
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ६ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
शेयर बजार : नेप्से परिसूचकमा ८१.७७ अंकले बढेर २९७४.५० विन्दुमा ,२० अर्ब ०८ करोड रुपैयाँ भन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ८१.७७ अंकले बढेर २९७४.५० विन्दुमा आएको छ । यस दिन २० अर्ब ०८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
भूगोल इनर्जीले शतप्रतिशत हकप्रद सेयर ल्याउने, साउन २२ मा विशेष सभा
काठमाडौं ।भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर प्रस्ताव पारित गर्न साउन २२ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो।
विशेष सभा काठमाडौंको पुरानो बानेश्वरस्थित काजीको किचनमा बिहान ९ बजेबाट सुरु हुनेछ। सो सभामा हकप्रद सेयर सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुका साथै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय गरिनेछ।
ह्याम्स अस्पतालले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, साउन २८ मा वार्षिक सभा
काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीको सञ्चालक समितिको साउन ५ गते बसेको बैठकले आईपीओ जारी गर्नेसहित विभिन्न प्रस्ताव पारित गर्न साउन २८ गते वार्षिक साधारण सभा (एजीएम) गर्ने निर्णय गरेको हो।
इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध भ्यालुएटर्सको आन्दोलन, मूल्यांकनकर्तामाथि कालोसूचीको विरोध
काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभीए)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध आन्दोलनको घोषणा गरेको छ। आर्थिक मन्दी र घरजग्गा बजारमा आएको गिरावटका कारण सम्पत्ति मूल्यांकनमा देखिएको कमीलाई लिएर बैंकले मूल्यांकनकर्तामाथि गरेको कारबाहीको विरोधमा साउन १२ गतेदेखि आन्दोलन थालिएको हो।
एनभीएले एक प्रेस विज्ञप्ति जारी गर्दै, पछिल्लो समय बैंकहरूले मूल्यांकनकर्तालाई बिना सुनुवाइ कालोसूचीमा राख्ने कार्य गरिरहेको आरोप लगाएको छ। राष्ट्र बैंकको निर्देशन विपरीत बैंक तथा वित्तीय संस्थाहरूले मूल्यांकन इन्जिनियरहरूसँग अनुचित सम्झौता गर्न दबाब दिएको, शर्त मनाउन बाध्य पारेको र मूल्य घटेको आधारमा एकपक्षीय कारबाही गरिएको एनभीएको दाबी छ।
ठमेलबाट दुई किलो सुन र रु २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र रु २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”
बन्दीपुर केवलकारको आईपीओ साउन ६ गतेदेखि खुला, स्थानीय बासिन्दा र वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि विशेष अवसर
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन खुला गरेको छ। कम्पनीले कुल २ अर्ब ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। त्यसअनुसार, ५ लाख ६६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि छुट्याइएको छ।
नबिल बैंकको ‘७%नबिल डिबेञ्चर २०८९’ ऋणपत्र निष्कासन खुला, न्यूनतम २५ कित्ताबाट आवेदन गर्न सकिने
काठमाडौं । नबिल बैंक लिमिटेडले आज (मंगलबार) देखि ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र सार्वजनिक निष्कासन तथा बिक्री प्रक्रिया सुरु गरेको छ। आठ वर्ष अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत स्थिर ब्याजदर पाउनेछन्, जुन दीर्घकालीन सुरक्षित लगानीको अवसर मानिन्छ।
बैंकले कुल ३० लाख कित्ता, प्रतिकित्ता १,००० रुपैयाँ अंकित दरमा, ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो। यसमध्ये ६० प्रतिशत ९१८ लाख कित्ता० ऋणपत्र निजी तवरबाट बाँडफाँट गरिनेछ भने ४० प्रतिशत (१२ लाख कित्ता) सर्वसाधारणका लागि सार्वजनिक रुपमा जारी गरिएको छ। सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत ९६०,००० कित्ता० सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद यही साउन १९ गतेसम्म रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। यसअनुसार, हाल रहेको प्रत्येक १ कित्ता शेयरका सट्टा नयाँ १ कित्ता हकप्रद शेयरका लागि आवेदन दिन सकिनेछ।कम्पनीले कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गरेको छ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसमार्फत कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको पूँजी जुटाउने योजना बनाएको छ।
एमाले केन्द्रीय कमिटी बैठकमा सङ्गठनात्मक व्यवस्थालगायत विषयमा छलफल जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सङ्गठनातत्मक व्यवस्थालगायत विषयमा छलफल जारी छ ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज दोस्रो दिनको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि ५८ जनाले आफ्नो धारणा राखेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । हिजो पहिलो दिन ४९ जनाले आफ्नो धारणा राख्नुभएको थियो ।
फाइभ–जी नेटवर्क छिट्टै सञ्चालन गर्न टेलिकम र प्राधिकरणलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ–जी नेटवर्क सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्रधिकरणलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आज आयोजित एनटिसी र एनटीएको २०८२र८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर–जी विस्तार व्यापाक बनाउँदै फाइभ–जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिनुभएको हो ।
आफू मन्त्री भएलगत्तै पटक–पटक फाइभ–जी नेटर्वक सुरू गर्न भन्दै आएको स्मरण गराउँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले आफूले निर्देशन दिएको एक वर्ष पुगिसक्दा पनि कार्यसम्पादन नहुनु दुःखद् विषय भएको बताउनुभयो । उहाँले अब भने चाँडोभन्दा चाँडो नेटर्वक विस्तारमा गर्नुपर्ने बताउनुभयो ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले अन्नपूर्ण न्यूरो अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् । अन्नपूर्ण न्यूरो अस्पतालले उपलब्ध गराउने सेवाहरु हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी तथा अन्य विभिन्न सेवा शुल्कहरुमा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले छुट पाउनेछन् ।
नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने
काठमाडौं । नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैर योगदानमा आधारित उपदान तथा अन्य अवकाश खाताहरू कोषमा हस्तान्तरण भएको छ । हाल बैंकमा कार्यरत करिब २ हजार कर्मचारीहरूको उपदान एवम् अवकाशसँग सम्बन्धित अन्य रकमको व्यवस्थापन तथा सञ्चालन अब कोषले गर्ने जनाइएको छ ।
एडीबीले नेपालमा पाँच वर्षमा ३ खर्ब बढी रुपैयाँ खर्च गर्ने सम्झौता
काठमाडौँ । एडीबीले नेपालमा पाँच वर्षमा ३ खर्ब बढी रुपैयाँ खर्च गर्ने सम्झौता गरेको छ । नेपालको बहुआयामिक विकासमा सघाउन एसियाली विकास बैंक (एडीबी) ले ५ वर्षे नयाँ रणनीतिक साझेदारी गरेको हो । सन् २०२५/२९ को अवधिमा एडीबीले सहायता, अनुदान र ऋण गरेर २ अर्ब ३० करोड अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार करिब ३ खर्ब १३ अर्ब रुपैयाँ) नेपालमा लगानी गर्ने जनाएको छ । कार्यक्रमका आधारमा अनुदान, ऋण वा सहायता हुने बताइएको छ। कार्यक्रमको प्राथमिकीकरण नेपाल सरकारले गर्नेछ।
२०२५/२९ को साझेदारी विशेष गरि दिगो तथा हरित अर्थतन्त्र निर्माण, सुशासन, समावेशी विकास र सीपयुक्त मानव संशाधन तथा जलवायु परिवर्तनको असर न्यूनीकरणमा केन्द्रित हुनेछ।त्यसका साथै रोजगारी वृद्धि, उत्पादन र उत्पादकत्व सुधार, नवीकरणीय ऊर्जा, कृषिमा आधुनिकीकरण, निजी क्षेत्र तथा पूर्वाधार विकास लगायतका क्षेत्रमा केन्द्रित हुनेछ। शिक्षा, स्वास्थ्य क्षेत्र सुधारमा पनि साझेदार कार्यक्रमले सघाउने छ।
स्कुलमा विमान दुर्घटना, २७ जनाको मृत्यु, बङ्गलादेशमा शोक
ढाका ।बङ्गलादेशको एक स्कुलमा प्रशिक्षण लडाकू जेट दुर्घटना हुँदा २५ बालबालिका र अन्य दुई जनासहित २७ जनाको मृत्यु भएपछि मङ्गलबार परिवारहरू र शिक्षकहरू भेला भएका छन् । यो दशकौँको सबैभन्दा घातक विमान दुर्घटना हो ।
चिनियाँ निर्मित एफ–७ बिजेआई विमान माइलस्टोन स्कुल एन्ड कलेजमा खसेको बेला अधिकांश पीडित विद्यार्थीहरू भर्खरै कक्षाबाट बाहिर निस्किएका थिए ।
सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ, स्मार्टफोन र इभीको आयात पनि उल्लेखनीय
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको वैदेशिक व्यापार नयाँ उचाइमा पुगेको छ । भन्सार विभागका अनुसार आयात र निर्यात दुवै तथ्याङ्क हालसम्मकै उच्च छन् । गत आवमा नेपालले गरेको कुल निर्यातको आधा हिस्सा भने आयातित कच्चा भटमास तेल (क्रुड सोयाबिन आयल) र कच्चा सूर्यमुखी तेल (क्रुड सनफ्लावर आयल) रहेको देखिएको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालले कुल रु २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आवमा रु १८ खर्ब चार अर्ब १२ करोड २७ लाख बराबरको वस्तु आयात हुँदा रु दुई खर्ब ७७ अर्ब तीन करोड बराबरको निर्यात भएको छ । त्यसबाट नेपालले रु १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ । विभागका निर्देशक किशोर बर्तौलाका अनुसार गत आवको आयात र निर्यात दुवै हालसम्मकै उच्च हो ।
गत आर्थिक वर्ष २०८१/८२ मा कुल १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात
काठमाडौँ । अन्य मुलुकसँग नेपालको व्यापार १९.२४ प्रतिशत बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कुल १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात नेपालमा भएको देखिएको हो । । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष १५ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।
त्यस्तै निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष नेपालबाट कुल २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । एक वर्षमा भएको यो निर्यात सबैभन्दा उच्च हो ।अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्यात ८१.८० प्रतिशत बढेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij