
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ १६ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
देशमै सम्भावना खोज्न अध्यक्ष ढकालको आग्रह: युवालाई इमान्दार मेहनतका साथ अघि बढ्न आह्वान
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गर्नुभएको छ ।
आजदेखि यहाँ सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपाल सम्भावनाको देश रहेकाले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ढकालले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएकालाई लगानीको लागि बंैक तथा वित्तीय संस्थाहरु र अन्य सहकार्यका लागि साझेदारहरु रहेको बताउनुभयो । “म भन्छु, नेपालमा जति सम्भावना अन्त कतै छैन । इमान्दारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावना छ । ती सम्भावना उजागर गर्न सक्नुपर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नुपर्दछ”, उहाँले भन्नुभयो ।
११ जना एसएसपी प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै उनीहरूको बढुवा र नयाँ पदस्थापनबारे जानकारी दिएको हो।
धितोपत्र बजारमा सर्वाधिक पूँजीकरण भएका कम्पनीको सूचीमा चार वाणिज्य बैंक, विशाल बजार शीर्ष स्थानमा
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये सर्वाधिक बजार पूँजीकरण भएका १० कम्पनीको सूचीमा चार वटा वाणिज्य बैंक परेका छन्। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको शेयरमूल्यको आधारमा यस्तो सूची तयार पारिएको हो।
सूचीको शीर्ष स्थानमा विशाल बजार कम्पनी रहँदा, दोस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी, तेस्रोमा नेपाल दुरसञ्चार कम्पनी रहेका छन्। चौथो स्थानमा नबिल बैंक, पाँचौंमा नागरिक लगानीकोष, छैठौंमा हिमालयन रिइन्स्योरेन्स, सातौंमा ग्लोबल आइएमई बैंक, नवौंमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी, र दशौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन्।
एनएमबि हाईब्रिड फण्ड एल–२ को नोक्सानी थप बढ्यो, आम्दानी ऋणात्मक र खर्च बढेपछि दबाव
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल–२ ले वैशाख महिनामा थप नोक्सानी बेहोरेको छ। चैत मसान्तसम्म १ करोड ३८ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना वैशाख मसान्तसम्म आइपुग्दा नोक्सानी बढेर १ करोड ६१ लाख रुपैयाँभन्दा बढी पुगेको हो।
योजनाको आम्दानी पक्ष अझै ऋणात्मक अवस्थामा छ। वैशाख मसान्तसम्म योजना ७० लाख रुपैयाँभन्दा बढी ऋणात्मक आम्दानीमा रहेको छ, जुन चैत मसान्तमा ६९ लाख ३१ हजार रुपैयाँ ऋणात्मक थियो।
उता, खर्च पक्षमा पनि उल्लेख्य वृद्धि भएको छ। चैत मसान्तसम्म ६९ लाख १५ हजार रुपैयाँ खर्च गरेको योजनाले वैशाख मसान्तसम्म आइपुग्दा ९१ लाख ७० हजार रुपैयाँभन्दा बढी खर्च गरेको देखिएको छ।
बजेट कार्यान्वयनका लागि हो, कान पवित्र पार्नका लागि होइन : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेट नागरिकको 'कान पवित्र पार्नू होइन, कार्यान्वयनमा ल्याउनका लागि तयार गरिएको स्पष्ट पारेका छन्।
उनका अनुसार सरकारले अब अनुदानको लागतमा सोच्नुपर्ने अवस्था समाप्त भएको निष्कर्ष निकालेको छ। 'अनुदान कुन सीमासम्म विस्तार गर्ने भन्नेमा सरकारले महत्वपूर्ण निर्णय लिएको छ,' मन्त्री पौडेलले भने।
सरकारले अनुदानको अधिकतम सीमा ५० प्रतिशतसम्म निर्धारण गर्ने व्यवस्था गरेको जानकारी दिँदै उनले, अनुत्पादक खर्च र अन्धाधुन्ध अनुदानभन्दा लक्ष्य आधारित कार्यान्वयन प्राथमिकता हुने जनाएका छन्।
विपद्पछिको पुनःनिर्माणका लागि १८ अर्ब ५० करोड बजेट विनियोजन
काठमाडौं । सरकारले विपद्पछिको पुनःनिर्माणका लागि १८ अर्ब ५० करोड बजेट विनियोजन भएको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि १८ अर्ब ५० करोड विनियोजन भएको जानकारी दिएका थिए ।
यसैगरी उनले विपद्को पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गरिने उल्लेख गरे । विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास र सुरक्षित प्रविधिको अवलम्बनमा जोड दिइनेसमेत उनले जानकारी दिए ।
भोटो जात्राको अवसरमा आइतबार सेयर बजार बन्द हुने
काठमाडौं । भोटो जात्राको अवसरमा आइतबार ९जेठ १८ गते, जुन १० देशभर सार्वजनिक बिदा हुने भएकाले सो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गतको सेयर बजार बन्द रहने भएको छ। नेप्सेले जानकारी गराएअनुसार, बिदाका कारण आइतबार कुनै पनि सेयर कारोबार नहुनेछ। नियमित सेयर कारोबार भने सोमबार ९जेठ १९ गते० बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आउनेछ।
आर्थिक विधेयक २०८२ : कर नीतिमा व्यापक हेरफेर, स्टार्टअपदेखि सुर्तीजन्य वस्तुसम्मको कर व्यवस्था परिमार्जन
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताउनुभयो । बजेटको नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट पाएका छन् । सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट दिइएको छ । नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्र आयकर लाग्ने व्यवस्था पनि सरकारले गरेको छ ।
सरकारले रु १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर नलिने भएको छ । त्यस्तै, प्राङ्गारिक र प्राकृतिक मल उत्पादनका लागि मिल मिसिनरी तथा उपकरण पैठारी गर्दा लाग्ने भन्सार महसुल हटाइएको छभने यसमा लाग्ने अन्य सबै खालका कर तथा महसुल खारेज गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्यका हुने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । महासंघ सचिवालयमा भएको भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा छलफल भएको थियो ।
यस्तै महासंघ र विश्वविद्यालय बीच पाठ्यक्रम विकास, तालिम कार्यक्रम, र संयुक्त परियोजनाहरूको सम्भाव्यताका विषयमा थप छलफल गर्ने समझदारी भएको छ । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो सहकार्यले निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीचको खाडललाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । “उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ । यस्तो सहकार्यका लागि हामी सकारात्मक नै छौं । ” उहाँले भन्नुभयो ।
परराष्ट्रमन्त्री डा राणा र चिनियाँ विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
काठमाडौँ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तरराष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहनुभएकी मन्त्री डा राणा र चिनियाँ विदेशमन्त्रीबीच सो भेटवार्ता भएको हो । सौहार्दपूर्ण सो भेटका क्रममा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका विषयहरूमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री डा राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको प्रसङ्ग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रूपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्याउँदै आएको सहयोग र समन्वयका लागि विदेशमन्त्री वाङमार्फत चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा यातायातका चार जना कर्मचारी विरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा यातायातका ४ जना कर्मचारीविरुद्ध आरोपपत्र दायर गरेको छ ।आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीमा ०१–०८–००८३६६८७ सभ्यता केसीको मा बी एड हुनुपर्नेमा ०१–०८–०१०३१२६२ अर्कैको नामलाई परिवर्तन गरेर रकम लिई लाइसेन्स दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
रुपन्देही यातायातका तत्कालीन कम्प्युटर अपरेटर पराजुली र यातायात तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट ०७८ साल चैत ७ गते जारी भएको अरु नै आवेदकको आइडी ८४०१६८५ मा जारी भएको क्याटेगोरी बी– कार, जीप डेलिभरी भ्यानको सवारी चालक अनुमपतिपत्रको विवरण परिवर्तन गरी ट्रायल परीक्षामा सहभागी नै नभएका सभ्यता केसीलाई लाइसेन्स दिएको पाइएको हो ।
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्न महासचिव पोखरेलको परिपत्र
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियु २४औँ महाधिवशेनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ ।
महासचिव शङ्कर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही जेठ २५ गतेदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिनुभएको हो । मल्लले महासचिव पोखरेलको परिपत्र आज प्राप्त भएकाले आसन्न महाधिवशेनबाट उमेर हद लागू गर्ने जानकारी दिनुभयो ।
एमालेको यही जेठ ११ गते बसेको सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हद तोक्ने निर्णय गरेका थियो । परिपत्रमा भनिएको छ, “३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरु मात्र विधानको व्यवस्थाअनुरुप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने, यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरु अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन् ।”
ट्रम्प–पुटिन–जेलेन्स्की बैठकको आयोजना गर्ने टर्कीको प्रस्ताव
अङ्कारा । टर्कीले शुक्रबार युक्रेनमा तीन वर्षदेखि चलिरहेको युद्धको अन्त्यतर्फ अगाडि बढ्ने प्रयासमा अमेरिकी, रुसी र युक्रेनी राष्ट्रपतिहरूबीच भेटघाटको आयोजना गर्ने प्रस्ताव राखेको छ ।
किएभ र मस्को दुवैसँग सम्बन्ध कायम राख्न प्रयास गरेको नाटो सदस्य टर्की तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा मुख्य मध्यस्थकर्ता बनेको छ ।
“हामी इमान्दारीपूर्वक सोच्छौँ कि श्री ९रेसेप तैयप० एर्दोगानको नेतृत्वमा श्री ट्रम्प, श्री ९भ्लादिमिर० पुटिन र श्री ९भोलोदिमर० जेलेन्स्कीबीच भेटघाटका साथ पहिलो र दोस्रो प्रत्यक्ष इस्तानबुल वार्तालाई समापन गर्न सम्भव छ”, विदेशमन्त्री हाकान फिदानले किएभको भ्रमणका क्रममा भन्नुभयो ।
क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः ऊर्जामन्त्री खड्का
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा उहाँले बर्सातका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको हो ।
“कम्तीमा वडा तहमा कार्यरत जनप्रतिनिधिलाई बाढीपहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने पनि क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ”, मन्त्री खड्काले भन्नुभयो,“ यस वर्ष सामान्यभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुत बनाउन सरकार लागिरेहको छ ।
आरोप लगाउने बित्तिकै राजीनामा दिलाउने थितिले संकट निम्तिने चिन्ता
काठमाडौँ । आरोप लगाउने बित्तिकै राजीनामा दिनुपर्ने थिति बसाए राजनीति र राज्य संकटमा फस्ने कतिपय विज्ञहरूले बताएका छन् । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकको राजीनामा मागको विषयलाई लिएर कतिपय पर्यवेक्षकहरूले यस्तो बताएका हुन् । हो होमा कोहोलो मच्चाउने सार्वजनिक सञ्जालको अपुरो धारणाले गर्दा लेखकको राजीनामा माग गर्न खोजिएको उनीहरू बताउँछन् ।
तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन अघि बढाउन प्रमुख राजनीतिक दलहरु सहमत भएका थिए । उनका विरुद्ध प्रहरीमा ऊजुरी परेको थियो । र पो लेखकले रवि लामिछानेले अनुसन्धानमा सहजताका लागि राजीनामा माग गरेका थिए ।
अहिले पक्राउ परेका कर्मचारीले भनिदिँदैमा राजीनामा दिनुपर्ने अवस्था आएको देखिएको उनीहरू बताउँछन् ।
मेडिकल काउन्सिलको परीक्षामा फेल हुने २२ प्रतिशत बढी
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १२ देखि १५ जेठसम्म सञ्चालित नाम दर्ता (लाइसेन्स) परीक्षा पास गर्ने ७८ प्रतिशत जति परीक्षार्थी रहेका छन् ।
परीक्षाको नतिजाअनुसार कुल ७७.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा कुल २ हजार ९० जना परीक्षार्थी दर्ता भएकामध्ये २ हजार ७७ जना परीक्षामा सहभागी भएका थिए ।
१३ जना परीक्षार्थी अनुपस्थित रहेको काउन्सिलले जनाएको छ । मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको उक्त परीक्षामा मेडिकल क्षेत्रतर्फ १ हजार ६११ जना दर्ता भएकामध्ये १ हजार ६०० जनाले परीक्षा दिएका थिए ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भई प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँ कायम
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भई प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
हिमालयन रिइन्सुरेन्सको साधारण सभा जेठ २५ मा, ४.७५%लाभांश प्रस्ताव
काठमाडौं । हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेडले आगामी जेठ २५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद गरी कुल ४.७५ प्रतिशत लाभांश वितरण प्रस्ताव गर्नेछ। उक्त प्रस्ताव साधारण सभामा पारित गरिनेछ।
साथै सभामा आर्थिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको खर्च, अन्य खर्चहरूको अनुमोदन, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावहरू पनि पेस गरिनेछन्।
सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्याइने
काठमाडौँ । सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्याइने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै रासायनिक मलमा अनुदानका लागि रु २८ अर्ब ८२ करोड लाग्ने बताउनुभयो । लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने उहाँले बताउनुभयो ।
आजको विनिमयदर: डलर, युरो, रियाल लगायतका मुद्रा कति छ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७० पैसा र बिक्रीदर ९९ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij