Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

२ खर्ब नजिकको पेट्रोलियम पदार्थ आयात, भन्सारमा इन्धनकै भरले ८१ अर्ब राजस्व संकलन

२ खर्ब नजिकको पेट्रोलियम पदार्थ आयात, भन्सारमा इन्धनकै भरले ८१ अर्ब राजस्व संकलन

  • वीरगन्ज। देशको मुख्य नाकामध्ये एक वीरगन्ज हुँदै गएको आर्थिक वर्षमा झन्डै १ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ। भन्सार तथ्यांकअनुसार, आयातमा अघिल्लो वर्षको तुलनामा थोरै गिरावट आए पनि राजस्व संकलन भने उल्लेखनीय रूपमा बढेको छ।

    ऊर्जा स्रोतका रूपमा प्रयोग हुने डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन (एटीएफ) र मट्टितेल जस्ता पदार्थहरू वीरगन्ज भन्सार हुँदै भित्रिएका हुन्। भन्सार कार्यालयका अनुसार, २०८१/८२ मा ११ लाख ४९ हजार किलोलिटर डिजेल र ४ लाख ५३ हजार किलोलिटर पेट्रोल आयात गरिएको थियो। यी मात्राबाट क्रमशः ९९ अर्ब ९५ करोड र ३८ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।

    त्यस्तै, एलपी ग्यासको आयात ३१ करोड किलोग्राम नाघेको छ जसको मूल्य ३६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। हवाई इन्धन १६ अर्बभन्दा बढी र मट्टितेल ६९ करोड रुपैयाँ बराबरको भित्रिएको छ।

    राजस्व बढ्दै, आयात घट्दै
    वीरगन्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार अघिल्लो वर्षको तुलनामा पेट्रोलियम आयातमा १ अर्ब ९४ करोड रुपैयाँको गिरावट आएको छ। तर, सोही अवधिमा भन्सारले संकलन गरेको राजस्व १०.२३ प्रतिशतले वृद्धि भई ८१ अर्ब रुपैयाँ नाघेको छ।

    “आयात घटे पनि मूल्यको आधारमा राजस्व बढ्नु मूल्य वृद्धिसँग पनि सम्बन्धित हुन सक्छ,” प्रमुख लामिछानेले बताए। उनका अनुसार कुल भन्सार राजस्वमध्ये पेट्रोलियम पदार्थको योगदान सर्वाधिक रहेको छ।

    पेट्रोलियम पदार्थको आयातमा थोरै कमी आए पनि त्यसबाट उठेको राजस्व वृद्धिले अर्थतन्त्रमा यस क्षेत्रको महत्त्व अझ बलियो देखाएको छ। वीरगन्ज नाका अझै पनि पेट्रोलियम आपूर्तिको मुख्य नाका रहँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij