Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार १६ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् असार १६ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १६ सोमबार  । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू..

     

    सिटिजन्स म्युचुअल फण्ड–२ ले जेठ मसान्तसम्म २ करोड २६ लाख रुपैयाँभन्दा बढी नाफा कमायो

    काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले आर्थिक वर्षको जेठ मसान्तसम्म २ करोड २६ लाख रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएको छ। वैशाख मसान्तसम्म फण्डको नाफा २ करोड १८ लाख रुपैयाँभन्दा बढी थियो, जुन पछिल्लो महिनामा वृद्धि भएको देखिएको छ।

    फण्डले वैशाख मसान्तसम्म ३ करोड १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकोमा जेठ मसान्तसम्म यो आम्दानी ३ करोड ३२ लाख रुपैयाँभन्दा बढी पुगेको छ। खर्चतर्फ हेर्दा, वैशाख मसान्तसम्म ९६ लाख ७५ हजार रुपैयाँ खर्च गरिएकोमा जेठ मसान्तसम्म १ करोड ५ लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ।

    शेयर बजार : नेप्से परिसूचकमा ११.९९ अंकले बढेर २६३४.२७ विन्दुमा, ६ अर्ब ३८ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ११.९९ अंकले बढेर २६३४.२७  बिन्दुमा आएको छ । आज  ६ अर्ब ३८  करोड बढीको सेयर कारोबार भएको छ ।

     

    ३ वटा कम्पनीको सेयर भाउ ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएका छन् ।यस दिन ३ सय १८ कम्पनीको १ करोड ४१ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा साहास ऊर्जा अग्रस्थानमा रहेको छ । यसको ३६ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइड्रोपावर र बुटवल पावर कम्पनी रहेका छन् ।

    तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण तीव्र, ६७% भौतिक प्रगति

    तनहुँ । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यो आयोजना नेपालमा पहिलोपटक अत्याधुनिक ‘कङ्क्रिट बाँध’ प्रविधिको प्रयोगमा आधारित आयोजनाका रूपमा अघि बढेको हो।

    आयोजनाका अनुसार, निर्माणाधीन मुख्य बाँधको उचाइ १४० मिटर हुनेछ। हालसम्म औसत १० मिटर उचाइसम्म कङ्क्रिट ब्लकहरू राखिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार, “बाँध निर्माणमा प्रयोग हुने मास कङ्क्रिटिङ प्रक्रियामा तापमान सन्तुलन अत्यन्त संवेदनशील विषय भएकाले उन्नत प्रविधिबाट तापमान नियन्त्रण गरिँदै काम भइरहेको छ।”

    तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर निष्कासन सुरु

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ, जसअनुसार हालको १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर प्रदान गरिनेछ। कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा कुल ४० लाख कित्ता शेयर निष्कासन गर्दैछ, जसको कुल रकम रु ४० करोड हुनेछ।

    यो हकप्रद निष्कासनका लागि कम्पनीले २०८२ जेठ ५ गते बुकक्लोज गरेको थियो। तसर्थ, जेठ ४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीहरूले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।

    विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

    सेभिया । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।

     

    प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीले यस प्रकारको स्वतन्त्र आयोगले अल्पविकसित र साना मुलुकको विकासका लागि देखिएको लगानीको खाडल पूर्ति गर्न योगदान दिनसक्ने बताउनुभयो ।

    युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरू उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्ने बताउनुभएको छ ।

     

    राष्ट्रिय युवा परिषद्को आयोजनामा आज काठमाडौँमा सुरु भएको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । 

    ‘युवाका लागि अबको निकासः उद्यमशीलता, रोजगारी र सीप विकास’ भन्ने नारासहित आयोजित सम्मेलनमा उपराष्ट्रपति यादवले युवाहरूको साहस, सृजनशीलता र सम्भावनालाई नेपालको उज्ज्वल भविष्यको आधारका रूपमा उल्लेख गर्नुभयो । “नेपालको कुल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने युवाशक्ति आजको यथार्थमात्र होइन, उज्यालो भविष्यको सुनिश्चितता पनि हो”, उहाँले भन्नुभयो, “युवाहरू नवप्रवर्तनशील सोच र उद्यमशील दृष्टिकोणका साथ राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ ।”

    धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

    कैलाली । आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ ।

     

     

    धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिनुभयो । 

     

    उहाँका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उहाँसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।

    आगामी मौद्रिक नीतिमार्फत् बैंकिङ क्षेत्रमा सुधार गर्न बैकर्स संघको माग

    काठमाडौँ। नेपाल बैंकर्स संघले आधारदर(बेसरेट)  मा सुधार र ब्याज दर अन्तर(स्प्रेड रेट)   हटाउन पर्ने माग गरेको छ ।संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई दिएको सुझावमा यस्तो माग गरिएको हो ।बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा दिने ब्याज र कर्जा प्रवाह गर्दा लिने ब्याजबीचको अन्तर दरलाई  स्प्रेड रेटको रुपमा बुझिने गर्छ । यो स्पेड रेटले गर्दा बैंकहरुले स्वतन्त्र रुपमा ब्याजदर निर्धारण गर्न नपाएकोले पनि समस्या भएको बैंकरहरूको गुनासो छ ।उनीहरूका अनुसार पछिल्लो समय बैंकिङ क्षेत्रको मार्जिन घट्दो क्रममा छ । बैंकको नाफा घट्नुको एउटा कारण स्प्रेड रेटलाई पनि लिइएको छ ।  त्यही भएर यसलाई हटाउन माग गरिएको छ । अहिलेको ब्याजदर अन्तरको व्यवस्था व्यवस्था खुला बजार विपरी रहेको छ ।

    बैंक अफ इन्टरनेशनल सेटलमेन्ट्सको ९५औँ वार्षिक बैठकमा गभर्नर डा. पौडेल सहभागी

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक अफ इन्टरनेशनल सेटलमेन्ट्सको (बिस)९५औँ वार्षिक बैठकमा सहभागी भई वितीय क्षेत्रका विषयमा सरोकारवाला सहभागीहरूसँग छलफल गरेका छन् ।सन् १९३०मा स्थापित ६३ देश सहभागी अन्तर्राष्ट्रिय वित्त संस्था बिसमा सहभागी गभर्नरहरूसँग डा. पौडेलले छलफल गरेका हुन् ।डा. पौडेलले ‘सीपीएमआई इमर्जिङ मार्केट्स एन्ड डिभलपिङ इकोनोमिज बिल्डिङ ग्याप्स, फिनान्सियल इन्क्लुजन, रिजनल इन्टिग्रेशन एन्ड क्रस बोर्डर पेमेन्ट्स’ तथा ‘बिस इनोभेशन हब सेमिनार एआई एन्ड सेफ्टी’ विषयक अन्तरक्रियामा सहभागिता जनाएको राष्ट्र बैंकले जनाएको छ ।

     
    जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता: आइओएम

    इस्लाम काला ।जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले उनीहरूलाई स्वदेश फर्किन दिइएको निर्देशन अनुसार इरान छोडेका छन् ।  तीमध्ये अधिकांशलाई निर्वासित गरिएको हो भने उनीहरू तेहरानको निर्धारित समयसीमा अघि फिर्ता हुने क्रम  बढेको संयुक्त राष्ट्रसङ्घको आप्रवासन मामिला हेर्ने निकायले सोमबार बताएको छ । 

     

    जुन महिनाको २८ गते सम्म दुई लाख ३३ हजार ९४१ व्यक्तिहरू इरानबाट अफगानिस्तान फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङंगठनका प्रवक्ता अवन्द अजिज अघालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।  सन् २०२५ जनवरीदेखि जुन २८ सम्म छ लाख ९१ हजार ४९ जना मानिसहरू फर्केको र उनीहरुमध्ये ७० प्रतिशतलाई जबरजस्ती फिर्ता पठाइएको उहाँले बताउनुभयो ।

    भारत–पाकिस्तान विवादले फिल्म र सङ्गीतप्रतिको साझा भावनामा प्रभाव

    लाहोर ।
    भारत र पाकिस्तानका आणविक सम्पन्न सेनाहरूबीचको द्वन्द्वले दुई देशबीचको साझा सांस्कृतिक भावनामा चोट पुर्‍याएको छ । दुई देशबीच राजनीतिक रूपमा द्वन्द्व लामो समयदेखिको निको पार्न नसकिएको घाउ बनेको भएपनि त्यहाँका नागरिकको फिल्म र सङ्गीतप्रति साझा भावना रहँदै आएको देखिन्छ । 

     

    दुई देशबीच सबैभन्दा खराब मानिएको मे महिनाको सुरुमा भएको घातक लडाईंले कलाकारहरूको मनोविज्ञानलाई प्रभावित गरेको अनुभव भएको छ । नेताहरूबीचको वैमनस्यताबाट फिल्मी र साङ्गीतिक क्षेत्र पनि अछूतो रहन सकेन ।

    सर्वोच्चमा सिफारिस न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ सकियो

    काठमाडौँ ।  संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको सुनुवाइ सम्पन्न गरेको छ । यस्तै न्यायपरिषद्का एक सदस्यको पनि सुनुवाइ सकिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्य महेश नेपालको सुनुवाइ गरेको हो । समितिले आइतबार सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ गरेको थियो ।

    असोजसम्म चितवन निकुञ्जमा जिप सफारी बन्द

    चितवन। चितवन राष्ट्रिय निकुञ्जले आगामी असार १५ गतेदेखि जिप सफारी सेवा बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय प्रजननकालको सुरुआत र वर्षायामका कारण जंगली जनावरको सुरक्षा र पर्यटकहरूको सुरक्षालाई मध्यनजर गर्दै गरिएको हो।

     

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, वर्षायाममा कच्ची र उबडखाबड बाटोहरूमा जिप चलाउन कठिनाइ हुने र सडकहरू बिग्रिने हुँदा हरेक वर्ष यो समयमा सफारी सेवा बन्द गरिन्छ। साथै, वर्षाको समयमा जंगली जनावरहरूको प्रजननकाल हुने भएकाले उनीहरूको बासस्थानमा मानव गतिविधि कम गर्न यो कदम चालिएको हो।

    बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई रु पाँच लाख क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

     

    यही असार १३ गते बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी गराउनुभएको हो । 

    मन्त्री गुरुङका अनुसार सार्वजनिक खरिद निर्णयको संक्षिप्त व्यहोरा समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूर्वसहसचिवहरू रोहितकुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी विदेशी विनिमय ९नियमित तथा व्यवस्थित गर्ने० विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने र सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृति दिइएको छ ।

    विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल

    काठमाडौँ । विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबीच छलफल भएको छ । 

     

    सहरी विकास मन्त्रालयमा आज भएको छलफलमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्नसक्ने कामका बारेमा छलफल भएको हो । आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचना प्रभावकारीरूपमा प्रभाह गर्ने निर्णय गरेको सहरी विकास मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य बीमा धारकले अन्त उपचार गराउन रेफर चाहिने

    काठमाडौँ । स्वास्थ्य बीमा धारकले अन्त उपचार गराउन रेफर चाहिने प्रावधान कायमै रहेको छ । असार १५ गते स्वास्थ्य बीमा बोर्डले  सार्वजनिक गरेको सूचनाले भ्रम परेको विषयमा अर्को सूचना जारी गर्ने तयारी भइरहेको जनाइएको हो ।असार १० गतेको मिति राखी जारी गरिएको सूचनामा राखिएको ‘ प्रथम सेवा बिन्दु हटाइने सम्बन्धमा’ले भ्रम छरेकोले अर्को सूचना सार्वजनिक गर्ने तयारी अधिकारीहरूले गरेका छन् ।

     

    सूचनाको व्यहोराले भन्छ– प्रमुख सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था भएकोले २०८२ साउन १ गतेदेखि पहिला प्रथम सेवा विन्दुको रुपमा रहेका सामुदायिक र निजी अस्पताल अब प्रथम सेवा विन्दुको रुपमा रहने छैनन् ।’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    भादगाउँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)२०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् । 

     

     

    चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिनुभएकी उनीलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो  । हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थाल्नुभयो । नतिजा आउँदा खुसीको सीमा रहेन । उहाँ सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित उत्तीर्ण हुनुभयो ।

    विलासिता कर हटाउन सुनचाँदी व्यवसायीहरूको आन्दोलन जारी

    काठमाडौंँ ।सुनचाँदी व्यवसायीहरूले विलासिता कर हटाउन सोमबार पनि आन्दोलन देशभर जारी राखेका छन् । उनीहरूले  दैनिकरूपमा तोक्दै आएका सुनचाँदीको बजार भाउ तोक्न छोडेका हुन् । रानीपोखरीको छेउमा सुनचाँदी व्यवसायीहरूले प्रतीकात्मकरूपमा पाल टाँगेर रिले अनसन जारी राखेका छन् ।

     

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रका उद्योगी व्यवसायीका समस्या बजेटमा अल्झिन पुगेको भन्दै त्यसलाई सुधार गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटेर दिएको सुझावपत्र र आग्रहमा सुनचाँदी व्यवसायीका विलासिता करसम्बन्धी माग पनि समावेश गरिएको छ ।

    मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प

    काठमाडौं । मुगुको कोटडाँडा  आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

     

    यही असार १५० मा मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो ।नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

    सम्भावित बाढी, पहिरो र असहज मौसमका लागि महाशाखाको सतर्कता आग्रह

    काठमाडौं।मनसुनी प्रणाली सक्रिय रहेकाले देशभरको मौसम पूर्णरूपमा प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

     

    महाशाखाले सोमबार देशभर आकाश सामान्यदेखि पूर्णरूपमा बदली रहने प्रक्षेपण गरेको छ। गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा वर्षाको सम्भावना बढी रहेको जनाइएको छ।

    सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
     
     त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।
     
         अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२  पैसा र बिक्रीदर ८९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०० रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij