Logo

Jul 22 2025 | २०८२, साउन ६गते

Jul 22 2025 | २०८२, साउन ६गते

images

डडेल्धुरामा व्यावसायिक अनारखेतीबाट ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरामा व्यावसायिक अनारखेतीबाट ५० लाख आम्दानी गर्ने लक्ष्य

  • अमरगढी (डडेल्धुरा)। डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का कृषकले व्यावसायिक रूपमा अनारखेती गरेर वार्षिक रु ५० लाख कमाउने लक्ष्य राखेका छन् । अजयमेरु-२ स्थित बडीमा बाँझो रहँदै आएको सात सय रोपनी जमिन अहिले अनारका बोटले भरिएको छ । वार्षिक रु ५० लाख आम्दानी गर्ने लक्ष्यसहित यहाँका कृषकले व्यावसायिक अनारखेती सुरु गरेका हुन् । महादेव अनारखेती समूहले स्थानीय किसानलाई सङ्गठित गर्दै रु २० हजार वार्षिक भाडा तिरेर उक्त जमिन उपयोगमा ल्याइएको हो । दश महिनाअघि रोपिएका १० हजार अनारका बिरुवामध्ये हालसम्म आठ हजारभन्दा बढी बिरुवा सप्रिएका अनारखेती समूहले जनाएको छ । यसै वर्षदेखि फल दिन थालिसकेका जनाउँदै समूहका अध्यक्ष मदनराज पनेरुले बिरुवा रौतहटबाट मगाइएको बताउनुभयो ।

    जिल्लास्थित कृषि ज्ञान केन्द्र र समूहको संयुक्त आर्थिक लगानीमा सञ्चालित यो आयोजनामा अहिलेसम्म रु ६५ लाख लगानी भइसकेको अध्यक्ष पनेरुले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सरकार र कृषकको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रमलाई कृषि पर्यटनसँग जोड्दै थप प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । बृहत् अनारखेती कार्यक्रमलाई कृषि पर्यटनका रूपमा विकास गर्ने प्रयास थालिएको अजयमेरु–२ का वडाध्यक्ष शिवराज भट्टले बताउनुभयो । बडीमा सुरु गरिएको बृहत् अनारखेती परियोजना भविष्यमा कृषि पर्यटनको आकर्षक गन्तव्य बन्नसक्ने उहाँको भनाइ छ । कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले सो क्षेत्र अनारखेतीका लागि उपयुक्त भएकाले ‘अनारखेतीको जोन’ का रूपमा आगामी दिनमा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । किसानले लगाएको अनार फल्न सुरु भएकाले सो क्षेत्र व्यावसायिक अनारखेतीका लागि उपयुक्त मानिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अनार दुई हजार मिटर अग्लो स्थानसम्म फल्ने गर्दछ । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij