Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

जेठ मसान्तसम्म साढे १५ अर्ब बढीको फलफूल आयात

जेठ मसान्तसम्म साढे १५ अर्ब बढीको फलफूल आयात

  • काठमाडौँ । जेठ मसान्तसम्म साढे १५ अर्ब बढीको फलफूल आयात भएको छ । चालु आर्थिक वर्षको एघार महिनामा स्याउ, केरा, ताजा अंगुर, सुन्तला, आँप र कागतीलगायतका  फलफूलको आयात १५ अर्ब ६८ करोड ३१ लाख ५७ हजार रुपैयाँ बराबरको भएको हो ।त्यस मध्ये ८ करोड २८ लाख ९६ हजार ९८ केजी स्याउ आयात भएको हो । स्याउ आयात हुँदा ९ अर्ब ५६ करोड ३५ लाख ७० हजार रुपैयाँ बाहिरिएको हो ।

    नेपालमा चीनबाट ठूलो परिमाणमा स्याउ आयात हुने गरेको यसले जनाएको छ । ११ महिनामा चीनबाट ७ करोड २५ लाख ७८ हजार ३७० केजी स्याउ आयात भएको हो । सो परिमाणमा स्याउ आयात हुँदा ८ अर्ब ७५ करोड ३१ लाख ९ हजार रुपैयाँ रकम बाहिरिएको  भन्सार विभागको तथ्यांकले दर्शाएको  छ ।

    यसैगरी  नेपालमा  दोस्रो ठुलो परिमाणमा स्याउ  भारतबबाट आयात हुने गरेको देखिन्छ ।  सोही अवधिमा भारतबाट ८१ करोड ४ लाख ४७ हजार रुपैयाँमा  १ करोड ३ लाख १७ हजार ६८८ केजी स्याउ आयात भएको हो । यसैगरी  थाइल्यान्डबाट ८ हजार रुपैयाँको १५ केजी र भुटानबाट ६ हजार रुपैयाँको २५ केजी स्याउ आयात भएको देखिन्छ ।

    सोही अवधिमा नेपालमा २ अर्ब १३ करोड १३ लाख १५ हजार मूल्य बराबरका केरा आयात भएको छ । नेपालमा केरा भारत र चीनबाट आउने गरेको छ ।  सो अवधिमा भारतबाट २ अर्ब १३ करोड १३ लाख १४ हजार रुपैयाँको र  चीनबाट मात्र १ हजार रुपैयाँको आयात भएको हो ।

    त्यस्तै चालु आवको ११ महिनामा भारत चीनबाट १ अर्ब ८९ करोड ५४ लाख २० हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ६९ हजार ४८ केजी अंगुर आयात भएको  तथ्यांकमा देखिन्छ ।नेपालमा सुन्तला भारत, इजिप्ट, चीन र दक्षिण अफ्रिकाबाट आउने गर्छ । सो अवधिमा भारतबाट ९२ करोड ४० लाख ७० हजार रुपैयाँ, इजिप्टबाट १३ करोड १३ लाख ६ हजार रुपैयाँ, चीनबाट ७ करोड ७० लाख ७२ हजार रुपैयाँ र साउथ अफ्रिकाबाट २ करोड ८५ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरका कूल १ अर्ब १६ करोड १० लाख ३० हजार रुपैयाँको सुन्तलाको आयात भएको छ ।सोही गरी  चालु आर्थिक वर्षको ११ महिनामा भारतबाट ५० करोड ७८ लाख ३६ हजार मूल्य बराबरको ५६ लाख २८ हजार ३९२ केजी कागती आयात भएको छ ।

    चालु आर्थिक वर्षको ११ महिनामा ४२ करोड ३९ लाख ८६ हजार मूल्य बराबरका विभिन्न जातको ६१ लाख ५४ हजार ८७७ केजी आँप भारत र चीनबाट आयात भएको छ ।विभिन्न हावापानी र जलवायु विविधता भएको नेपालमा आँप र स्याउलगायतका फलफूलको खती हुने सम्भावना प्रशस्त रहेको छ । तराई र भित्री मधेसमा आँप खेती गरी आँप आयात र हिमाली पहाडी क्षेत्रमा स्याउको खती गरी  आयात प्रतिस्थापन गर्न सकिने अवस्था रहेको फलफूल आयात तथ्यांकले दर्शाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij