
काठमाडौँ ।राष्ट्रियसभा सांसदहरूले हानिकारक विषादीको प्रयोग भएका फलफूल तथा तरकारी बिक्रीवितरणमा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले बजारमा बिक्रीवितरण भइरहेका फलफूल तथा तरकारीको कडाइका साथ गुणस्तर परीक्षण गर्न माग गर्नुभयो । “फलफूल तथा तरकारीमा अत्यधिक विषादीको प्रयोेग हुने गरेको र समयअगावै विषादीयुक्त तरकारी बजारमा बिक्रीवितरण गरेको समाचार बारम्बार सुनिरहेका छाँै”, उहाँले भन्नुभयो, “फलफूल पनि पाक्ने समय अगाडि पकाउने औषधिको प्रयोग गरी बजारमा ल्याइएको छ । गुणस्तर परीक्षण गरी आमनागरिकले उपभोग गर्ने वातावरण बनाउनुपर्छ ।”
सांसद गङ्गाकुमारी बेल्वासेले पतञ्जली जग्गा हिनामिना प्रकरणबारे चर्चा गर्दै विदेशी कम्पनीलाई बिनाआवश्यक कागजपत्र दर्ता गरिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले कानुन संशोधन गरेर जग्गा कम्पनीलाई दिने र बेच्ने भन्ने छ, त्यो बेठिक छ ।”
सांसद गोेपाल भट्टराईले असारदेखि असोजसम्म डेङ्गी रोग प्रकोपका रूपमा फैलिन सक्नेतर्फ सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क प्रस्तुत गर्दै यसको नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
सांसद गोपीबहादुर सार्की आछामीले बिपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक सडक समयमै पुनर्निर्माण गर्न सभाअध्यक्षमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद जगप्रसाद शर्माले किसान पेन्सनको व्यवस्था गर्न माग गर्दै कृषकलाई मल र बीउ समयमा व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
शून्य समयमा सांसद मायाप्रसाद शर्माले जाजरकोट जिल्लामा मानसिक असन्तुलनका कारण बढदो मृत्युदरको तथ्याङ्क प्रस्तुत गर्दै त्यहाँ मानसिक अस्पताल निर्माणको आवश्यकता औँल्याउनुभयो ।
बैठकमा सांसदहरूले उद्धार अभ्यास गर्ने क्रममा सप्तकोशी नदीमा डुबेर बेपत्ता दुई सशस्त्र प्रहरीमा एकको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै अझै बेपत्ता एकको खोजीलाई तीव्रता दिन माग गर्नुभएको थियो ।
त्यसअघि सभाको आकस्मिक समयमा नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र०का सांसद विष्णुबहादुर विश्वकर्माले भिजिट भिसामा निष्पक्ष अनुसन्धानको बाटो खुलाउनुपर्नेमा जोड दिनुभएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij