Logo

May 19 2025 | २०८२, जेठ ५गते

May 19 2025 | २०८२, जेठ ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ४ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ४ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  जेठ ४ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    शेयर बजार : नेप्से परिसूचकमा ३.७७ अंकले घटेर २६०८.०७ बिन्दुमा, ८ अर्ब ५० करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ३.७७ अंकले घटेर २६०८.०७ बिन्दुमा आएको छ । आज ८ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।२ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । अन्य समूहमा सबैभन्दा बढी उत्साह देखिएको छ ।यस दिन ३ सय ९ कम्पनीको १ करोड ६९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र राधी विद्युत पावर परेका छन् ।

    ट्रेड टावरको वैदेशिक रोजगारी आइपीओ बाँडफाँट सम्पन्न

    काठमाडौं । काठमाडौं ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर  वैशाख २८ गते बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार, गोलाप्रथामार्फत ३९ हजार ७२६ जना आवेदकलाई १० कित्ताका दरले कुल ३ लाख ९७ हजार १६१.३० कित्ता सेयर बाँडफाँट गरिएको हो।

    एनएलजी इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ २९ गते, २.५०% बोनस सेयर प्रस्ताव

    काठमाडौं । एनएलजी इन्सुरेन्सले आगामी जेठ २९ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा आम्रपाली ब्यांक्वेट, चिरबम सडक, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

    सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, र नगद प्रवाहसम्बन्धी छलफल गरिनेछ। साथै, २.५० प्रतिशत बोनस सेयर र ०.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ। आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि एजेन्डामा रहेको छ।

    नेको इन्सुरेन्सको लिलामी सेयर बाँडफाँट सम्पन्न, कट-ऑफ मूल्य ६९७.८७ रुपैयाँ

    काठमाडौं  । नेको इन्सुरेन्सले लिलामीमा राखेको हकप्रद सेयरको बाँडफाँट सम्पन्न भएको छ। सर्वसाधारण समूहतर्फको लिलामी सेयरमा न्यूनतम ६९७.८७ रुपैयाँ (कट-ऑफ प्राइस) कबोल गरेर आवेदन दिने व्यक्तिहरूले सेयर प्राप्त गरेका छन्।

    कम्पनीले वैशाख १२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएका १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीका लागि खुला गरेको थियो। सोही सेयरको लिलामी बाँडफाँट हालै सम्पन्न गरिएको हो।

    तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

    काठमाडौं ।तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज आइतबार ९जेठ ४ गते० रहेको छ। कम्पनीले जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न सक्नेछन्।

     

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ः१ अनुपातमा कुल ४० लाख कित्ता हकप्रद सेयर जारी गर्दैछ। हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ भने हकप्रद सेयर निष्कासनपछि पुँजी दोब्बर भएर ८० करोड रुपैयाँ पुग्नेछ।

    हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष दाहाल

    दैलेख ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं  पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताउनुभएको छ । सरकार बनाउनेतर्फ पनि पार्टीले ध्यान नदिएको उहाँले बताउनुभयो ।  

     

     

    जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष दाहालले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले सुरु गरेका कामलाई समेत भत्काएको उल्लेख गर्नुभयो । यसबारे निरन्तर खबरदारी गरिरहेको उहाँको भनाइ थियो ।

    गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार : प्रधानमन्त्री नेतन्याहुको कार्यालय

    जेरुसेलम ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको आइतबार सङ्केत गर्नुभएको छ । 

     

    प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यस क्षणमा पनि दोहामा वार्ता टोलीले विटकोफ फ्रेमवर्कअनुसार होस् वा युद्ध अन्त्यको एक भागको रूपमा सम्झौताका लागि सबै सम्भावनालाई खोज्न काम गरिरहेको छ ।”

    विज्ञप्तिमा अगाडि भनिएको छ, “सम्झौताले सबै बन्धकहरूको रिहाई, हमास ‘आतङ्ककारी’ हरूको निर्वासन र गाजा पट्टीको निःशस्त्रीकरण समावेश गर्नेगरी वार्ता टोलीले काम गर्नेछ ।”

    तेह्रथुम पावरको हकप्रद सेयरमा मूल्य समायोजन, नयाँ मूल्य रु. ३४७.०६ कायम

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर जारीसँगै सेयर मूल्यमा समायोजन गरिएको छ। आइतबारको अन्तिम कारोबार मूल्य रु. ५९४.११ लाई आधार मानेर मूल्य समायोजन गरिँदा, समायोजित मूल्य रु. ३४७.०६ कायम भएको छ। अब सोमबारदेखि तेही समायोजित मूल्यलाई आधार बनाएर सेयर कारोबार सुरु हुनेछ।

    सभामुख घिमिरेद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन

    भक्तपुर । सभामुख देवराज घिमिरेले समाज, राष्ट्र, आफैँ र आफ्नै घरपरिवारप्रति जिम्मेवार बोध गर्ने असल नागरिक निर्माणको आवश्यकता औँल्याउनुभएको छ । आज भक्तपुरको गठ्ठाघरमा सनातन पितृमुक्ति समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभयो ।

    मधेशप्रदेशका पूर्वमन्त्री विजयकुमारसहित ८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । मधेश प्रदेशका एक जना पूर्वमन्त्रीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।सर्लाहीको बागमती नगरपालिकामा भएको भ्रष्टाचारमा मन्त्री ,मेयर तथा उपमेयरगरी ८ जना विरुद्ध मुद्दा दायर गरिएको हो ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मधेस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तानलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

     

    आयोगका अनुसार त्यस्तै मुद्दामा उनीहरुसँगै निलम्बित प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कानुन अधिकृत गोकुल भुजेल, इन्जिनियर निरन्जन लामिछाने, नगरपालिकाका इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई विपक्षी बनाइएको जनाइएको छ।

    हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु

    हैदराबाद ।हैदराबादको गुलजार हाउसमा रहेको भवनमा भएको आगलागीको प्रारम्भिक जाँचबाट कम्तीमा १७ जनाको ज्यान गएको घटनामा शर्ट सर्किटका कारण ठूलो आगलागी भएको देखिएको अग्नि विभागका एक अधिकारीले आइतबार बताएका छन् ।

     

     

    “प्रारम्भिक जाँचले कारण सर्ट सर्किट भएको देखाएको छ”, तेलङ्गाना विपद् प्रतिक्रिया तथा अग्नि सेवाका महानिर्देशक वाई नागी रेड्डीले भन्नुभयो, “सबै १७ जनाको मृत्यु धुवाँ फोक्सोमा गएकाले भएको हो, कसैलाई जलनका चोटहरू थिएन ।”

     

    गुलजार हाउस क्षेत्रमा कृष्णा पर्ल्स पसल र आवासीय परिसरमा आगलागीको घटना भएको थियो ।

    भारतद्वारा ७७ करोड अमेरिकी डलरबराबरको बङ्गलादेशबाट हुने आयातमा प्रतिबन्ध

    नयाँदिल्ली ।विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट आयात हुने विभिन्न श्रेणीका सामानमा तत्काल बन्दरगाह प्रतिबन्ध लगाएको छ । 

     

    व्यापार केन्द्रित अनुसन्धान समूह ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जीटीआरआई) को रिपोर्टअनुसार भारतले भूमि बन्दरगाह ९स्थलमार्ग० हुँदै बङ्गलादेशबाट हुने आयातमा लगाएको प्रतिबन्धले ७७ करोड अमेरिकी डलर बराबरको सामानमा असर पार्नेछ, जुन कुल द्विपक्षीय आयातको करिब ४२ प्रतिशत हो ।

    केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट विभिन्न श्रेणीका सामानआयातमा तत्काल लागु हुनेगरी प्रतिबन्धको घोषणा गरेको हो ।

    भ्रष्टाचारसम्बन्धी विषयको छानबिन गर्न भ्रष्टाचारमा विवादित सांसद मञ्जु खाँणको संयोजकतत्वमा समिति गठन

    बुटवल । भ्रष्टाचारसम्बन्धी विषयको छानबिन गर्न भ्रष्टाचारमा विवादित सांसद मञ्जु खाँणको संयोजकतत्वमा समिति गठन भएको छ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न गठित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी हुन् ।

     

    आइतबार बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय लिएको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी सार्वजनिक गरेका छन् ।यसअघि उक्त उपसमितिको संयोजक सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई थिए । भट्टराई नेतृत्वको उपसिमितिले रूपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो ।

    प्रतिनिधिसभामा विद्युत् समस्या, सडक दुर्घटना र साम्प्रतिक घटनाप्रति सांसदहरूको ध्यानाकर्षण

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गर्नुभयो ।

     

     

    बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भन्नुभयो, “अहिले घरघरमा अध्याँरो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु ।”

    आइतबार सुनको भाउ घटेर प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेर प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ ।   आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल राष्ट्र बैंकले २४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकले विभिन्न विशिष्टता तथा शर्तका आधारमा बैंक तथा वित्तीय संस्थाहरूबाट २१ दिनका लागि २४ अर्ब रुपैयाँ तान्न लागेको हो । 

     

    राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले जेठ ४ गते आज तीन बजे दिउँसोसम्म अनलाइड बिडिङ सिस्टम सफ्टवेयरको उपयोग गरी निक्षेप संकलनमा सहभागी हुन ब्याजदर उल्लेख गरी प्रस्ताव गर्न पाउने भएका छन् ।

    यो निक्षेप संकलनमा भाग लिनेहरूले तोकिएको शर्तको अधीनमा रही बोलकबोलको आवेदन दिनपर्ने जारी सूचनामा जनाइएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij