Logo

Jun 29 2025 | २०८२, असार १५गते

Jun 29 2025 | २०८२, असार १५गते

images

प्रधानमन्त्री ओली ‘विकासका लागि वित्त’ सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान

प्रधानमन्त्री ओली ‘विकासका लागि वित्त’ सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा आयोजना हुन लागेको चौथो संयुक्त राष्ट्रसङ्घीय "विकासका लागि वित्तसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (FFD-4)" मा सहभागी हुन २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गर्नुभएको छ। सम्मेलन यही असार १६ देखि १९ गतेसम्म सञ्चालन हुनेछ।

    प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, मुख्यसचिव एकनारायण अर्याल लगायत उच्चपदस्थ सरकारी अधिकारी र सुरक्षा निकाय प्रमुखहरूले बिदाइ गरेका थिए।

    उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विशेष निमन्त्रण दिएका हुन्। सम्मेलनमा विश्वका सरकार प्रमुखहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्था, वित्तीय निकाय, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय प्रतिनिधिहरूको सहभागिता रहनेछ।

    परराष्ट्र मन्त्रालयका अनुसार, नेपालले सम्मेलनमा अल्पविकसित, साना तथा टापु राष्ट्रहरूका विकास चुनौतीहरूबारे आफ्नो धारणा राख्नेछ। साथै, दिगो विकासका लागि आवश्यक लगानी तथा आर्थिक स्रोत जुटाउने विषयमा केन्द्रित छलफल हुनेछ।

    प्रधानमन्त्री ओलीले सम्मेलनको क्रममा विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट गर्नुका साथै समकक्षी पेड्रो सान्चेजसँग औपचारिक वार्ता पनि गर्नुहुनेछ।

    प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ लगायत सहभागी छन्।

    प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij