
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा सहभागिता जनाएको छ ।जुन ६देखि७ सम्म चीनको चोङछिङमा आयोजित सम्मेलनमा परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माणबारे केन्द्रित विशेष छलफलको आयोजना गरिएको थियो । सहभागीहरूले मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेका थिए ।
सो कार्यक्रममा गाडी व्यवसायीहरूको संगठन नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टको रुपमा सहभागिता जनाएका थिए। त्यसक्रममा उनले नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरुबारे एक परिदृश्य प्रस्तुत गरेका थिए ।
चौधरीले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाएका थिए। सो कार्यक्रममा चीन–आसियान ईभी सहयोग, दिगो यातायात र विद्युतीय सवारी प्रवर्धनबारे छलफल भएको थियो।सो सम्मेलनमा सम्पन्न डेलिगेशन संवादमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे छलफल भएको थियो ।
उक्त सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवर्धन गर्ने स्टल समेत राखेको थियो। त्यहाँ नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरुको अवस्था र वातावरण, तथा नाडाले आउदो अगष्टमा काठमाडौंमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा समेत जानकारी प्रदान गरिएको थियो।
उक्त सम्मेलनमा नाडाबाट महासचिव सुरेन्द्रकुमार उप्रेती , केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित केन्द्रीय कार्य समिति सदस्यद्वय अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेल समेतको पनि सहभागिता रहेको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij