
काठमाडौं।अघिल्लो आर्थिक वर्षको तुलनामा हालै सम्पन्न आर्थिक वर्ष २०८१/०८२ मा नेपालको वस्तु निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार, मुलुकले यस अवधिमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको सामान विदेश पठाएको छ। यो अघिल्लो वर्षको १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँभन्दा करिब दोब्बर हो।
निर्यात वृद्धिले अर्थतन्त्रमा सकारात्मक संकेत देखिए पनि दीर्घकालीन दिगोपनको दृष्टिले यो निर्यात दर कायम रहन कठिन हुने विज्ञहरूले बताएका छन्। उनीहरूका अनुसार, निर्यात वृद्धिको ठूलो हिस्सा विदेशी कच्चा पदार्थ आयात गरी त्यसलाई प्रशोधन तथा प्याकेजिङ गरी भारत पठाउने कार्यमा आधारित छ।
भन्सार विभागका तथ्यांकअनुसार, नेपालले गएको वर्ष मात्रै १ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको सूर्यमुखी, पाम र भटमास तेलको कच्चा पदार्थ आयात गरेको थियो। सोही कच्चा तेललाई प्रशोधन गरी करिब १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको तेल निर्यात गरिएको छ। कुल निर्यातमध्ये झण्डै ४४ प्रतिशत हिस्सा यस्ता प्रशोधित तेलले ओगटेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव एवं व्यापार विज्ञ रवि सिंह सैंजूका अनुसार, हालको निर्यात वृद्धिको मुख्य कारण भारतको आयात करमा भएको परिवर्तन हो। ‘‘भारतले ती तेलमा आयात कर बढाएपछि अन्य मुलुकको तुलनामा नेपालमार्फत कम कर तिरेर आयात गर्न सकिने भएकाले यहाँबाट निर्यात बढेको हो,’’ सैंजूले भने, ‘‘यो नेपाली उत्पादनको वृद्धि होइन।’’
उनका अनुसार कागजमा न्यूनतम २० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्ने कानुनी प्रावधान भए पनि व्यवहारमा त्यो कार्यान्वयन कमजोर छ। "एकमुष्ट ट्यांकरमा ल्याइएको तेललाई यहाँ प्याकिङ गरेर पठाउने प्रवृत्ति चलेको छ," उनले थपे।
आन्तरिक उत्पादन पर्याप्त रहे पनि व्यवस्थापन र बजार अभावका कारण नेपालले अझै पनि ठूला परिमाणमा खाद्यवस्तुहरू आयात गरिरहेको छ। उदाहरणस्वरूप, मुलुकले वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको स्याउ आयात गरिरहेको छ। तर हुम्ला, जुम्लालगायतका उच्च हिमाली जिल्लाहरूमा पर्याप्त मात्रामा स्याउ उत्पादन हुँदै आएको छ।
त्यस्तै, चीनबाट झण्डै ७ अर्ब रुपैयाँ बराबरको अदुवा आयात भएको देखिएको छ, जुन नेपालमै पनि प्रशस्त उत्पादन हुन्छ। आयात भएको अदुवा नेपालभित्र खपत नहुँदा ती सामग्री चोरी निकासी भएर भारत पुगेको हुनसक्ने अनुमान विज्ञहरूले गरेका छन्।
गत आर्थिक वर्षमा मुलुकको कुल आयात १८ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो।
त्यसैगरी, आर्थिक वर्ष २०८१/०८२ मा व्यापार घाटा १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो घाटा १४ खर्ब ४० अर्ब रुपैयाँ थियो। यसरी व्यापार घाटा करिब ६ प्रतिशतले बढेको छ। हाल नेपालले प्रत्येक १ लाख रुपैयाँको आयातमा १० हजार रुपैयाँको मात्र निर्यात गरिरहेको तथ्यांकले देखाउँछ।
विज्ञहरू भन्छन्, आयातमा आधारित र प्रशोधनमुखी निर्यातलाई दीर्घकालीन दिगो व्यापार भन्न मिल्दैन। निर्यात वृद्धिको अंक उत्साहजनक भए पनि त्यसको गुणस्तर, संरचना र दीर्घकालीन असरलाई पनि हेर्न जरुरी रहेको उनीहरूको तर्क छ। आन्तरिक उत्पादनलाई प्राथमिकता दिई बजारीकरण, प्रशोधन र ब्रान्डिङमार्फत निर्यात विस्तार नगरेसम्म नेपालको व्यापार घाटा झनै बढ्ने चेतावनी उनीहरूले दिएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij