Logo

Jun 27 2025 | २०८२, असार १३गते

Jun 27 2025 | २०८२, असार १३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार १३ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् असार १३ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १३ शुक्रबार  । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    शेयर बजार : नेप्से परिसूचकमा १.७५ अंकले बढेर २५९८.४४ विन्दुमा, ७ अर्ब ७८ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौं । सेयर बजार बिहीबार पनि सुस्त देखिएको छ । विगत केही दिनदेखि नेप्से सूचक २६ सय विन्दुको आसपासमा रहँदै आएको छ । बिहीबार पनि नेप्से सूचकमा १.७५ अंकको गिरावट देखिएको छ । यससँगै सूचक २५९८.४४ विन्दुमा बन्द भएको छ । यस दिन ७ अर्ब ७८ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ । 

     

    यस दिन ३ सय ६ कम्पनीको १ करोड ९६ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रहेको छ । यसको ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र ङादी ग्रुप पावर रहेका छन् ।

     

    आरविवि म्युचुअल फण्ड १ को नाफा १५ करोड नाघ्यो, लगानीमा उल्लेखनीय वृद्धि

    काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले आर्थिक वर्षको जेठ मसान्तसम्ममा १५ करोड ६ लाख रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएको छ। वैशाख मसान्तसम्म १२ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको योजनाले जेठमा थप मुनाफा बढाउँदै सकारात्मक वित्तीय प्रगति देखाएको हो।

    जेठ महिनामा योजनाले १७ करोड ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने खर्च २ करोड २८ लाख रुपैयाँभन्दा बढी पुगेको छ। यसको तुलनामा वैशाख महिनामा आम्दानी १५ करोड ६ लाख र खर्च २ करोड ७ लाख रुपैयाँ थियो।

     

    बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला तथा योजना मन्त्रालयको ध्यानाकर्षण

    काठमाडौँ ।  बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ वार्षिक कार्यक्रम तथा बजेट तर्जुमाका सम्बन्ध आर्थिक मामिला तथा योजना मन्त्रालय र मन्त्री कुन्दन काफ्लेलाई जोडेर विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित भएका समाचारप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । 

     

    मन्त्रालयका प्रवक्ता श्रीकृष्ण आचार्यद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयसँग कुनै सत्यतथ्य नबुझी प्रदेश सरकारको क्षेत्राधिकारभन्दा बाहिर बजेट विनियोजन भएको भन्ने सन्दर्भमा उक्त कार्यक्रम सङ्घीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त अनुदानको रहेको र हेटौँडा उपमहानगरपालिका वडा नं २० र २२ जोड्ने कर्रा खोला सडक पुल आयोजना साविककै क्रमागत आयोजनाको निरन्तरता हो ।”

    ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल हाटबजारको २५औँ हप्ता मनायो

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रुपमा मनाएको छ । बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो । बैंकले शुक्रबार अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औं हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको थियो । 

     

    उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ ।

    भेप बिक्री वितरणमाथिको प्रतिबन्ध अदालतले खुलायो

    काठमाडौं । सरकारले इलेक्ट्रिोनिक चुरोट ( भेप) आयात तथा बिक्री वितरणमा  प्रतिबन्ध लगाउने नपाउने भएको छ । उच्च अदालतले भेपमा प्रतिबन्ध नलगाउन सरकारलाई आदेश दिएको हो । उच्चका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र हेमन्त रावलको संयुक्त इजलासले भेप आयात तथा बिक्री गर्न बाटो खुला गरिदिएको हो । भेपमान्डु ट्रेडर्सले दायर गरेको रिटमा अदालतले कुनै अवरोध नगर्न सरकारलाई भनेको छ । 

     

    अर्थ मन्त्रालय, भन्सार विभाग लगायतले भेपको आयात रोकेको भन्दै भेपमान्डुले सञ्चार र अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भन्सार तथा वाणिज्य विभाग समेतलाई विपक्षी बनाएर उच्चमा रिट दायर गरेको थियो । भेप प्रतिबन्ध लगाउन स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सरोकारवाला निकायहरूलाई परिपत्र समेत गरेको थियो । 

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे आउँदै

    काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले जनाएका हुन् ।

     

    २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

    फास्टट्र्याकबाट हेमन्त सर्राफ दाजुभाइद्वारा सञ्चालित अनिका ट्रेडलाई राजस्व अनुसन्धान विभागले किन तिरायो ६० लाख ?

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले अनिका ट्रेडलाई ६० लाख तिराएको छ । हेमन्त सर्राफ , अमित सर्राफ र राजकुमार सर्राफद्वारा सञ्चालित अनिका ट्रेड प्रालिले लेडिज जुत्ता चप्पलको कारोबारमा ठुलो मात्रामा राजस्व छली गरेको भन्दै फास्ट ट्र्याकमा राम्रो अनुसन्धान नै नगरी ६० लाख तिराएको हो ।

     

    विभागले केही हप्ता अगाडि अनिका ट्रेड प्रालिको कागजपत्र नियन्त्रमा लिएको थियो । यद्यपि अनुसन्धान नै नगरी बसेको राजस्व अनुसन्धान विभागले फास्ट ट्र्याकमा अनुसन्धान अधिकृत तोकेर ६० लाख तिराएको छ ।हेमन्त सर्राफ , अमित सर्राफ र राजकुमार सर्राफले सञ्चालन गरेको नागमणि इन्टरनेशनल प्रालि विगत केही महिनायता देखि राजस्व अनुसन्धान विभागको राडारमा छ । तीनै व्यक्तिहरूले सञ्चालन गरेको कम्पनी आफ्नै राडार भित्र हुँदाहुँदै फास्ट ट्र्याकमा तीनै व्यक्ति सञ्चालन गरेको फर्म अनिका ट्रेड प्रालिलाई किन हतार हतार पैसा तिराएर उन्मुक्ति दियो ?

    राजस्व अनुसन्धान विभागबाट बाहिरिए घिमिरे, घिमिरेको कार्यकालमा अनुसन्धान  कति सफल ,कति असफल, कति विवादित ?

    काठमाडौँ । राजस्व अनुसन्धान विभागबाट आजैदेखि महानिर्देशक चण्डीप्रसाद घिमिरे  बाहिरिएका छन् ।राजस्व अनुसन्धान विभागमा १० महिना महानिर्देशक रहेका घिमिरे निजामती सेवाबाट अनिवार्य अवकास भएसँगै विभागबाट आजैदेखि बाहिरिएका हुन् ।
    राजस्व अनुसन्धान विभागमा १० महिना बिताएका चण्डीप्रसाद घिमिरेको कार्यकाल हदसम्म सफल भएको पाइएको छ । उनको कार्यकालमा केही सेक्टरमा चोरी तस्करी र राजस्व चुहावट हदसम्म नियन्त्रण भएको पाइएको छ ।
    १० महिने कार्यकाल पूरा गरेर सेवा निवृत हुँदै गर्दा पत्रकारहरूसँग भेटघाट गरी घिमिरेले आफ्नो कार्यकालमा भएको कार्यप्रगति बारे जानकारी गराए ।

    नबिल बैंकको ३ अर्बको ऋणपत्र बिक्री : सर्वसाधारणका लागि १२ लाख इकाइ खुला

    काठमाडौँ ।नबिल बैंकले नयाँ ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरमा कुल ३० लाख इकाइ बराबरको 'नबिल डिबेन्चर, २०८९' बजारमा ल्याउन लागेको हो, जसको कुल मूल्य ३ अर्ब रुपैयाँ हुन्छ।

     

    जारी गरिने ऋणपत्रमध्ये १२ लाख इकाइ सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला रहनेछन् भने बाँकी १८ लाख इकाइ बैंकले आफ्नै पहलमा विभिन्न संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछ।

    एसईई नतिजा आजै सार्वजनिक हुने, तयारी अन्तिम चरणमा

    काठमाडौँ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझसम्म सार्वजनिक हुने पक्का भएको छ। शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा आजै प्रकाशन गर्ने निर्णय गरेको हो।

     

    बोर्डका अनुसार दोस्रो बैठकपछि औपचारिक रूपमा नतिजा प्रकाशित गरिनेछ। यदि कुनै प्राविधिक समस्या नआएमा साँझभित्रै नतिजा सार्वजनिक हुने निश्चित छ।

    गत चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए। देशभर २ हजार ७९ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको थियो।

    इटालीको भेनिसमा जेफ बेजोस र लोरेन सान्चेजको महँगो विवाह : विश्वका चर्चित अनुहारहरूको भव्य जमघट

    काठमाडौँ ।अमेरिकी अर्बपति जेफ बेजोस र उनकी प्रेमिका लोरेन सान्चेजको विवाह उत्सवले इटलीको ऐतिहासिक सहर भेनिसलाई झिलिमिली बनाएको छ। तीन दिनसम्म चल्ने भनिएको यो समारोह बिहीबारदेखि सुरु भएको हो।

     

    भेनिसका ऐतिहासिक स्थलहरूमा आयोजना गरिएको विवाहमा हलिउडका चर्चित अनुहारहरूको बाक्लो उपस्थिति रहेको छ। अभिनेता अरलान्डो ब्लुम, फुटबलर टम ब्र्याडी, व्यवसायी तथा मोडल काइली जेनर, अभिनेत्री किम कार्दाशियन र लिओनार्दो डिक्याप्रियो जस्ता नामचीन सेलिब्रेटीहरू पानी जहाजमार्फत विवाह स्थलतर्फ लागेका थिए।

    कांग्रेस केन्द्रीय कार्यालय विस्तार गर्न १९ आना थप जग्गा खरिद गर्ने सम्झौता

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाइने भएको छ ।

     

     

    यसका लागि कार्यालयभन्दा अगाडि रहेको १९ आना जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ललितपुर निवासी अमिरमान अमात्यका नाममा रहेको सो जग्गा र घर कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी यही असार ११ गते सम्झौता भएको थियोे ।

     

     

    महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गाधनीसँग एक वर्षभित्र पास गर्नेगरी रु ५० लाख बैनासहित सम्झौता भएको पार्टी कार्यालयले जनाएको छ ।

     

    "धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता " मूल नाराका साथ २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ मनाइँदै

    काठमाडौँ । "धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता "  मूल नाराका साथ  २२औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ मनाइँदै छ ।  प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो । यसको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक लगायतको महत्व रहेको छ। यसर्थ, धान एक बाली मात्र नभई औसत नेपालीको जिवन पद्दति पनि हो। धानको यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।

    माग सम्बोधन भएपछि सुनचाँदी व्यवसायीहरूले फेरि आन्दोलन सुरु गरे

    काठमाडौँ । सरकारले माग सम्बोधन नगरेपछि सुनचाँदी व्यवसायीहरूले फेरि आन्दोलन सुरु गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका हुन् ।

     

    बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका छन् । ५ असारदेखि आन्दोलन स्थगित गरेका सुनचाँदी व्यवसायीहरूले फेरि आन्दोलन सुरु गरेका छन् ।सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने आश्वासन दिएको थियो । त्यसैले उनीहरूले आन्दोलत स्थगित गरेका थिए ।  उनीहरू माग पूरा नभएपछि पुनः आन्दोलनमा उत्रिएका हुन् ।

    डिजिटल स्वास्थ्यमा नेपालको पहलबारे मन्त्री पौडेलद्वारा अन्तर्राष्ट्रिय सम्मेलनमा जानकारी

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डको बैंककमा सम्पन्न संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्य प्रणाली सुदृढीकरणका प्रयासहरूबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका छन्।

     

    सम्मेलनमा बोल्दै मन्त्री पौडेलले स्वास्थ्यसम्बन्धी छरिएका तथ्यांकलाई एकीकृत गर्न नेपालले नीति निर्माणको स्तरमै पहल थालिसकेको उल्लेख गरे। उनले नागरिक परिचयपत्रमा जनसङ्ख्या तथा स्वास्थ्यसम्बन्धी विवरण समेट्ने काम अगाडि बढाइएको बताए।

    प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, संसद र भ्रमणसम्बन्धी विषयमा छलफल हुने

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो १ बजे मन्त्रिपरिषद बैठक डाकेका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ, प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

     

    बैठकमा संसदमा प्रस्तुत गरिने विधेयकहरू, सरकारी नियुक्तिहरू, र प्रधानमन्त्रीको आसन्न स्पेन भ्रमणसहित समसामयिक विषयवस्तुहरूमा छलफल हुने बताइएको छ। स्पेन भ्रमणको निर्णय यसअघि नै मन्त्रिपरिषद बैठकमार्फत स्वीकृत भइसकेको हो।

    विपद्को बेला अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउन सांसदहरूको जोड

    ललितपुर । संघीय संसद्का सांसदहरूले  विपद्को समयमा अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्ने बताएका छन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले ललितपुरमा आयोजना गरेको 'विपद् संवेदनशील सामाजिक सुरक्षा: अवस्था र आवश्यकता' विषयमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा बोल्दै सांसदहरूले त्यस्तो बताएका हुन् ।

     

    सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले विपद् र जलवायु संकटका प्रभावले आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायहरू जस्तै गरिब, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांङ्गता भएका व्यक्ति र सीमान्तकृत जनसमुदायहरू—माथि असमान रूपमा प्रत्यक्ष प्रभाव पारेको बताए ।

    डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

    काठमाडौँ . स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउनुभएको छ । थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्याङ्क छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नागरिक परिचयपत्रमा जनसङ्ख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्याङ्क लिन नेपालले काम गरिरहेको छ ।” मन्त्री पौडेलले एकीकृत तथ्याङ्क अभावमा नीति निर्माणमा देखिएको समस्या अब व्यवस्थित हुने अपेक्षा गरिएको उल्लेख गर्दै डिजिटल स्वास्थ्य सुधारमा अन्तर मन्त्रालयस्तरीय सहकार्य अझ व्यापक पार्ने बताउनुभयो ।

    १० करोडको बैंकिङ कसुर अभियोगमा 'काठमाडौँ भ्यू टावर'का व्यवसायी मनोज भेटवाल पक्राउ

    काठमाडौँ। पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको ‘काठमाडौँ भ्यू टावर’का व्यवसायी मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ। उनी अनामनगरबाट शुक्रबार पक्राउ परेका हुन्, जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई जानकारी दिएका छन्।

     

    भेटवाल इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक हुन्। उनीमाथि १० करोड रुपैयाँको बैंकिङ कसुरसम्बन्धी जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौँमा दर्ता भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।

    श्रीकृष्णको वृन्दावन आगमनको सम्झना: इस्कोनको रथयात्रा राजधानीमा

    काठमाडौं।अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) ले आज राजधानीमा जगन्नाथ रथयात्रा महोत्सव आयोजना गर्दैछ। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा विशेष समारोहसहित सुरु हुने यो धार्मिक उत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् जगन्नाथको पूजा र आरती गरी गर्ने कार्यक्रम रहेको छ।

     

    हरेक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन आयोजना गरिने यस रथयात्राको ऐतिहासिक सन्दर्भ द्वापर युगसम्म पुग्छ, जब गोपिनीहरूले श्रीकृष्णलाई द्वारकाबाट वृन्दावन ल्याएको सम्झनामा यात्रा गरिन्छ। नेपालमा सन् १९७७ देखि सुरु भएको यो परम्परा अहिले १६५ देशमा फैलिएको इस्कोनका केन्द्रीय सचिव रुपेश्वर गौरवदासले जानकारी दिएका छन्।

    एफएओ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री डा. आरजु राणा इटाली प्रस्थान

    काठमाडौं।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा रोम, इटालीमा आयोजना हुने ४४औं सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छिन्। सम्मेलन यही जुन २८ देखि जुलाई ४ सम्म चल्नेछ।

     

    सम्मेलनको प्रमुख सत्रका साथै अन्य उच्चस्तरीय छलफलहरूमा मन्त्री राणाले नेपालको धारणा राख्नेछिन्। उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका स्थायी प्रतिनिधि र सम्बन्धित मन्त्रालयका अधिकारीहरू सहभागी छन्।

    बरुण हाइड्रोपावरले असार ३१ देखि १००% हकप्रद सेयर निष्कासन गर्ने, आवेदन साउन १९ सम्म खुला

    काठमाडौं। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो हालको चुक्ता पुँजी दोब्बर पार्ने लक्ष्यसहित असार ३१ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता सेयर जारी गर्दैछ, जसको कुल मूल्य ५३ करोड ५८ लाख रुपैयाँ बराबर हुने बताइएको छ।

     

    यो हकप्रद सेयरको हकदार बन्न जेठ २१ गतेसम्म नाम दर्ता भएका शेयरधनीहरू योग्य हुनेछन्, किनभने कम्पनीले बुक क्लोज मिति जेठ २२ गते तोकेको थियो। आवेदन दिने समय साउन १९ गतेसम्म कायम रहनेछ।

    सन नेपाल लाइफको हकप्रद बाँडफाँट सकियो, २ लाखभन्दा बढी सेयर लिलामीमा जाने

    काठमाडौं ।सन नेपाल लाइफ इन्सुरेन्सले बिक्रीका लागि ल्याएको २७ प्रतिशत हकप्रद सेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले बिक्रीमा राखेको १ करोड ६ लाख ९६ हजार ३२० कित्तामध्ये १ करोड ४ लाख ७१ हजार ५९२ कित्ताका लागि आवेदन प्राप्त भएको छ।

     

    यस अनुसार कुल २ लाख २४ हजार ७२८ कित्ता सेयर बिक्री हुन सकेनन्, जसले गर्दा अब ती बाँकी सेयर लिलामी प्रक्रियामार्फत निष्कासन गरिनेछ। कम्पनीले उक्त हकप्रद सेयर वैशाख ३० गतेदेखि असार ३ गतेसम्म आवेदनका लागि खुला गरेको थियो।

    शुक्रबार छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ४०० रुपैयाँ कायम

    काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

     

    यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँ कायम भएको छ

    देशभर मनसुनको प्रभाव : पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्दा सतर्कता अपनाउन आग्रह

    काठमाडौँ । अहिले देशभर मनसुनी प्रणाली सक्रिय रहँदा अधिकांश स्थानको मौसम बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली र थुप्रै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

     

    कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भूभागमा मौसम साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने अनुमान गरिएको छ।

    आन्दोलनकारी शिक्षकहरूको सरुवा असंवैधानिक भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको विरोध

    काठमाडौँ ।आन्दोलनमा सक्रिय रहेका शिक्षकहरूको सरुवा तथा प्रधानाध्यापकहरूको हेरफेरप्रति आपत्ति जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षामन्त्री रघुजी पन्तलाई गम्भीर ध्यानाकर्षण गराएको छ। संगठनले भेदभावपूर्ण निर्णयमार्फत शिक्षण वातावरणमै असर पार्ने कार्य भइरहेको भन्दै कडा असन्तुष्टि प्रकट गरेको छ।

     

    शिक्षामन्त्रीलाई लक्षित गर्दै संगठनका अध्यक्ष हंस शाहीले “यो सानो उदाहरण हो भनेका थियौं, शिक्षा मन्त्रीज्यूलाई!” भन्दै चेतावनी दिएका छन्। संगठनले शिक्षा क्षेत्रमा राजनीतिक र व्यक्तिगत पूर्वाग्रहले निर्देशित निर्णयलाई असंवैधानिक र अराजक ठहर गर्दै ती खारेज गर्न सरकारसँग माग गरेको छ।

    पर्सामा ३१९ किलो चरेससहित ट्रक चालक पक्राउ, ट्रकबाट एक लाख ९२ हजार नगद पनि बरामद

    वीरगञ्ज  ।पर्सा प्रहरीले तीन सय १९ किलोग्राम चरेससहित ट्रक चालकलाई पक्राउ गरेको छ । पर्सा प्रहरीले काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश२–०३–००१ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध चरेस ल्याउँदै गरेका थाहा नगरपालिका–१२ मकवानपुरका ३६ वर्षे बुद्धिबहादुर स्याङ्तानलाई बुधबार पक्राउ गरेको हो । 

     

    पर्सा प्रहरी प्रमुख गौतम मिश्रले विशेष सूचनाका आधारमा धादिङ जिल्लाबाट लागुऔषध चरेस लोड गरेर आएका चालकलाई वीरगञ्ज महानगर–२१ परवानीपुरबाट पक्राउ गरेको जानकारी दिनुभयो ।

    आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 

     

         

    युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ६७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । 

     

     

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१  पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ र बिक्रीदर १०० रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा तोकिएको छ । 

     

     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij