
सिन्धुपाल्चोक । लार्चाको ह्युम पाइप बगाइदिएपछि चीनसँग जोडिएको तातोापानी भन्सार नाकामा आवागमन अवरुद्ध भएको छ ।सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाएर अरनिको राजमार्ग अवरुद्ध भएको हो ।इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी सार्वजनिक गरे अनुसार राति परेको अविरल वर्षाका कारण भोटेकोशी–३ लार्चामा राखिएको ह्युम पाइप बगाएको हो ।
गत असोजमा परेको वर्षाले लार्चा पुल बगाएपछि अहिले २ महिनादेखि बेलिब्रिज निर्माणाधीन छ ।बेलिब्रिजको अभावमा आवागमनमा सहज बनाउने उद्देश्यले ह्युम पाइप राखेर यातायात संचालनमा ल्याइएको थियो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक राईका अनुसार अहिले लार्चामा सवारी आवागमन अवरुद्ध छ ।सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा शनिबार बेलुका ९ बजेदेखि नै सडक भासिएर अवरुद्ध राजमार्ग खुलेको छैन् ।
सडक विभाग, गाउँपालिका र स्थानीय हाइड्रोलाई समन्वय गरेर सडक खुलाउने प्रयास भएपनि अहिलेसम्म सडक नखुलेको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक राईले जानकारी दिए ।सडक भासिएपछि अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानीदेखि कोदारीसम्मको सडक खण्डमा यातायात अवरुद्ध छ । सडकखण्डको ६०–७० फिट लम्बाइको क्षेत्र नै भासिएर भोटेकोशीमा पुगेको छ ।सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको छ । यसले भन्सार नाकातर्फको आवागमन पूर्णरुपमा ठप्प भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij