Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

इरानबाट एक सातामा ८८ हजारभन्दा बढी कागजातविहीन अफगानी आप्रवासी देश निकाला

इरानबाट एक सातामा ८८ हजारभन्दा बढी कागजातविहीन अफगानी आप्रवासी देश निकाला

  • काबुल । इरानले एक साता भित्र ८८ हजारभन्दा बढी कागजातविहीन अफगानी आप्रवासीलाई जबर्जस्ती अफगानिस्तान फर्काएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) ले दिएको जानकारीअनुसार, फर्काइएका मध्ये ठूलो संख्यामा परिवारसहित यात्रा गरिरहेका थिए।

    IOM को २०२५ जुन २८ मा सार्वजनिक अद्यावधिक विवरणअनुसार, जुन १८ देखि २६ सम्म ८८ हजार ३०८ अफगानी नागरिकलाई इरानले सीमा नाघेर देश निकाला गरेको हो। उनीहरूमध्ये ५५ प्रतिशत जबर्जस्ती निकालिएका हुन् भने ६४ प्रतिशत पारिवारिक समूहमा यात्रा गरिरहेका थिए।

    संस्थाका अनुसार, जबर्जस्ती निकालिएकामध्ये केवल ११ प्रतिशतले मात्र मानवीय सहायता प्राप्त गरेका छन्। "स्रोतको अभावले गर्दा अत्यावश्यक सेवासमेत उपलब्ध गराउन कठिन भएको छ," IOM को प्रतिवेदनमा उल्लेख छ।

    यसअघि जुन १० देखि १७ सम्म ३२ हजार ८४४ जना अफगानीलाई फिर्ता गरिएको थियो। पछिल्लो एक हप्तामा सङ्ख्या करिब तीनगुणाले बढेको हो।

    विश्व स्वास्थ्य संगठन (WHO) को तथ्यांक अनुसार पनि अफगानिस्तान फर्किनेको सङ्ख्या बढ्दो छ। जुन १ देखि १५ सम्म इरान र पाकिस्तानबाट ७१ हजारभन्दा बढी अफगानी नागरिक स्वदेश फर्किएका थिए।

    IOM र विभिन्न मानवअधिकार संस्थाहरूले अफगानिस्तान फिर्ता गरिएकाहरूका लागि आपतकालीन मानवीय सहायता माग गरेका छन्। तीमध्ये अधिकांश व्यक्ति वर्तमान परिस्थितिमा अत्यधिक जोखिममा रहेको उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij