
काठमाडौँ ।संघीय निजामती सेवा विधेयकमा देखिएको त्रुटि छानबिन गर्न गठन गरिएको विशेष समितिको म्याद आइतबार सकिँदैछ, जसका कारण समितिका सदस्यहरू अन्तिम तयारीमा व्यस्त भएका छन्।
आज बिहानैदेखि समिति सदस्यहरू छलफलमा जुटेका थिए। बिहान ७:३० बजेदेखि सुरु भएको बैठक करिब १२ बजेसम्म निरन्तर चल्यो। त्यसपछि करिब दुई घण्टाको विश्रामपछि फेरि छलफल सुरु गरिएको हो।
यसबीच, सत्तारूढ नेकपा एमालेका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छुट्टै छलफलमा बसेको जनाइएको छ। उनीहरू प्रतिवेदनमा समावेश गरिने विषयवस्तु तय गर्न व्यस्त थिए। तर, एमालेका सदस्यहरू डेढ घण्टा ढिला हुँदा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सदस्यहरू बैठक सुरू हुने प्रतीक्षामा बस्नुपरेको थियो।
२३ असारमा गठन गरिएको समितिलाई प्रारम्भमा २१ दिनको समय दिइएको थियो, जुन अवधि पछि थप एक साता बढाइएको थियो। अब सो म्याद आइतबार समाप्त हुँदैछ।
समितिमा कांग्रेसका जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली तथा राप्रपाबाट रोशन कार्की सदस्य छन्।
समितिले प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजे बोलाइएको बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij