
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदान गरिरहेका ७३ कम्पनीलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता १५ दिनभित्र दाखिल गर्न भनेको छ ।प्राधिकरणले बक्यौता दाखिल गर्न एक सूचना जारी गरेको हो ।
हालै सार्वजनिक गरेको सूचनामा ब्रोडब्यान्ड नेपाल, ब्रोडलिंक नेटवर्क, क्लासिक टेक, डिस मिडिया नेटवर्क, मर्कन्टाइल कम्युनिकेसन्स, वेबसर्फर नेपाल लगायतका सेवा प्रदायकहरूलाई तिर्न बाँकी रकम बुझाउन भनिएको हो । सेवा प्रदायकहरूले विगत केही वर्षदेखि नेपाल सरकार तथा प्राधिकरणमा बुझाउनु पर्ने लेखापरीक्षण विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार कोषको रकम समयमा नबुझाएको उक्त सूचनामा जनाइएको छ ।
पटक–पटक पत्राचार, इमेल तथा सूचना प्रकाशनमार्फत जानकारी दिँदा पनि ती सेवा प्रदायकहरुले विवरण र बाँकी बक्यौता रकम दाखिला नगरेको प्राधिकरणले जनाएको छ । ‘यो सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र नियमानुसारको विवरण, कागजातसहित बांँकी बक्यौता रकम भुक्तानी गरी प्राधिकरणमा जानकारी गराउनका लागि यसै सूचना मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ सूचनामा जनाइएको छ ।
तोकिएको अवधिभित्र आवश्यक कागजात र रकम नबुझाएमा दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij