थियो, जसको तुलनामा घाटा झन् बढेको हो।

     

    कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँबाट घटेर ४ अर्ब २७ करोड रुपैयाँमा झरेपछि घाटा थपिएको हो। यद्यपि, वित्तीय खर्च केही कम हुँदै ४ अर्ब ६९ करोडबाट घटेर ४ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ। कम्पनीको अन्य आम्दानी भने ९७ करोड ९६ लाख रुपैयाँ रहेको छ।

    निर्धन उत्थान लघुवित्तको नाफामा १७३% वृद्धि, प्रतिसेयर आम्दानी २४.५३ रुपैयाँमा उक्लियो

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै उल्लेखनीय वित्तीय प्रगति गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको १७ करोड ५८ लाख रुपैयाँ नाफाको तुलनामा १७३.२८ प्रतिशतले बढी हो।

     

    यद्यपि, कम्पनीको खुद ब्याज आम्दानी १२.२३ प्रतिशतले घटेर १ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ। तर, सञ्चालन नाफा १०१.९२ प्रतिशतले बढेपछि कुल नाफामा सुधार देखिएको हो।

    सोनापुर मिनरल्सको नोक्सानी घट्यो, तेस्रो त्रैमासमा ७ करोड ५९ लाख घाटा

    काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ८० लाख रुपैयाँ घाटा बेहोरेको कम्पनीले यसपालि घाटा उल्लेखनीय रूपमा कम गर्न सफल भएको छ।

     

    सिमेन्ट बिक्रीबाट हुने आम्दानीमा सुधार आएको कारण घाटा घटेको हो। कम्पनीको सिमेन्ट बिक्री आम्दानी अघिल्लो वर्षको १ अर्ब १७ करोड रुपैयाँबाट बढेर यस त्रैमासमा १ अर्ब ७६ करोड रुपैयाँमा पुगेको छ।

    शिवम् सिमेन्ट्सको नाफा ९६.०८ प्रतिशतले बढ्यो , खुद नाफा ४० करोड ५ लाख रुपैयाँ पुग्यो

    काठमाडौं ।  शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९६.०८ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

     

    कम्पनीको सञ्चालन आम्दानी र अन्य आम्दानीमा कमी आए पनि खर्च घटाएको कारणले नाफामा उल्लेख्य सुधार देखिएको हो। चालु त्रैमासमा सञ्चालन आम्दानी १०.०१ प्रतिशत घटेर ५ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ भने अन्य आम्दानी २७.१० प्रतिशतले घटेर १२ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। तर, बिक्री लागत १६.०६ प्रतिशत र बिक्री तथा वितरण खर्च ९.०४ प्रतिशतले घटाइएको छ, जसले नाफा बढाउन सहयोग पुर्‍याएको हो।

    सन नेपाल लाइफको १०६ करोडको हकप्रद शेयर आजदेखि खुला, २७% सम्म आवेदन योग्य

    काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (बैशाख ३० गते) देखि हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत बराबरको हकप्रद शेयर सार्वजनिक गर्दैछ। शेयरधनीले १ कित्ताको अनुपातमा ०.२७ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

     

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता शेयर निष्काशन गर्दैछ, जसको मूल्य १ अर्ब ६ करोड ९६ लाख रुपैयाँभन्दा बढी हुन्छ।

    लक्ष्मी सनराइज क्यापिटलद्वारा १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फन्ड योजना प्रस्ताव

    काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको बन्दमुखी म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। क्यापिटलले ‘एलएस होराइजन १२’ नामक उक्त म्युचुअल फन्ड योजना प्रतिइकाई १० रुपैयाँको दरले १२ करोड इकाई बिक्री गर्न लागेको हो।

    बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै सांसद सञ्जयकुमार गौतमले समृद्धिको आधारका रुपमा रहेको कृषि क्षेत्र र किसानलाई बिर्सेको टिप्पणी गर्दै मल, बीउको उचित प्रबन्धसहित  खाद्यउपजमा आत्मनिर्भर बन्ने सोचका साथ आगामी आवको बजेट प्रस्तुत गर्न अनुरोध गर्नुभयो । 

     

     

    उहाँले व्यापार घाटा कम गर्ने विषयलाई केन्द्रित गर्दै स्वदेशमै उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्नेगरी आगामी आवको बजेट ल्याउन अनुरोध गर्नुभयो ।

    नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

    मोरङ ।गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ । 

     

     

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उहाँले नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिनुभयो ।

     

    गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गर्नुभयो ।

    नेपाल राष्ट्रिय व्यवसायी महासंघ र वाणिज्य महानिर्देशकबीच  एमआरपीलगायतका विषयमा छलफल

    काठमाडौँ ।नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागलाई ज्ञापन पत्र बुझाएको छ । अनधिकृत व्यापारलाई नियन्त्रण गर्न माग गर्दै राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठको नेतृत्वमा  गएको टोलीले विभागका महानिर्देशक कुमार दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।
     
     व्यवसाय गर्ने वातावरण खलबलिँदै गएको , समग्र अर्थतन्त्र बिग्रदैँ गएको , आर्थिक गतिशीलता शिथिल भएको अवस्थामा सरकारले एमआरपी र लेबलिङको कुरा ल्याएर अन्यौलता सिर्जना गरेको भन्दै महासंघले वाणिज्य विभाग मार्फत सरकारको ध्यानाकर्षण गरेको महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले नयाँ सडकलाई बताए ।    उद्योगी व्यवसायीलाई राज्यले विभिन्न बहानामा दुख र झन्झट दिएको महासंघका एक सदस्यले बताए । भन्सार मूल्यांकनमा समस्या रहेको , राजस्वका विभिन्न निकाय र महानगर लगायतले व्यवसायीलाई दुख दिएको भन्ने विषय समेत महासंघले ज्ञापनपत्रमा उल्लेख गरेको छ । महासंघले ज्ञापनपत्र मार्फत एमआरपी लगाउने बारे सरकारको ध्यानाकर्षण गराएको महासंघका महासचिव नवीन लुँइटेलले बताए ।

    भारतमा भएको  हाइरक्स  फिटनेस (HYROX )मा नेपाली खेलाडी कमलराज भाटले जिते पहिलो स्थान

    काठमाडौँ । नेपाली खेलाडी कमलराज भाटले भारतको मुम्बईमा आयोजित हाइरक्स (HYROX ) प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन् ।  गत मे ३ र ४मा भारतको मुम्बईमा भएको विश्वव्यापी फिटनेस प्रतियोगिता (HYROX)  मा नेपाली खेलाडी कमलराज भाटले १६/२४ उमेर समूहमा पहिलो स्थान हासिल गरेका हुन् ।

     

    विश्वभरबाट १६ सय ५० भन्दा बढी खेलाडी सहभागी उक्त प्रतियोगितामा विश्वका ठुल्ठुला राष्ट्रका खेलाडीहरूलाई परास्त गर्दै नेपालबाट प्रतिनिधित्व गरेका कमलराज भाट पहिलो भएका हुन् । २५ ओटा देशबाट १६ सय ५० खेलाडीहरू सहभागी उक्त विश्व व्यापी फिटनेस प्रतियोगिता गत मे  ३ र ४मा मुम्बईमा भएको थियो ।

    आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    काभ्रेपलाञ्चोक।अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । उहाँले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताउनुभयो । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।

    चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूको नाफा करिब १२ प्रतिशतले बढ्यो

    काठमाडौँ । जीवन बीमा कम्पनीहरुको नाफा  करिब १२ प्रतिशतले वृद्धि भएको छ ।चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा जीवन बीमा कम्पनीहरूको नाफा मापन गर्दा यस्तो देखिएको हो ।कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको चैत मसान्तसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा ११.९३ प्रतिशतले नाफा बढेको देखिन्छ ।

     

    चैत मसान्तसम्मको अवधिमा १२ वटा जीवन बीमा कम्पनीको नाफा बढेको छ । सोही अवधिमा २ वटा कम्पनीको नाफा घटेको देखिएको छ । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कुल ४ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ नाफा कमएका छन् । गत आवको सोही अवधिमा भने कम्पनीहरुको यस्तो नाफा ४ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

    आज सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

    काठमाडौँ । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु दुई हजारले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ । 

     

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ । 

     

    शुक्रबार प्रतितोला सुन रु एक लाख ८६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो । 

     

    राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको श्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई  चेम्बरले आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्वोधन गर्नुपर्ने १ सय वुँदे सुझाव दिएको हो । सरकारले लिएको आर्थिक बृद्धिको लक्ष्य पुरा गर्न नीतिगत स्थायीत्वका साथै बास्तविक कर राजश्वको श्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउनुपर्ने चेम्बरले दिएको सुझावमा उल्लेख छ ।

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । 

     

     

    युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ २७ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४० पैसा र बिक्रीदर १८० रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ आठ पैसा कायम गरिएको छ ।

     

     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij