Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

एमालेभित्र दुई धारको स्पष्ट संकेत, विद्या भण्डारीको सक्रियता पछि नेतृत्व प्रतिस्पर्धा तीव्र

एमालेभित्र दुई धारको स्पष्ट संकेत, विद्या भण्डारीको सक्रियता पछि नेतृत्व प्रतिस्पर्धा तीव्र

  • काठमाडौं । नेकपा एमालेको आन्तरिक राजनीति असार १४ यताको घटनाक्रमपछि दुई स्पष्ट धारमा ध्रुवीकृत हुन थालेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमाले नेताहरूबीच नयाँ खालको समूहगत ध्रुवीकरण देखिएको हो।

    पार्टी अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीच नेतृत्वको प्रतिस्पर्धा देखिने संकेत एमालेभित्रको पदाधिकारी तहमै देखिएको छ। गत कार्यक्रममै केही पदाधिकारीहरू आफ्ना धार स्पष्ट पार्दै दुई कित्तामा विभाजित देखिए।

    एमालेभित्र १९ पदाधिकारी छन्। पार्टी स्रोतका अनुसार, हालसम्म ९ जना विद्या भण्डारी पक्षमा, ७ जना ओली पक्षमा, र २ जना तटस्थ देखिएका छन्। सचिव टोपबहादुर रायमाझी निलम्बनमा रहेका कारण गणनामा परेका छैनन्।

    भण्डारी पक्षको अग्रपंक्तिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन्, जसले ओलीको लाइनलाई सार्वजनिक रूपमा चुनौती दिँदै आएका छन्। उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, र अष्टलक्ष्मी शाक्य पनि भण्डारी पक्षमा रहेको आँकलन गरिएको छ। यी नेताहरू अघिल्लो विभाजनमा माधव नेपालसँग नगए पनि ओलीको निर्णयहरूप्रति आलोचनात्मक देखिँदै आएका छन्।

    सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, र रघुवीर महासेठलाई भण्डारीनिकट भनिए पनि उनीहरूको हालको धार पूर्ण स्पष्ट छैन। भट्टराई संस्थापन लाइनमा देखिएका छन् भने, विष्ट र विश्वकर्मा अझै मौन छन्। महासेठको सन्दर्भमा उनी पहिले वामदेव गौतमनिकट मानिए पनि पछिल्लो समयमा गुट परिवर्तन भएको चर्चा छ।

    ओली पक्षमा खुला रूपमा उभिएका नेताहरूमा उपाध्यक्ष रामबहादुर थापा, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। पोखरेलले त काठमाडौँमा भण्डारीले राजनीतिमा पुनः प्रवेशको घोषणा गरिरहँदा पोखरामा उभिएर आलोचना गरेका थिए। सचिव पद्मा अर्याललाई पनि ओली समूहकै सचिव मानिएको छ।

    विष्णु पौडेल र लेखराज भट्ट भने अहिले मौन छन्। पौडेललाई पहिला भण्डारीनिकट भनिए पनि अर्थमन्त्री बनेपछि उनी निष्क्रिय देखिएका छन्। अर्याल पनि पहिले भण्डारीपक्षमा देखिए पनि पछिल्लो समय ओली समूहसँग नजिकिएको एमाले स्रोत बताउँछ।

    विद्या भण्डारीको सक्रियताले एमालेभित्र गुटीय ध्रुवीकरण थप चर्किएको छ। ओलीपछिका नेताको नेतृत्वका लागि दौड सुरु भएको स्पष्ट देखिन्छ, र भण्डारी पक्षको खुला रणनीति यसमा निर्णायक बन्न सक्ने विश्लेषकहरूको ठम्याइ छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij