काठमाडौँ । नेकपा माओवादी केन्द्रले किसानहरूलाई मलखाद समयमै उपलब्ध गराउन माग गरेको छ ।बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी समसामयिक राजनीतिक, सामाजिक र आर्थिक विषयमा धारणा सार्वजनिक गर्दै माओवादी केन्द्रले यस्तो माग गरेको हो ।
समसामयिक विषयवस्तु र वर्तमान परिस्थितिबारे पार्टीको धारणा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा यस्तो भनिएको छ ‘ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी जे सहमति भएको थियो, सदनमा प्रस्तुत र पारित हुँदा भने फरक पारिएको छ । सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्याइयो ? परस्पर विरोधि प्रावधान कसले थप्यो ? यस्ता अनेकन गम्भीर प्रश्नहरु उठेका छन् । यस जालसाँजीपूर्ण घटनाले सिंगो संसद, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको छ । ’
माओवादीले यसलाई यो गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक प्रश्न भन्दै अगािड भनेको छ ‘ यसले सार्वभौम संसदको आत्मामाथि सिधै प्रहार गरेको छ । संसदमाथिको धोका, मानमर्दन र अपमान भएको यस घटनाले संविधानको मर्म र भावनामा गम्भीर चोट पु¥याएको छ । सुशासनका लागि कोशेढुङ्गा सावित हुने जनताको अपेक्षा विपरीत गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाँजीले संसदीय मूल्य–मान्यतालाई ठाडो चुनौतीसमेत दिएको छ ।विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुस्साहस होइन । यो सुनियोजित तरिकाले गरिएको धृष्टता हो । यसको जिम्मा नैतिक रुपमा संसदको नेतृत्व समेतले लिनुपर्दछ । यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्दछ ।’
शिक्षा विधेयक सम्बन्धमा माओवादीले भनेको छ ‘ नेपाल शिक्षक महासंघसँग संसदबाट असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भए तापनि हालसम्म पारित नहुनु दुःखद कुरा हो । सहमति कार्यान्वयन गर्नुपर्नेमा सरकारका सरोकारवाला पक्षहरुहरुबीचको अन्तरविरोध बाहिर देखिनुले सरकार सहमतिप्रति गम्भीर नभएको पुष्टि हुन्छ । शिक्षा विधेयक यथाशीघ्र पारित गरि शिक्षकहरुलाई पुनः आन्दोलनमा फर्कने वातावरण नबनाउन आग्रह गर्दछौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विपद व्यवस्थापन विभागलाई केन्द्र, प्रदेश र जिल्लास्तरमा विपद् परिचालन संयन्त्र निर्माण गर्न र स्थानीयस्तरमा घट्न सक्ने विपदजन्य घटनाहरुमा स्वयम्सेवकहरु परिचालन गरी उद्दार तथा राहतमा खट्न निर्देशन दिइसकेको छ । ’
यतिबेला देशमा मनसुन भित्रिसकेको र यसवर्ष अतिवृष्टि हुन सक्ने मौसम विद्हरुको भनाइलाई मध्यनजर गर्दै प्राकृतिक प्रकोपबाट हुन सक्ने जनधनको क्षतिको पूर्वानुमान गर्दै क्षति कम गर्न र विपद्का कारण जनधनको क्षतिको राहत तथा उद्दारको कार्यमा समयमै उचित र आवश्यक तयारी गर्न सरकारसँग माग गर्दै माओवादीले भनेको छ ‘ खेतीको समयमा कृषकहरुलाई आवश्यक पर्ने मल, विउँ सहज रुपमा उपलब्ध हुन नसक्दा किसानहरु मारमा परिरहेका छन् । तर सरकार यो समस्याप्रति घोर उदासिन र गैर जिम्मेवार देखिएको छ । मूलुकको कूल ग्राहस्थ उत्पादनमा प्रत्यक्ष प्रभाव पार्ने कृषि क्षेत्रको समग्र समस्या समाधान गर्दै कृषकहरुलाई आवश्यक पर्ने मल, विउँ तत्काल उपलब्ध गराउन सरकारसँग जोड्दार माग गर्दछौँ । ’ मध्यपूर्वको द्वन्द्वमा युद्धविरामको आधार कमजोर देखिएको सन्दर्भमा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाका लागि विश्वसनीय वातावरण सुनिश्चित गरिनुपर्दछ । सरकारले तत्काल कूटनीतिक पहल गरी स्वदेश फर्कन चाहने नेपालीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्कने व्यवस्था मिलाउन माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ताले २०८२ असार १८ गते जारी गरेको विज्ञप्तिमा आग्रह समेत गरिएको छ ।