Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

अधिकांश बैंकहरूको गैर बैंकिङ सम्पत्ति बढ्यो, गत वर्ष कुल १८ अर्ब बढ्यो

अधिकांश बैंकहरूको गैर बैंकिङ सम्पत्ति बढ्यो, गत वर्ष कुल १८ अर्ब बढ्यो

  • काठमाडौँ  । बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति (नन बैंकिङ एसेट) एनबीए एक वर्षमा १८ अर्ब रुपैयाँले बढेर गएको छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति गत आर्थिक वर्षको ११ महिनासम्म  ४६ अर्ब ९९ करोड रुपैयाँभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ ।

    बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गरेको रकम विभिन्न कारणवश असुल हुन नसकी ऋणीले ऋण लिने क्रममा वित्तीय संस्थामा  धितो स्वरूप राखेको जग्गा तथा जायजेथालाई धितो लिलामीको समयमा बैंकबाट सकार गरी लिएको सम्पत्तिलाई गैरबैंकिङ सम्पत्ति भनिन्छ ।

    बैंकहरुको यस्तो सम्पत्ति अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म २८ अर्ब ७३ करोड ५२ लाख रुपैयाँ मात्र रहेको थियो । एक वर्षको अवधिमा बैंकिङ क्षेत्रको एनबीए १८ अर्ब २५ करोड ५० लाख रुपैयाँको हाराहारीमा बढेको हो । पछिल्लो केही वर्षयता बैंकको खराब कर्जा पनि बढ्ने क्रममा  रहेको छ । बैंकको खराब कर्जा बढ्दा गैर बैंकिङ सम्पत्ति पनि बढेको जनाइएको हो ।

    एक वर्षको अवधिमा सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुमध्ये १७ वाणिज्य बैंकको एनबीए बढेको देखिन्छ । एक बैंकको गैर बैंकिङ सम्पत्ति शून्य रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो अवधिसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकको मात्र कुनै पनि गैर बैंकिङ सम्पत्ति रहेको देखिँदैन ।

    एक वर्षको अवधिमा दुई वाणिज्य बैंकले तुलनामा यस्तो सम्पत्ति घटाउन सफल भएका छन् । माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले एनबीए एक वर्षको तुलनामा घटाएका हुन् । माछापुच्छ्रे  बैंकले एक वर्षमा लगभग ३० करोड रुपैयाँ बराबरको एनबीए घटाएको छ । यस बैंकको एनबीए चालु आवको ११ महिनासम्म ९६ करोड ७९ लाख रुपैयाँको हाराहारीमा छ । गत आर्थिक वर्षको ११ महिनासम्म यसको एनबिए १ अर्ब २६ करोड रुपैयाँको हाराहारीमा रहेको थियो ।
    यसैगरी सिद्धार्थ बैंकको एनबीए यस अवधिमा ७२ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष सोही अवधिमा यसको एनबीए ७८ करोड ८९ लाख रुपैयाँ रहेको थियो । यस बैंकको गैरबैंकिङ सम्पत्ति गत आर्थिक वर्षको तुलनामा ६ करोड ४२ लाख रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले जनाएको छ।

    यस अवधिमा गैरबैंकिङ सम्पत्ति भएको वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै  हिमालयन बैंक रहेको छ । यस बैंकको एनबीए ५ अर्ब ३१ करोड रुपैयाँभन्दा माथि छ । बैंकको यस्तो सम्पत्ति गत आर्थिक वर्षको ११ महिनाको तुलना ३ अर्ब ६२ करोड रुपैयाँभन्दा धेरैले बढेको छ । गत आर्थिक वर्षमा यसको यस्तो सम्पत्ति १ अर्ब ६९ करोड मात्र रहेको थियो । एक वर्षको अवधिमा सबैभन्दा धेरै गैर बैंकिङ सम्पत्ति बढ्ने बैंकको सूचीमा  पनि हिमालयन बैंक छ ।


    यसैगरी, चालु आवको ११ महिनासम्म आउँदा विकास बैंकहरुको गैरबैंकिङ सम्पत्ति दोब्बर बढेको छ । गत आर्थिक वर्षको ११ महिनामा २ अर्ब ५२ करोड १७ हजार रुपैयाँ रहेको विकास बैंकको यस्तो सम्पत्ति चालु आवको ११ महिनामा आउँदा ५ अर्ब ५४ करोड १९ लाख रुपैयाँ पुगेको देखिन्छ । एक वर्षमा विकास बैंक तर्फको एनबीए २ अर्ब ९३ करोड रुपैयाँले बढेको देखिन्छ ।

    हाल सञ्चालनमा १७ वटा विकास बैंकमध्ये एक वर्षको अवधिमा ४ विकास बैंकले एनबीए घटाउन सफल भएका छन् । बाँकी सबै विकास बैंकको एनबीए बढेकै छ । यस अवधिमा सबैभन्दा धेरै एनबीए बढ्ने विकास बैंक कर्णाली विकास बैंक रहेको छ । यस गत आर्थिक वर्षको ११ महिनासम्म शून्य रहेको यस विकास बैंकको गैर बैकिङ सम्पत्ति चालु आवको ११ महिनामा आउँदा १ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्म एक अर्बभन्दा धेरै गैर बैकिङ सम्पत्ति भएको विकास बैंकमा पनि कर्णाली विकास बैंक नै  छ ।


    यसैगरी यस अवधिमा फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति पनि १ अर्ब २६ करोड ५४ लाख रुपैयाँले बढेको देखिन्छ । यस अवधिमा सबैभन्दा धेरै एनबीए गुडविल फाइनान्स कम्पनीको बढेको छ । यो कम्पनीको यस्तो सम्पत्ति ४७ करोड ८० लाख रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।  वेष्ट फाइनान्स कम्पनीले भने गत आर्थिक वर्षको ११ महिनाको तुलनामा यस आर्थिक वर्षको ११ महिनासम्म आउँदा आफ्नो गैर बैैंकिङ सम्पत्ति घटाउन सफलता पाएको छ । 
    यो अवधिमा यो फाइनान्स कम्पनीको गैर बैंकिङ सम्पत्ति ७ लाख रुपैयाँले घटेको छ । यो अवधिमा ७ वटा फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति १० करोड रुपैयाँभन्दा बढी  छ भने बाँकी फाइनान्स कम्पनीको यस्तो सम्पत्ति १० करोड रुपैयाँभन्दा कम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij