Logo

Jun 29 2025 | २०८२, असार १५गते

Jun 29 2025 | २०८२, असार १५गते

images

एमालेको नेतृत्व सङ्कटमा ‘विद्या कार्ड’: ओलीको योजना कि विकल्प?

एमालेको नेतृत्व सङ्कटमा ‘विद्या कार्ड’: ओलीको योजना कि विकल्प?

  • काठमाडौं ।नेकपा एमालेभित्रको नेतृत्व उत्तराधिकार बहसमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम आकस्मिक रूपमा चर्चामा आएको छ। अध्यक्ष केपी शर्मा ओलीपछिको सम्भावित नेतृत्वका लागि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको आन्तरिक प्रतिस्पर्धाबीच भण्डारीको सक्रिय राजनीति फर्किने घोषणा नयाँ मोडको रूपमा आएको हो।

    एमाले अध्यक्ष ओलीको निकटस्थ मानिने यी दुई नेतामध्ये पौडेल सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री छन् भने पोखरेल पार्टीको सांगठनिक नेतृत्वमा छन्। एमालेमा ७० वर्षे उमेरहद लागू भएसँगै आगामी महाधिवेशनमा ओली उम्मेदवार नबन्ने अडकलहरू भइरहेका बेला भण्डारीको उपस्थितिले नेतृत्व प्रतिस्पर्धा पेचिलो बनेको छ।

    शनिबार जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दै एमालेमै सक्रिय रहने घोषणा गरिन्। पूर्वराष्ट्रपतिले उक्त अवसरमा, “अब म एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु,” भन्ने भनाइ सार्वजनिक गरिन्।

    ओलीकै योजना भण्डारीमार्फत गुट नियन्त्रण?

    एमाले स्रोतहरूका अनुसार भण्डारीको राजनीतिमा पुनरागमन ओलीको योजनाअनुसारै हो। अध्यक्ष ओलीले पौडेल र पोखरेलबीच बढ्दो गुटबन्दीलाई समेट्न भण्डारीलाई एक ‘सहज विकल्प’का रूपमा अघि सारेको बताइएको छ।

    “ओलीविरुद्ध भण्डारी कुनै हालतमा जान सक्दिनन्। अहिलेको रणनीति भनेकै भण्डारीलाई अग्रपंक्तिको नेताको रूपमा स्थापित गर्नु हो,” एमालेका एक नेताले भने, “पार्टीमा वैकल्पिक नामको रूपमा भण्डारी उभ्याउने, तर अन्ततः ओलीकै पकड कायम राख्ने योजना हो।”

    ‘नेकपा’ पुनःस्थापनाको संकेत?

    भण्डारीको सक्रियतासँगै ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको सम्भावित सहकार्य र ‘नेकपा’ पार्टी पुनःस्थापनाको सम्भावनाबारे पनि चर्चा सुरु भएको छ। एमालेभित्र मात्रै नभइ बृहत्तर वाम एकता सम्भावनाको संकेतका रूपमा पनि भण्डारीको नाम हेरिएको छ।

    कार्यक्रममा ओलीको व्यंग्य मिश्रित समर्थन

    शनिबारको कार्यक्रममा भण्डारी विशिष्ट अतिथि र ओली प्रमुख अतिथि थिए। तर, ओलीले स्पेन भ्रमणका कारण हतारमा कार्यक्रम छोड्दै भण्डारीको सम्बोधन नसुन्ने बताए। सम्बोधनका क्रममा उनले भण्डारीबारे व्यंग्य गर्दै भने, “विद्याजीले राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छ, आजमात्र होइन, पहिलेदेखि नै सुन्दै आइएको हो।”

    एमालेभित्र नेतृत्वको बहसमा विद्यादेवी भण्डारीको प्रवेशले पार्टी राजनीतिमा नयाँ तरंग ल्याएको छ। ओलीले देखाएको झैं असहजता नाटक हो कि भण्डारी साँच्चै नेतृत्वको विकल्प बन्नेछिन् भन्ने प्रश्न अहिले राजनीतिक वृत्तमा प्रमुख विषय बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij