
काठमाडौं। कर्णाली डेभलपमेन्ट बैंकमा सञ्चालक र व्यवस्थापकहरूको मिलेमतोमा ठूलो आर्थिक घोटाला भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान अनुसार बैंकको बचत रकममा करोडौं रुपैयाँ अपचलन भएको पाइएको छ। यसअनुसार १०९ जनाविरुद्ध ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी रकमको हिनामिनाको मुद्दा उच्च अदालत बाँकेमा दायर गरिएको छ।
अभियोगपत्रमा विभिन्न किसिमका अनियमितताहरू देखिएका छन् — बैंकमा नगद रकम नदेखाई हिनामिना, ऋण पुनः खडा गरी अपचलन, अवैध बचत संकलन, रेमिट कारोबारमा अनियमितता, र कर्मचारीहरूले आफ्नो फाइदाका लागि रकम हिनामिना गरेको आरोप समावेश छन्।
संचालक समितिका पूर्वअध्यक्ष राजेन्द्रवीर राय, कार्यकारी अधिकृत निरज विक्रम शाह, कर्जा विभाग प्रमुख दिनेशकुमार रावत लगायत बैंकका उच्चपदस्थ कर्मचारीहरूमाथि ठूलो मात्रामा विगो र जरिवाना माग गरिएको छ। उनीहरूले बैंकको रकम व्यक्तिगत रूपमा दुरुपयोग गरेको देखिएको छ।
बैंकका कर्मचारी र शाखा प्रमुखहरूले पनि कर्जा प्रवाहमा अनियमितता गरेको पाइएको छ। बिना धितो कर्जा दिइएको, असल नपर्ने कर्जा राम्रो देखाएर लेखिएको, र विभिन्न कम्पनी र व्यक्तिलाई सहुलियत कर्जा प्रवाह गरिएको विवरण अभियोगपत्रमा उल्लेख छ।
यसैगरी, बैंकका संस्थापक सदस्य र शेयरधनीहरू पनि अपचलनमा संलग्न रहेको आरोप लागेका छन्। बैंक व्यवस्थापन, लेखा परिक्षण समितिका सदस्यहरू र राष्ट्र बैंकका कर्मचारीहरू पनि दोषी देखिएका छन्।
यो मुद्दाले नेपालमा बैंकिङ प्रणालीमा शुशासन र निगरानीको अभाव देखाएको छ। बचतकर्ताहरूको रकममा गरेको दुरुपयोगका कारण कर्णाली डेभलपमेन्ट बैंक डुब्न पुग्यो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij