
ताप्लेजुङ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजङ्घा ताप्लेजुङमा निर्माण गरिएको विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रको भवन उद्घाटन गरिएको छ । बाढी, पहिरो, आगलागीलगायत विपद्का घटनाको पूर्वतयारी तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री व्यवस्थापन गर्न निर्माण गरिएको उक्त केन्द्रको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले उद्घाटन गर्नुभएको हो । कूल रु आठ लाख ६० हजार ७८८ मा सम्पन्न भवन निर्माणमा फुङ्लिङ नगरपालिकाबाट रु छ लाख र गुल्मको आन्तरिक स्रोत तथा श्रमदानमार्फत बाँकी रकम व्यवस्थापन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्धार सामग्री व्यवस्थापनमा विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायले सहयोग गरेका छन् । मिक्वाखोला गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, पाथीभरा क्षेत्र विकास समिति तथा डिभिजन वन कार्यालय ताप्लेजुङद्वारा विभिन्न उद्धारका सामग्री प्राप्त भएको जनाउँदै उक्त सामग्री पनि भण्डारण गरिएको प्रहरी नायब उपरीक्षक महर्जनले बताउनुभयो । ---
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij