Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

नेपाल राष्ट्रिय व्यवसायी महासंघले  उद्योग मन्त्रीलाई व्यापारिक चुनौतीबारे ध्यानाकर्षण पत्र बुझायो

नेपाल राष्ट्रिय व्यवसायी महासंघले  उद्योग मन्त्रीलाई व्यापारिक चुनौतीबारे ध्यानाकर्षण पत्र बुझायो

  • काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले उद्योग मन्त्रीलाई व्यापारिक चुनौतीबारे ध्यानाकर्षण पत्र बुझाएको छ ।महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठको  नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले हालको व्यापारिक चुनौती, आपूर्ति प्रणालीको अव्यवस्था, महँगी नियन्त्रण तथा वस्तुहरूको सन्तुलित वितरण सुनिश्चित गर्न आग्रह गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

    ni.jpg

    मन्त्रालयमा बुझाइएको उक्त पत्रमा हालको विश्वव्यापी तथा राष्ट्रिय आर्थिक अस्थिरता, दक्षिणी सीमा व्यापारको असहजता, उत्तरतर्फका नाका खोल्न आलटाल, आन्तरिक बजारको अस्तव्यस्तता, अघोषित कर प्रणाली, र उत्पादन तथा वितरण लागतको वृद्धिका कारण उत्पन्न व्यापारिक सङ्कटप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

    महासंघको ध्यानाकर्षण पत्रमा २०७९ सालको विनाशकारी मनसुन, कोरोना महामारीको असर, बढ्दो अन्तर्राष्ट्रिय मूल्यवृद्धि, तरलता अभाव, ब्याजदर वृद्धि र त्यसले उत्पन्न व्यवसायीमाथिको मानसिक दबाबका कारण बजार सञ्चालन गर्न कठिनाइ भइरहेको जनाइएको छ। साथै मौसमी कारणले नियमित आपूर्ति प्रणाली विफल हुँदा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिको समस्या बढेको भन्दै सरकारी संयन्त्रको उपेक्षापूर्ण नीति प्रति आपत्ति जनाइएको छ।


    ध्यानाकर्षण पत्रले विशेष जोड दिइएको विषयहरूमा  आयातित वस्तुहरूको मूल्य, कर, भन्सार, ढुवानी, तथा वितरण प्रक्रियामा एकरुपता कायम गरिनुपर्ने , उत्पादक र व्यवसायीहरूलाई स्पष्ट, सहज र सरल नीतिगत तथा कानुनी सुविधा दिनु पर्ने ,भारतसँगको सिमाना व्यवस्थापन सुदृढ गर्दै नियमनमा आधारित वैध व्यापार प्रवद्र्धन गरिनुपर्ने,  आवश्यक वस्तुहरूमा एमआरपी प्रणाली लागू गरी प्रभावकारी मूल्य नियन्त्रण गर्नुपर्ने, अनधिकृत माल ढुवानी र नाकाबाटको अवैध सामान प्रवेश नियन्त्रण गर्न सशक्त सुरक्षा संयन्त्र लागू गर्नुपर्ने रहेका छन् । 

    नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले हाल देशको आर्थिक अवस्था अत्यन्तै जटिल मोडमा पुगेको र आयातमा निर्भर व्यापार, सीमामा सधैंजसो देखिने जटिलता, ढुवानी तथा आपूर्ति प्रणालीमा देखिएको अराजकता, र वस्तुको मूल्यवृद्धिले व्यवसायीहरू मात्र होइन, सर्वसाधारण जनतासमेत प्रत्यक्ष मारमा परेको बताए । उनले उक्त ध्यानाकर्षण पत्रमार्फत बजार व्यवस्थापनमा पारदर्शिता, मूल्यमा एकरूपता, र आवश्यक वस्तुहरूमा एमआरपी प्रणाली तुरुन्त लागू गर्न जोड दिएको बताए । सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण नबनाई देशको आर्थिक पुनरुत्थान सम्भव नभएको जनाउँदै उनले सरकारसँग सहकार्यका लागि तयार रहेको बताए । व्यावसायिक हित र जनताको आवश्यकता बेवास्ता गरेर चल्ने नीतिको स्पष्ट विरोध गर्ने पनि उनले बताए ।

    महासंघले आफ्ना मागहरूमाथि तत्काल ध्यान दिन नसके मुलुकको आर्थिक संकट झनै गहिरिने चेतावनी पनि दिएको छ।  ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन गएको प्रतिनिधिमण्डलमा संस्थापक अध्यक्ष नरेश कटुवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, प्रथम उपाध्यक्षहरू लक्ष्मी खड्का र हरि पाण्डे, महासचिव नवीन लुइटेल, वरिष्ठ उपाध्यक्ष कमल अग्रवाल, सभापति रत्न घिमिरे, उपाध्यक्षहरू मिलन श्रेष्ठ, सागर शाक्य र हेम खराल, साथै सल्लाहकार तेज आचार्य र निलप्रसाद घिमिरे सहभागी रहेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij