
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ५ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
आइएमई डिजिटल र खल्ती एकीकृत, ‘आइएमई खल्ती लिमिटेड’ नामबाट साउन १ गतेदेखि सञ्चालन
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक दुई कम्पनीहरू, आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेडलाई गाभिएर एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकका अनुसार, यी दुवै कम्पनीका सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएर एकीकृत संस्थामा सर्ने व्यवस्था गरिएको छ।
साविकका दुवै कम्पनीबाट सञ्चालन हुँदै आएको डिजिटल भुक्तानी सेवा अब आउँदो साउन १ गते बिहीबारदेखि एकीकृत रुपमा ‘आइएमई खल्ती लिमिटेड’ को नाममा सञ्चालन हुनेछ। यस एकीकरणले सेवा विस्तार, दक्षता र डिजिटल कारोबारमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
जोशी हाइड्रोपावरको ६५% हकप्रद सेयरमा मूल्य समायोजन, नयाँ भाउ ३१६.९८ रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६५ प्रतिशत हकप्रद सेयरका लागि मूल्य समायोजन गरिएको छ। बिहीबारको अन्तिम कारोबार मूल्य रू. ४५८.०२ लाई आधार मानेर मूल्य समायोजन गर्दा यसको नयाँ समायोजित मूल्य रू. ३१६.९८ कायम गरिएको हो। अब यही मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुला हुनेछ।
आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल
काठमाडौँ ।उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणको दिशामा थप एक कदम अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रस्तुत बजेटले नयाँ सपना देख्ने भन्दा पनि देखेका सपनालाई पूरा गर्ने बताउनुभयो ।
शेयर बजार : नेप्से परिसूचकमा २४.५९ अंकले घटेर २६२९.०८ बिन्दुमा, ११ अर्ब २३ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा २४.५९ अंकले घटेर २६२९.०८ बिन्दुमा आएको छ । आज ११ अर्ब २३ करोड बढीको सेयर कारोबार भएको छ ।
एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा र ३ वटा कम्पनी नकारात्मक लेबलमा कारोबार भएका छन् । यस दिन सूचीकृत सबै समूहमा गिरावट आएको छ ।
मिडिल मोदी हाइड्रोपावरको १३औं वार्षिक साधारण सभा असार २९ गते , आईपीओ निष्कासन गर्ने
काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आफ्नो १३औं वार्षिक साधारण सभा आगामी असार २९ गतेका लागि बोलाएको छ। सभा दिउँसो १ बजे कम्पनीको सभा कक्ष, सानेपा, ललितपुरमा आयोजना गरिनेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका विषयहरू निर्णयार्थ प्रस्तुत गरिनेछन्। साथै, सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्न आवश्यक सम्पूर्ण कार्यको अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारणको संकेत, नेपालमा ऊर्जा आत्मनिर्भरता तर्फको सम्भावना
दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ ।
विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पु¥याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । यो जम्मा चार वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी तीन कुइँकानको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कूल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्नसक्ने सम्भावना देखिएको छ ।
इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
सेन्ट पिटर्सबर्ग । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायलको सुरक्षा चिन्तालाई सम्बोधन गर्दै रुस इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न तयार रहेको बताउनुभएको छ ।
विशेष विवरणहरू खुलासा नगरी उहाँले रुसले यस विषयमा इजरायली र अमेरिकी अधिकारीहरूसँग विस्तृत छलफल गरेको र आफ्ना इरानी समकक्षहरूलाई प्रस्तावहरू पठाएको पुष्टि गर्नुभयो ।
“सामान्यतया, शान्तिपूर्ण आणविक ऊर्जामा इरानको चासो पूरा गर्न र एकै समयमा आफ्नो राष्ट्रिय सुरक्षाको बारेमा इजरायलको चिन्तालाई सम्बोधन गर्न सम्भव छ”, उहाँले भन्नुभयो ।
‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ: मन्त्री दाहाल
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धनुषा र सिरहा जोड्ने कमला नदीको नयाँ पुल निर्माण गर्ने प्रक्रिया अघि बढाउने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै उहाँले कमला नदीमा नयाँ पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने बताउनुभयो । मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी सडकअन्तर्गत कमला पुल निर्माणको जिम्मेवारी पाएको कम्पनी लुम्बिनी बिल्डर्ससँँगको ठेक्का प्रक्रिया तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारी भएको उहाँले उल्लेख गर्नुभयो । “समयमै निर्माण सम्पन्न भएन, अब नयाँ निर्माण कम्पनीलाई जिम्मा दिन्छौ”, उहाँले भन्नुभयो, “अब नयाँ मूल्याङ्कन गरेर जसरी पनि पुल निर्माण हुन्छ, फास्ट ट्रयाकबाट अघि बढ्छाँै ।” निर्माण कम्पनी र बिमा कम्पनीबीचको अदालती प्रक्रिया लम्बिएपछि काम ठप्प भएको अवस्था छ ।
‘सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन’
पाटन (ललितपुर)। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन नसक्ने धारणा राख्नुभएको छ । राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय÷संस्थासँग अन्तरक्रिया गोष्ठीमा मन्त्री भण्डारीले मुलुकभित्र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न मन्त्रालयले आन्तरिक रोजगार दशक लागू गर्न खोजिरहेको उल्लेख गर्नुभयो । “मन्त्रालयले आन्तरिक रोजगारीको सृजना गरेर अगाडि बढ्नेगरी योजना बनाइरहेको छ, बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त्य गर्न मन्त्रालय प्रयासरत छ, यसलाई निरुत्साहित गरिनुपर्छ । सूचना प्रविधिको सहयोगमा रोजगारीका अवसर सृजनामा केन्द्रित भएका छौँ”, उहाँले भन्नुभयो ।
सुनचाँदी गरहना व्यवसायीहरूद्वारा विलासिता कर फिर्ता लिन सरकारलाई असार मसान्तसम्मको अल्टिमेटम
काठमाडौँ । सुन चाँदी गरगहना व्यवसायीहरू आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत समेटिएका अव्यवहारिक कर नीति फिर्ता लिन सरकारलाई एक अल्टिमेटम दिएको छ । असार ४ गते सम्पन्न संयुक्त भेलाबाट यस्तो निर्णय गरिएको उनीहरूले बिहीबार ५ गते एक पत्रकार सम्मेलनको आयोजना गरी जनाएका हुन् ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारले लगाएको विलासिता करले उपभोक्तालाई थप महँगो हुने र अर्कोतर्फ भारतबाट सुनचाँदीको गरगहनाको तस्करी बढ्ने बताउँदै यस्तो बताएका हुन् ।
यस कारण घट्दै छ नेपाली यार्सागुम्बाको निर्यात
काठमाडौँ । यार्सागुम्बाको निर्यात चालु आर्थिक वर्षमा घटेको देखिएको छ । गत आर्थिक वर्ष (२०८०/८१) को १० महिनाको तुलनामा चालु आव (२०८१/८२) को सोही अवधिमा यार्सागुम्बा २१ करोड रुपैयाँको मात्र निर्यात भएको देखिएको हो ।साउनदेखि वैशाखसम्मको अवधिमा २१ करोड १८ लाख ४५ हजार रुपैयाँको मात्र यार्सागुम्बा निर्यात भएको जनाइएको छ । गत आवको सोही अवधिमा ६२ करोड ६३ लाख ८९ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो । चालु आवको १० महिनामा ४९९ केजी यार्सा निर्यात भएको छ । गत आवको सो अवधिमा १ हजार २८६ केजी यार्सा निर्यात भएको थियो ।
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले निजामती विधेयक, दाउन्ने सडक निर्माण, मानव बेचबिखन, दलितमाथि हुने विभेदलगायत समसामयिक विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठक प्रारम्भ हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालले वालिङ नगरपालिका–१० का वडाध्यक्षले रास्वपाका नेता मेघ आलेमाथि आक्रमण गरेकाले निजमाथि कानुनी कारबाही गर्न माग गर्नुभयो । अवैध रूपमा भइरहेको नदी दोहनको विरोध गरेकाले उहाँमाथि आक्रमण गरिएको सांसद ढकालले सुनाउनुभयो ।
पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास
ब्युनस आयर्स । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या प्रयास गरेको आरोपमा एक नर्सलाई आजीवन कारावासको सजाय सुनाइएको स्थानीय मिडियाले जनाएको छ ।
अभियोजकहरूका अनुसार ब्रेन्डा सेसिलिया अगुएरोले सन् २०२२ मार्च र जुनको बीचमा सूची नियन्त्रण नभएका आपत्कालीन चिकित्सा कार्टबाट डोज लिएर नवजात शिशुहरूमा पोटासियम र इन्सुलिन सुई लगाएकी थिइन् ।
अर्जेन्टिनी कानूनअनुसार अगुएरो ३५ वर्षको सजाय भोग्नुअघि प्यारोलका लागि योग्य हुनेछैनन् ।
घट्दो कर्जा ब्याजदर घरजग्गामा अवसर
काठमाडौँ । बैंकहरूको घट्दो कर्जा ब्याजदर घरजग्गामा लगानी र निर्माणमा अवसर हुने विज्ञहरूले बताएका छन् ।पछिल्लो करिब डेढ वर्षयता बैंकको ब्याजदर निकै घटेर कर्जामा पनि एकल अंकको ब्याजदरमा झरेकाले विज्ञहरूले यस्तो बताएका हुन् । अहिले बैंकको ब्याजदर मुद्दति निक्षेपमा मात्रै नभएर कर्जामा समेत करिब एकल अंकमा झरेकोले हाल बैंकबाट स्थिर कर्जाको ब्याजदर समेत एकल अंकमा राखेको पाइएको पर्यवेक्षकहरू बताउँछन् ।
कुमारी बैंकबाट ७ वर्षका लागि होम लोन लिँदा ८.५९ प्रतिशत ब्याज लाग्ने छ । यसैगरी ५ वर्षका लागि अटो लोन लिँदा ८.९९ प्रतिशत, व्यक्तिगत तर्फको मोर्टगेज (टर्म लोन)ं लिँदा ७ वर्षका लागि ९.५९ प्रतिशत कर्जामा पाइने जनाइएको छ । हिमालयन बैंकबाट ७ वर्षका लागि घर कर्जा लिँदा ९ प्रतिशत, ७ वर्षसम्मका लागि होयर पर्चेज कर्जा (व्यक्तिगत) लिँदा ९ प्रतिशत, ७ वर्षसम्मका लागि मोटरेज लोन (सेक्योर्ड पर्सनल) लिँदा ९.२५ प्रतिशत, कमर्शियल हायर पर्चेज लोन ७ वर्षसम्मका लागि लिँदा ९.७२ प्रतिशतमा ब्याजदरमा पाइने जनाइएको छ ।
नेपाल निजामती कर्मचारी युनियनले आन्दोलनको घोषणा गर्नुपर्ने माग
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले आन्दोलनको घोषणा गर्नुको कुनै विकल्प नभएको युनियनका अगुवाहरूले बताएका छन् ।नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव गणेश भण्डारीले यस्तो बताएका हुन् ।
निजामती कर्मचारीहरूको हक अधिकार सुरक्षित गर्न ऐन ल्याउनुपर्ने र कर्मचारीहरूको हक विपरीतिका प्रावधान हटाउन सशक्त आन्दोलनको आवश्यकता औँल्याउँदै उपमहासचिव भण्डारीले यस्तो बताए । उनका अनुसार संघीय निजामती सेवा ऐन असार १८ गते ५२ भाईको फैसला नभएसम्म संसदबाट पास हुने लक्षण देखिदैन । किनभने यसभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न स्वार्थ र धेरै विषय लुकेका छन । त्यतिञ्जेलसम्म कर्मचारीका माग र मुद्दाहरूलाई स्थापित गर्ने यो अन्तिम मौका पनि हो । त्यसैले सुक्ष्म लबिङ र बृहत दबाब अनि खवरदारीको जरूरी छ ।
प्रभु बैंकको २ लाख ७८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौ। युनाइटेड अजोड इन्सुरेन्स कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको असार ४ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँ कायम
काठमाडौँ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यता, आज चाँदीको भाउ भने रेकर्ड मूल्यबाट तल झरेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २२ सय रुपैयाँ कायम भएको छ ।
प्रि ओपन सेसन : नेप्से सूचक घट्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.७२ विन्दुले घटेको छ । यससँगै सूचक २६५०.९६ अंकमा झरेको छ । ५३ लाख २६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको १२ हजार ३९ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा २३ कम्पनीको मूल्य बढेको छ भने २४ वटाको भाउ घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij