Logo

Jun 13 2025 | २०८२, जेठ ३०गते

Jun 13 2025 | २०८२, जेठ ३०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २८ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २८ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २८ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    शेयर बजार  : नेप्से परिसूचकमा १३.२८ अंकले घटेर २६६४.८८  बिन्दुमा, ९ अर्ब ९० करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा १३.२८ अंकले घटेर २६६४.८८  बिन्दुमा आएको छ । आज ९ अर्ब ९०  करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
    ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।आज  हाइड्रोपावर समूहमा उत्साह देखिएको छ । यस दिन ३ सय ७ कम्पनीको २ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६१ करोड ५७ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा राधि विद्युत कम्पनी अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइढ्रोपावर र बुटवल पावर कम्पनी परेका छन् ।

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

    काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा जारी अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन्। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले सत्तापक्ष र विपक्षी दलबीच संवाद सकारात्मक दिशामा अगाडि बढिरहेको जानकारी दिए।

     

    ‘अवरोध चाँडै हट्नेछ,’ मन्त्री गुरुङले भने, ‘सरकार संसदको प्रभावकारिता कायम राख्न र बजेटको प्रक्रिया अवरुद्ध नहोस् भन्नेमा गम्भीर छ।’ उनले संवेदनशील विषयहरूलाई संसदीय प्रक्रियामार्फत छलफल गरी समाधान खोज्नुपर्नेमा जोड दिँदै भने, ‘सानातिना विषय उठाएर राजनीतिक प्रक्रिया अप्ठ्यारो पार्नु उचित होइन।’

    ट्रेड टावर लिमिटेडको आइपीओ असार १ गते बाँडफाँट, १८ लाखभन्दा बढी आवेदक हात खाली हुने

    काठमाडौँ । ट्रेड टावर लिमिटेडको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट यही आइतबार, असार १ गते हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार उक्त मितिमा बाँडफाँट गर्ने तयारी भए पनि बाँडफाँटको सटीक समय भने अझै तय गरिएको छैन।

    यो आइपीओ अत्यधिक मागमा परेकाले गोलाप्रथामार्फत बाँडफाँट गरिने भएको छ। कम्पनीले जारी गरेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयरका लागि २१ लाख ६९ हजार ८९१ जना लगानीकर्ताले आवेदन दिएका छन्। कुल माग ७.८२ गुणा बढी रहेकोले अधिकांश लगानीकर्ताले सेयर प्राप्त गर्ने सम्भावना छैन।

    राष्ट्र बैंकद्वारा ४० अर्बको निक्षेप संकलन उपकरण जारी, तरलता व्यवस्थापनको प्रयास

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार जेठ २८ गते (बुधबार) यस उपकरणको बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले सोही दिन दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

    २१ दिन अवधिको लागि जारी हुने यस निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले बजारमा रहेका अतिरिक्त रकमहरू खिच्ने प्रयास गर्दैछ। निक्षेप संकलन उपकरणको साँवा र ब्याज असार १८ गते भुक्तानी गरिनेछ भने यसको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।

    अभियान लघुवित्तले लगातार दोस्रो वर्ष लाभांश नदिने निर्णय

    काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बुधबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै शेयरधनीहरूलाई लाभांश नदिने निर्णय लिएको हो। कम्पनीले यसअघि आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन। लगातार दोस्रो वर्ष लाभांश नदिने निर्णयले लगानीकर्ताहरूमा निराशा उत्पन्न हुन सक्ने देखिएको छ।

    टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के

    काठमाडौँ । सरकारले दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिइएको छ ।

     

     

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीविरुद्ध बिलिङ प्रणालीको मर्मतसम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि सरकारले सो पदको जिम्मेवारी मास्केलाई दिइएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिनुभयो ।

    सामाखुसी ढल निर्माण ठेक्कामा अनियमितता : तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यमा ठेक्कासम्बन्धी अनियमितता भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँ बराबरको आर्थिक बिगो कायम गर्दै मुद्दा अघि बढाएको हो।

    अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

     

     

    अर्थ मन्त्रालयमा आज आयोजित उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

     

    प्राथमिकताका आधारमा कामको सहजीकरण गरेर शीघ्र सम्पन्न गर्ने वातावरण तयार पार्न अर्थमन्त्री पौडेलको निर्देशन थियो । परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै उहाँले निर्धारित लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्यसम्पादन गर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।

    ग्वार्को फ्लाइओभर असार पहिलो साता सञ्चालनमा आउने तयारी, वर्षाले भूमिका खेल्ने

    काठमाडौँ । यदि वर्षाले अवरोध गरेन भने ग्वार्को फ्लाइओभर यही असारको पहिलो साताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सडक विभागका अनुसार, परियोजना अन्तिम चरणमा पुगेको छ र हाल फिनिसिङ तथा कालोपत्रेको काम भइरहेका छन्। फ्लाइओभरको लोड टेस्ट लगायतका मुख्य संरचनागत काम पूरा भइसकेका छन्।

    सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता प्रभातकुमार झाका अनुसार, 'फ्लाइओभरका धेरैजसो काम सकिएका छन्। पुलको लोड टेस्टलगायतका काम सम्पन्न भइसकेका छन्। बाँकी केही फिनिसिङ मात्रै बाँकी छन्। वर्षाले खासै असर नगरेमा असारको पहिलो सातादेखि नै सञ्चालनमा ल्याइन्छ।'

    चालु आव बित्न डेढ महिना बाँकी रहँदा ३ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी

    काठमाडौँ । चालु आर्थिक वर्ष बित्न डेढ महिना मात्र बाँकी रहेम्म कर्जा लगानी ३ खर्ब ६४ अर्ब भएको छ ।चालु आवको साढे १० महिना अर्थात जेठ १६ गतेसम्म वाणिज्य बैंकहरुबाट भएको कर्जा लगानीको अवस्था यस्तो देखिएको हो ।वाणिज्य बैंकहरुले साउनदेखि जेठ १६ सम्म गरेको ३ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानीमध्ये अधिकांश लगानी हरेक त्रैमासिकको अन्तिम महिनामा भएको देखिन्छ ।

     

    यस्तो कर्जा लगानीको हिस्सा  ६० प्रतिशत रहेको छ । पहिलो त्रैमासिकको अन्तिम महिना असोजमा ५६ अर्ब, दोस्रो त्रैमासिक अन्तिम महिना पुसमा ९४ अर्ब र तेस्रो त्रैमासिकको अन्तिम महिना चैतमा ६५ अर्ब ऋण लगानी भएको देखिएको हो । त्यसमा पनि यी लगानीहरू अन्तिम महिनाको अन्तिम सातामा धेरै भएको देखिन्छ ।हरेक त्रैमासिकको  अन्तिम महिनामा कर्जा लगानी धेरै भइरहेको र अन्य महिनामा कर्जा प्रवाहको अवस्था खुम्चिएको प्रवृति देखिन्छ ।

    प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखसहित प्रमुखसचेतकहरुको बैठक

    काठमाडौँ । प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वर परिसरमा भएको बैठकमा प्रतिनिधिसभाको गतिरोध खुलाउने विषयमा छलफल भइरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । सहमतिका लागि चरणबद्ध छलफल भइरहे पनि अहिलेसम्म सहमति जुटिनसकेको उहाँले बताउनुभयो ।

    युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

    खार्किभ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा बुधबार बिहान बिहानै गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । घाइतेहरूमा बालबालिका पनि परेका छन् ।
    युद्ध सुरु भएको तीन वर्ष बितिसक्दा पनि रुसले दैनिक रूपमा आक्रमण तीव्र बनाउँदै गएको छ । उसले युद्ध रोक्न युक्रेनसँग कठोर सर्तहरू अघि सारेको छ, जसलाई युक्रेनले अस्वीकार गर्दै आएको छ ।

    न्युयोर्कमा आप्रवासीमाथि आक्रमणको विरोधमा हजारौँको विरोध प्रदर्शन

    न्युयोर्क ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिहरूको विरोधमा मङ्गलबार हजारौँ मानिस न्युयोर्क सहरको सडकमा उत्रिएका छन् । आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिई) द्वारा शृङ्खलाबद्ध छापापछि देशभरि विरोध प्रदर्शन भड्किएको छ ।

     

     

    “घृणा छैन, डर छैन, आप्रवासीहरूलाई यहाँ स्वागत छ”, प्रदर्शनकारीहरू सुरुमा फोली स्क्वायरमा भेला भएका थिए । एउटा अदालत अगाडिको फोली स्क्वायरमा धेरै आप्रवासीलाई शुक्रबार कानून प्रवर्तनद्वारा हिरासतमा राखिएको थियो ।

    डिएसपी भन्दै ठगी गरेको अभियोगमा पक्राउ

    काठमाडौँ ।  नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै रु छ लाख ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

     

     

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ तथा सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

    औषधि मूल्य नीति सुझाव समितिको प्रतिवेदनको विरोधमा उत्रिने औषधि व्यवसायीहरूको चेतावनी

    काठमाडौँ । औषधि मूल्य नीति सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनको विरोधमा उत्रिने औषधि व्यवसायीहरूले चेतावनी दिएका छन् ।औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामाग्री सरोकार समितिको तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले यस्तो चेतावनी दिएको हो ।

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको औषधि मूल्य नीति सुझाव समितिद्वारा माननीय स्वास्थ्य मन्त्रिज्युलाई मंगलबार बुझाएको “औषधि मूल्य नीति सुझाव समितिको प्रतिवेदन सेवाग्राहीमुखी नभएको भन्दै उनीहरूले विरोध जनाएका छन् । मूल्य नीति सुझाव समितिको प्रतिवेदनलाई सरोकार राख्ने संघ संस्थाहरुलाई किनारा लगाई गरेको हैकमवादी नीतिको प्रतिफल भएको जनाउँदै औषधि व्यवसायीहरूले प्रतिवेदनप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी

    काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ। प्रहरीले पत्रकार पाठकले केही दिनअघि आफ्नो युट्युब च्यानलमा प्रसारित एक सामग्रीका कारण पुर्जी जारी गरिएको जनाएको छ।

    उक्त भिडियोमा काठमाडौंस्थित हिल्टन होटल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवा, र एक व्यावसायिक घरानाको नाम जोडिएको थियो। सोही विषयमा उठेको विवादका कारण साइबर अपराध अन्तर्गत अनुसन्धान थालिएको र पुर्जी जारी गरिएको अनुमान गरिएको छ।

    चीनबाट रसुवागढी हुँदै १४ हजारभन्दा बढी विद्युतीय सवारीसाधन आयात, भन्सार नपुगेका गाडी थन्किँदै

    रसुवा  । दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५००  नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् । 
          
    रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ ।

    यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।
     
     युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
     
         अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ २९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij