Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

राष्ट्रपतिको गरिमा बचाउँदै भण्डारीलाई राजनीतिमा नफर्कन एमालेको आग्रह, ओलीलाई नेतृत्वमा अघि बढ्ने बाटो खुला

राष्ट्रपतिको गरिमा बचाउँदै भण्डारीलाई राजनीतिमा नफर्कन एमालेको आग्रह, ओलीलाई नेतृत्वमा अघि बढ्ने बाटो खुला

  • काठमाडौं।नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन नहुने औपचारिक निर्णय गरेको छ। पार्टीको दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी सदस्यता नवीकरण नगरिने र राष्ट्रपतिको पदीय गरिमा अनुरूप ‘अभिभावक’को भूमिकामा रहन आग्रह गर्ने निर्णय गरेको हो।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रातिको बैठकमा स्पष्ट रूपमा भने, "पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन।" उनले पार्टी विधानको धारा ८ र ९ अनुसार भण्डारीको सदस्यता नवीकरण हुन नसक्ने र यसअघि गरिएको नवीकरण प्रक्रिया त्रुटिपूर्ण रहेको उल्लेख गरे।

    निर्णयमा मतभेद पनि

    भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषयमा भने नेताहरुबीच मतभेद देखिएको छ। उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उक्त निर्णयप्रति असहमति जनाएका थिए। थापाले ‘नोट अफ डिसेन्ट’ राख्ने प्रयास गरे पनि अध्यक्ष ओलीले त्यसलाई बैठकमा स्वीकार गरेका थिएनन्।

    "के को नोट अफ डिसेन्ट? निर्णय त हुन बाँकी छ," अध्यक्ष ओलीले भनेको स्रोतले जानकारी दिएको छ।

    ‘पार्टी अध्यक्ष बनाउन सकिँदैन’

    ओलीले पूर्वराष्ट्रपतिलाई पार्टीको अध्यक्ष बनाउने कुरा अहिलेको सन्दर्भमा सम्भव नभएको बताए। "अहिलेको अवस्थामा उहाँलाई पार्टी अध्यक्ष बनाउन सकिँदैन," उनले भने, "तर पार्टीमा फर्काउने/नफर्काउने भन्नेबारे छलफल आवश्यक छ।"

    बैठकमा बोल्ने नेताहरुको मत थियो— पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेका व्यक्तिले कुनै दलको झण्डा बोकेर हिँड्नु अनुचित हुन्छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, "यो एमालेको मात्र होइन, समग्र राजनीतिक संस्कृतिको लागि पनि विचार गर्नुपर्ने विषय हो।"

    ओलीका लागि बाटो खुला

    बैठकले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा नै आगामी अधिवेशनसम्म पार्टी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। त्यसका लागि पार्टी विधानमा उल्लेख गरिएको ७० वर्षको उमेर हद तथा दुई कार्यकालको सिमा हटाउने निर्णय गरिएको छ।

    यो निर्णय आगामी भदौमा हुने विधान अधिवेशनबाट पारित भएपछि वैधानिक रूपमा कार्यान्वयनमा आउनेछ। बैठकले १५ पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव समेत पारित गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij