
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १८ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित
काठमाडौँ ।‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभाअध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव सभामा पेस गर्दा सर्वसम्मतिले पारित भएको हो । आजकै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दहालले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्नुभयो । यस विधेयकउपर २१ जना सांसदले एक सय २३ बुँदामा संशोधन प्रस्ताव दर्ता गर्नुभएको थियो ।
विकास हाइड्रोपावर लिमिटेडले २९ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन सुरु
काठमाडौं। विकास हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) आजदेखि सार्वजनिक निष्कासनमा ल्याएको छ। यसअघि आयोजनाबाट प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्टै सेयर वितरण गरिसकेको कम्पनीले अब बाँकी रहेको सेयर सर्वसाधारणले खरिद गर्न सक्ने गरी निष्कासन प्रक्रिया सुरु गरेको हो।
कम्पनीले कुल ९० करोड ९१ लाख रुपैयाँभन्दा बढीको जारी पुँजीमध्ये ४९ प्रतिशत हिस्सा अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न नियामक निकायबाट अनुमति पाएको छ। यसमध्ये, ९ लाख ९ हजार १०१ कित्ता सेयर स्थानीयवासीलाई र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि पहिल्यै निष्कासन भइसकेको छ।
अब कम्पनीले ७० हजार ९१० कित्ता आफ्ना कर्मचारीका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर आम लगानीकर्ताका लागि सार्वजनिक गरेको हो।
महानगरको छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ मा, अनलाइन आवेदन २७ असारसम्म
काठमाडौं।काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि महानगरले प्रतिस्पर्धात्मक परीक्षामार्फत छात्रवृत्ति वितरण गर्ने योजना ल्याएको हो।
महानगरद्वारा प्रकाशित सूचनाअनुसार, इच्छुक विद्यार्थीहरूले १८ असारदेखि २७ असारभित्र अनलाइन फाराम भरी आवेदन दिन सक्नेछन्। यसका लागि महानगरपालिकाको आधिकारिक प्रवेश पोर्टल entrance.kathmandu.gov.np प्रयोग गर्न सकिने जनाइएको छ।छात्रवृत्तिको लागि प्रवेश परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। परीक्षा माध्यमिक तहको कक्षा १० को पाठ्यक्रममा आधारित हुने र कुल १०० अङ्कका बहुविकल्पीय वस्तुगत प्रश्नहरू सोधिनेछ।
विद्यालयगत छात्रवृत्ति कोटा, परीक्षा केन्द्र र अन्य विस्तृत विवरणबारे जानकारी पछि प्रकाशन गरिनेछ। थप जानकारीको लागि काठमाडौं महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np हेर्न अनुरोध गरिएको छ।
संवैधानिक नियुक्ति विवादमा आज सर्वोच्चको फैसला, ५२ पदाधिकारीको भविष्य टुङ्गिने
काठमाडौं।संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी विवादले लामो समयदेखि चर्चामा रहेको मुद्दामा आज सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गरेको छ। सन् २०७७ को माघ र २०७८ को असार महिनामा गरिएका दुई चरणका ५२ नियुक्तिविरुद्ध दायर १५ वटा रिट निवेदनमाथिको सुनुवाइ जेठ १ गते नै सकिएको थियो।
सुनुवाइपछि जेठ २८ गते नै फैसला सुनाउने भनिएको थियो, तर सो दिन अन्य मुद्दाहरूमा व्यस्तता देखाउँदै निर्णय स्थगित गरिएको थियो। त्यस दिन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितका पाँच न्यायाधीशले करिब ६ घण्टा लामो छलफल गरे पनि निर्णय सुनाउन सकेनन्। त्यसपछि मिति सारेर अन्ततः असार १८ गतेलाई फैसला दिनका लागि तय गरिएको हो।
यस विवादको जरो २०७७ वैशाख ८ मा सरकारले ल्याएको अध्यादेशसँग गाँसिएको छ, जसले संवैधानिक परिषद् ऐन, २०६६ मा संशोधन गरी बहुमत सदस्य उपस्थित भए निर्णय गर्न सकिने व्यवस्था गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि स्वार्थअनुकूल व्यवस्था ल्याएको आरोप लाग्यो। तीव्र विरोधपछि चार दिनमै सरकारले उक्त व्यवस्था वैशाख १२ मा अर्को अध्यादेशमार्फत खारेज ग¥यो।
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
काठमाडौँ। राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मङ्गलबार राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर भएको हो । सम्झौतापत्रमा राष्ट्रिय ग्रीड प्रसारण कम्पनीको प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर सागर श्रेष्ठ र एससी पावर कम्पनी प्रालि, सुर्मा सरोबर हाइड्रोपावर प्रालि, माता मालिका इनर्जी मल्टिपल प्रालि, सूर्य होल्डिङ प्रालि र हिमजल हाइड्रोपावर प्रालिका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको हो । ऊर्जामन्त्री खड्काले सम्झौताले नेपालले ऊर्जा क्षेत्रको विकासमा लिएको लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताउनुभयो ।
एलडिसीमा स्तरोन्नतिपछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकतामाथि नेपाल उद्योग वाणिज्य महासङ्घको जोड
काठमाडौँ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नतिपछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणका लागि विश्व समुदायसँग आग्रह गर्नुभएको छ । मङ्गलबार स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित ‘सशक्तीकरणका लागि लचिलोपनः दिगो एलडिसी स्तरोन्नतिका लागि जलवायु–स्मार्ट वित्तीयकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । अध्यक्ष ढकालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने विषय नेपालका लागि उपलब्धिसँगै चुनौतीपूर्ण रहेको पनि बताउनुभयो । उहाँले नेपालको एलडिसी स्तरोन्नतिका लागि तीन मापदण्डमध्ये दुई वटा पूरा भएको भए पनि प्रतिव्यक्ति आय स्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो । नेपालको वित्तीय आवश्यकता ठूलो र बढ्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसका लागि विश्वसमुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो ।
जोखिममा रहेका नेपालका चार हिमतालको सतह घटाउन झण्डै पाँच अर्ब अनुदान
काठमाडौँ । हरित जलवायु कोष (जीएसएफ)ले नेपालका जोखिममा रहेका चार हिमतालको सतह घटाउन झण्डै पाँच अर्बको अनुदान दिने भएको छ ।हरित जलवायु कोष (जीएसएफ) को पोपुआ न्यूगिनीको राजधानी पोर्ट मोरिस्बीमा बसेको ४२औँ बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।जीएसएफमा नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो र हिमताल विष्फोटनको जोखिमबाट धनजनको रक्षा’ शीर्षकको परियोजना स्वीकृत गरेको छ ।
बैठकमा भाग लिन पोर्ट मोरिस्बीमा पुगेका अतिकम विकसित मुलुकहरूको समूह (एलडीसी) को तर्फबाट जीएसएफको वैकल्पिक बोर्ड सदस्य डा. सिन्धुप्रसाद ढुङ्गानाले यस परियोजनमा हरित जलवायु कोषबाट तीन करोड ६२ लाख अमेरिकी डलर अर्थात् करिब पाँच अर्ब रुपैयाँ अनुदान प्राप्त हुने निर्णय भएको जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार विकसित मुलुकहरूबाट १२ र विकासशील मुलुकबाट १२ गरी कूल २४ सदस्य हुने बोर्डमा कुनै प्रस्ताव मतदानबाट र कतिपय प्रस्तावहरू बोर्ड सदस्यहरूकाबीच व्यापक छलफलपछि मात्र स्वीकृत हुने गर्छ । तर नेपालको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । यसबाट कोष र बोर्डको नेपालप्रति सदस्यता रहेको देखिन्छ । नेपालको राष्ट्रिय अनुकूलन योजनामासमेत गम्भीरतापूर्वक राखिएको हिमताल विष्फोटनको जोखिममा यस्ता दर्जनौंँ अरु परियोजनाको खाँचो छ ।
जनवरीदेखि जुन अन्त्यसम्म पौने ६ लाख पर्यटक भित्रिए, गतवर्षको तुलनामा आगमनमा कमी
काठमाडौँ । सन् २०२५को जनवरीदेखि जुनको अन्त्यसम्म नेपालमा पौने ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।पर्यटन बोर्डले जनाए अनुसार सन् २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल भित्रिएका हुन् । नेपालमा मासिक सरदरमा ९६ हजार २ सय ८१ जना पर्यटकले भ्रमण गर्ने गरेको देखिन्छ । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमनमा कमी भएको देखिन्छ ।
गत वर्ष सन् २०२४को पहिलो ६ महिनामा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए । सन् २०२५ को जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् । गत वर्षको यसै महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल आएका थिए ।जुन महिनामा नेपाल आउने पर्यटकमध्ये भारतबाट सबैभन्दा ठूलो संख्या पर्यटकहरू आएका छन् । भारतबाट ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । दोस्रो अमेरिकाबाट ९ हजार ६९६ पर्यटक नेपाल भित्रिएका छन् ।
६३ दिने भाखामा आज राष्ट्र बैंकले ६९ अर्ब निक्षेप संकलन गर्दै
काठमाडौँ । ६३ दिने भाखामा नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार १८ गते ६० अर्ब निक्षेप संकलन गर्न लागेको हो । यसअघि असार १५ गते ६३ दिने भाखामा ३० अर्ब रुपैयाँ उठाउन बोलकबोलकर्तालाई आह्वान गरेको थियो ।
राष्ट्र बैंकले ६३ दिने अवधिका लागि उठाउन लागेको ६० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले भदौ १८ गते फिर्ता पाइने जनाएको छ । राष्ट्रबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वितीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने जनाउँदै सूचना जारी गरिएको छ ।
प्रि ओपन सेसन : नेप्से सूचक ७.४९ अंकले बढ्यो
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ७.४९ विन्दुले बढेको छ । यससँगै सूचक २६६७.८९ अंकमा आएको छ । १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५७ कम्पनीको १४ हजार ८४९ कित्ता सेयर कारोबार भएको छ । कुल ९५ वटा कारोबार भएको छ । यो सेसनमा ३९ कम्पनीको मूल्य बढेको छ भने १६ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।
कृषि सामग्री कम्पनी बिर्तामोडद्वारा २० हजार मेट्रिक टन मल बिक्री वितरण
भद्रपुर । कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१ /८२ को हालसम्ममा २० हजार चार सय ४९ दशमलव २० मेट्रिक टन रसायनिक मल बिक्री वितरण गरेको छ ।
शाखाका प्रमुख दीपककुमार राजबंशीका अनुसार शाखालाई चालु आवमा प्राप्त १९ हजार छ सय १९ दशमलव ५० मेट्रिक टन र गत वर्षको मौज्दात एक हजार पाँच सय ५० मेट्रिक टन रसायनिक मल रहेको थियो । उहाँका अनुसार हाल पनि रसायनिक मल आउने क्रम जारी रहेकाले यस वर्ष किसानलाई खेती गर्न मलको अभाव नहुने अपेक्षा गरिएको छ ।
खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर बिक्री, असार २७ बुक क्लोज मिति
काठमाडौँ । खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर बिक्रीको लागि असार २७ गते बुक क्लोज मिति तय गरेको छ। कम्पनीको निर्णयअनुसार, असार २६ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। नेपाल धितोपत्र बोर्डले खानीखोला हाइड्रोपावरलाई १ः१ अनुपातमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति दिइसकेको छ।
शेयर बजार : नेप्से परिसूचकमा ३३.८१ अंकले बढेर २६९४.८१ विन्दुमा ,९ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ३३.८१ अंकले बढेर २६९४.८१ विन्दुमा आएको छ । आज ९ अर्ब बढीको सेयर कारोबार भएको छ ।
आज ३१६ स्क्रिपसको २ करोड ९७ लाख ७६ हजार ६०४ कित्ता सेयर ९ अर्ब ५६ करोड५२ लाख ६२ हजार १९० रुपैयाँमा खरिदबिक्री भए। ग्रीन डेभलपमेन्ट बैंक,नेपाल इन्स्योरेन्स र खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने
काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् ।
‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो ।
‘कालाे दिन’ भन्दै सांसदहरू आक्रोशित: कुलिङ पिरियड प्रकरणले संसद हल्लियो
काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा चर्चित 'कुलिङ पिरियड' विवाद चुलिँदै गएको छ। यस विषयमा समितिका सभापति रामहरि खतिवडा र सचिव सुरज दुरामाथि गम्भीर प्रश्नहरू उठेका छन्।
बुधबार बसेको समितिको बैठकमा सांसदहरूले यो प्रकरणलाई नेपालको संसदीय इतिहासकै लज्जास्पद क्षणको संज्ञा दिँदै सभापति र सचिवलाई जिम्मेवारी लिन आह्वान गरेका थिए। नेकपा एमालेका सांसद पदम गिरीले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिन सभापति खतिवडा र सचिव दुरालाई आग्रह गरे। "तपाईंहरू जिम्मेवारीमा बस्न योग्य छैन," गिरीले टिप्पणी गरे।
एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।
पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठनको रूपन्देहीमा भएको कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै अभिव्यक्ति दिएको तथा पार्टी सङ्गठनको ‘अर्ली’ अधिवेशनबाट नेतृत्व तथा कार्यसमिति चयनको माग गरेका विषयमा स्पष्टीकरण सोधेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।
कर्णाली विकास बैंक घोटाला: पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ, तीन अर्बभन्दा बढी रकम हिनामिना आरोप
काठमाडौं । कर्णाली विकास बैंकको ठूलो घोटाला प्रकरणमा संलग्न भएको आरोपमा बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई आज नेपालगञ्जबाट नियन्त्रणमा लिएको हो।
ग्लोबल आईएमई समुन्नत योजना २: १२ करोड इकाइसहितको नयाँ म्युचुअल फन्ड २२ असारदेखि निष्कासनमा
काठमाडौँ ।ग्लोबल आईएमई क्यापिटलले नयाँ म्युचुअल फन्ड योजना ल्याउने भएको छ, जसअन्तर्गत ‘ग्लोबल आईएमई समुन्नत योजना २’ को इकाइ निष्कासन असार २२ गतेदेखि सुरु हुनेछ। यस योजना अन्तर्गत कुल १२ करोड इकाइ जारी गरिनेछ, जसको प्रतिइकाइ मूल्य रू १० तोकिएको छ। यसरी, कुल निष्कासन रकम १ अर्ब २० करोड रुपैयाँ बराबरको हुने कम्पनीले जानकारी दिएको छ।
कृषि सामग्री कम्पनी बिर्तामोडद्वारा २० हजार मेट्रिक टन मल बिक्री वितरण
भद्रपुर (झापा) ।कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१ /८२ को हालसम्ममा २० हजार चार सय ४९ दशमलव २० मेट्रिक टन रसायनिक मल बिक्री वितरण गरेको छ । शाखाका प्रमुख दीपककुमार राजबंशीका अनुसार शाखालाई चालु आवमा प्राप्त १९ हजार छ सय १९ दशमलव ५० मेट्रिक टन र गत वर्षको मौज्दात एक हजार पाँच सय ५० मेट्रिक टन रसायनिक मल रहेको थियो । उहाँका अनुसार हाल पनि रसायनिक मल आउने क्रम जारी रहेकाले यस वर्ष किसानलाई खेती गर्न मलको अभाव नहुने अपेक्षा गरिएको छ । शाखा कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को हालसम्ममा युरिया १२ हजार १७ दशमलव ३५ मेट्रिक टन, डिएपी सात हजार पाँच सय ३८ दशमलव ५५ मेट्रिक टन, पोटास सात सय ८७ दशमलव ३५ मेट्रिक टन र चुन एक सय पाँच दशमलव ९५ मेट्रिक टन बिक्री वितरण गरिएको छ ।
ट्रम्प प्रशासनको सहायता कटौतीले २०३० सम्म १ करोड ४० लाख मानिसको मृत्यु हुन सक्ने गम्भीर चेतावनी
पेरिस।ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता समाप्त गरेका कारण सन् २०३० सम्ममा विश्वका सबैभन्दा कमजोर एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्छ । तीमध्ये एक तिहाइ साना बालबालिकाको मृत्यु हुनसक्ने एक अनुसन्धानले प्रक्षेपण गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij