
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ ६ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो १८ औं गभर्नर पाएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा। डा। विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्दै राष्ट्र बैंकको नेतृत्वमा देखिएको अन्यौलता अन्त्य गरेको हो।
गभर्नर चयन प्रक्रिया लम्बिँदै जाँदा राजनीतिक वृत्तमा समेत असर परेको थियो। यस विषयलाई लिएर सत्ताभित्र चुलिएको भनिएको असमझदारी र संकट समेत पौडेलको नियुक्तिसँगै टरेको छ।
मंगलबार अपरान्ह मात्र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो। तीमा प्रा। डा। विश्वनाथ पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम समावेश थियो।
बरुण हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। बोर्डले जेठ ६ गते कम्पनीलाई हालको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको आधारमा सोही अनुपातमा हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको हो।
कम्पनीले १ कित्ता शेयर भएका सेयरधनीलाई थप १ कित्ता हकप्रद शेयर खरीद गर्ने अवसर दिने गरी हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
अर्बिट इनर्जी लिमिटेडले ५० लाख कित्ता आईपीओका लागि अनुमति माग्यो
काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले ५० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ। कम्पनीले वैशाख २२ गते बोर्डमा निवेदन दिएको हो भने सेबोनले उक्त निवेदनको विवरण जेठ ५ गते आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ।कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा जम्मा ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो। उक्त आईपीओको निष्कासन तथा विक्री व्यवस्थापनको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडलाई दिइएको छ।हालै सेबोनले नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका १४ वटा कम्पनीहरूको आईपीओ आवेदन अस्वीकार गरेको छ। ती कम्पनीहरूको नाम वेबसाइटबाट हटाइएको छ।
रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा जेठ २८ मा
काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडले आगामी जेठ २८ गते वार्षिक साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। सभा अनुपम फुड ल्यान्ड एन्ड ब्यांक्वेट प्रालि, बत्तीसपुतली, गौशाला, काठमाडौंमा बिहान ११:०० बजे सुरु हुनेछ।
कम्पनीले चालू आर्थिक वर्षका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। लाभांश प्रस्ताव नभए पनि, कम्पनीको समग्र वित्तीय स्थिति र भावी योजनासम्बन्धी महत्त्वपूर्ण विषयहरूमा छलफल हुने कम्पनीले जनाएको छ।
शेयर बजार : नेप्से परिसूचकमा ५३ अंकले बढेर २६८१.३६ बिन्दुमा, ७ अर्बभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ५३ अंकले बढेर २६८१.३६ बिन्दुमा आएको छ । आज ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन ३ सय १० कम्पनीको १ करोड ६८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४१ करोड ८० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र र युनिर्भसल पावर कम्पनी परेका छन् ।
काठमाडौं ।विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा आएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो।कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसमा १० प्रतिशत दरको ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि, र ३९ लाख कित्तामा १० प्रतिशत दरले ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको छ।
विकास हाइड्रोपावरको आईपीओ निष्कासन सुरु, पहिलो चरणमा स्थानीय र वैदेशिक नेपाली लक्षित
काठमाडौं। विकास हाइड्रोपावर लिमिटेडले आज २०८२ साल जेठ ६ गतेदेखि आफ्नो पहिलो चरणको सेयर निष्कासन प्रक्रिया सुरु गरेको छ। प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) अन्तर्गत यो चरण विशेष गरी आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र विदेशमा कार्यरत नेपालीहरूलाई लक्षित गरिएको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि कम्पनीले कुल ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये, गोरखा जिल्लाको धार्चे गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने बासिन्दाका लागि ९ लाख ९ हजार १०१ कित्ता सेयर छुट्याइएको छ। अति प्रभावित वडा नम्बर ४ र ५ का स्थानीयलाई ३ लाख ६३ हजार ६४० कित्ता र अन्य वडाहरू—वडा नम्बर १, २, ३, ६, र ७ का लागि ५ लाख ४५ हजार ४६१ कित्ता सेयर विनियोजन गरिएको छ।
सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते
दमौली ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना५ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन् । चालकले नियन्त्रण गुमाउँदा बस सडकदेखि अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो ।
बस दुर्घटनामा घाइतेको प्रदेश अस्पताल दमौली, रत्नहरि अस्पताल दमौली र म्याग्दे पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गतवर्ष यस्ता कारोबार तथा गतिविधिबारे राष्ट्र बैंकलाई गराइएको जानकारी करिब ४९ प्रतिशतले बढेको छ ।
“सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या सन् २०२३ मा छ हजार २५५ रहेकोमा सन् २०२४ मा सो सङ्ख्या करिब ४९ प्रतिशतले वृद्धि भई नौ हजार ३०४ पुगेको छ”, राष्ट्र बैंकले भनेको छ ।
एभरेष्ट बैंकको कमलामाई नगरपालिका वडा न ६मा शाखा विस्तार
काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८२ साल जेठ ५ गते बागमती प्रदेशको सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंकका संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।
सिरहामा लागूऔषध गाँजा सहित तीन जना पक्राउ
सिरहा।सिरहामा लागूऔषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छ्न । पक्राउ पर्नेमा सिरहा नरहा गाउँपालिका - १ का ३५ वर्षिय संजय दास, सोही ठाउँका ३१ वर्षिय रामशरण दास र बाराको कलैया उपमहानगरपालिका - ४ घर भएका संजय दासको गाडी चालक २० वर्षिय धिरज महतो रहेका छन् ।
नरहा गाउँपालिका - १ देवीपुर स्थित संजय दासले सञ्चालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषी फर्मबाट दुई वटा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको ३१ किलो ८२० ग्राम लागू औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट ४ थान मोबाइल सहित लागूऔषध गाँजाको बोरा सिलाउने मेसिन बरामद गरेको प्रहरीले जनाएको छ।
युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह
ब्रसेल्स ।युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कालासले मङ्गलबार मस्कोले युक्रेनमा युद्धविराममा सहमत नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गर्नुभएको छ ।
“अमेरिकाले भनेको थियो कि यदि रूस बिना शर्त युद्धविराममा सहमत भएन भने त्यसका परिणामहरू हुनेछन् । त्यसैले हामी ती परिणामहरू, अमेरिकी पक्षबाट पनि देख्न चाहन्छौँ”, कालासले ब्रसेल्समा इयुका मन्त्रीहरूको बैठकमा भन्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि रुस र युक्रेनले ‘तुरुन्तै’ शान्ति वार्ता सुरु गर्ने बताउनुभएको छ ।
कास्की केन्द्रबिन्दु भएर ४ .७ म्याग्निच्युडको भूकम्प गयो
काठमाडौँ । कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको बताईएको हो। भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको छ ।
विश्व पौडेललाई गभर्नर बनाउने सहमति, मन्त्रिपरिषद्को बैठक पाँच बजे बोलाइयो
काठमाडौँ । आज हुने मन्त्रिपरिषद्को बैठकबाट गभर्नरको घोषणा हुने भएको देखिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक मंगलबार बेलुका बोलाएका हुन् ।सोमबार स्थगित मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजेका लागि बोलाइएको हो ।बैठक बालुवाटारमा बस्ने भनी सूचना मन्त्रीहरूलाई दिइएको छ ।
प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिलगायत समसमायिक राजनीतिक विषयमा छलफल भएपछि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।मन्त्रिपरिषद् बैठक अघि गभर्नरको नियुक्तिका लागि सिफारिस समितिको बैठक बस्ने भएको छ । दुई नेताको भेटपछि अर्थमन्त्री विष्णु पौडेलले गभर्नर नियुक्ति सिफारिस समितिको बैठक पनि बोलाइसकेको सम्बद्ध स्रोतले जनाएको छ ।
कर घटाउने नीतिगत सुझावको विपरीत सरकार जाने देखिएर व्यवसायी आतंकित ,मालवस्तुको भण्डारण गरिँदै
काठमाडौँ । खुम्चिएको राजस्व संकलनका कारण सकसमा परेको सरकारले कर वृद्धि योजना अगाडि बढाइरहेकाले विभिन्न क्षेत्रका व्यापारीहरूले आफू अनुकूलको व्यवसायिक प्रतिस्थापनमा जुटेका छन् । यसले व्यवसायीहरूलाई उद्योग व्यापार गर्न सहजताको ठाउँमा समस्या उत्पन्न गराइ दिएको छ । व्यवसाय मुनाफाका लागि गरिने भएकाले मुनाफा प्रेरित व्यवस्थापन व्यवसायीहरूको धर्म भएको व्यवसायीहरूले बताएका हुन् ।विद्युतीय वाहनमा (ईभी) सहुलियत दिएर प्रोत्साहनको नीति लिएको सरकारले आगामी वर्षदेखि प्रोत्साहन कटौती गर्ने भएबाट सुक्खा बन्दरगाहमा ईभीका कारहरू थन्किन पुगेका छन् ।
भन्सार जाँचपासका लागि काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाहमा सयौँको सङ्ख्यामा विद्युतीय गाडी आइपुगेका छन् ।बजेट घोषणा पूर्व विभिन्न नाका हुँदै ल्याइएका यी गाडी आइपुगेका हुन् । यी गाडीहरू मध्ये धेरै जसो तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका छन् ।
सुनको भाउ स्थिर, चाँदीको भाउमा ५ रुपैयाँले घट्यो
काठमाडौं । आज नेपालमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ, जुन सोमबारको मूल्यसँग मेल खाइरहेको छ।
यसैगरी, चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १९ सय ४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ १९ सय ४५ रुपैयाँ प्रतितोला थियो।
देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना, उच्च भूभागमा हिमपातको चेतावनी
काठमाडौं । देशका अधिकांश भागमा आज आंशिकदेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान केन्द्रले जनाएको छ। सातवटै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ भने केही स्थानमा चट्याङ र हावाहुरीको पनि सम्भावना रहेको छ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार कोसी, मधेस, गण्डकी र वाग्मती प्रदेशमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विशेषगरी मकवानपुरको मार्खु क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जानकारी उनले दिएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्नेछ। अन्य क्षेत्रका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८३ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९० पैसा र बिक्रीदर ८८ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ
१४ कम्पनीको आईपीओ प्रक्रिया रोकियो, धितोपत्र बोर्डद्वारा पाइपलाइनबाट हटाइयो
काठमाडौँ ।नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अगाडि बढाइरहेका १४ वटा कम्पनीलाई पाइपलाइन सूचीबाट हटाउने निर्णय गरेको छ। बोर्डका अनुसार, तीमध्ये १३ कम्पनीको प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेको र एक कम्पनीको विद्युत् खरिद सम्झौता (पिपिए) अवधि पर्याप्त नभएको कारण यस्तो कदम चालिएको हो।
बोर्डले स्पष्ट पारेअनुसार, हटाइएका कम्पनीहरूले प्रतिसेयर नेटवर्थ ९० भन्दा माथि रहेको वित्तीय अवस्था प्रमाणित गरेपछि मात्र पुनः आवेदन दिन सक्नेछन्। आवश्यक मापदण्ड पूरा भएमा मात्र ती कम्पनीहरूलाई फेरि आईपीओ पाइपलाइनमा समावेश गरिनेछ। यसअघि संसदको सार्वजनिक लेखा समितिले पनि यस्ता कम्पनीहरूलाई आईपीओ स्वीकृति नदिन सिफारिस गरेको थियो, जसअनुसार बोर्डले कार्यान्वयन थालेको हो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij