Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

नेप्से गणनामा दोहोरिएको त्रुटीले लगानीकर्तामा असन्तोष, विश्वसनीयता प्रश्नमा

नेप्से गणनामा दोहोरिएको त्रुटीले लगानीकर्तामा असन्तोष, विश्वसनीयता प्रश्नमा

  • काठमाडौं।नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सूचक गणना प्रणालीमा हालसालै दोहोरिएको प्राविधिक त्रुटीले लगानीकर्तामा गम्भीर असन्तोष र चिन्ता उत्पन्न गराएको छ। साउन १२ गते गणनामा भएको गल्तीले बजार ७.१० अंकले बढेको देखिए पनि सूचक उल्टै २.६१ अंकले घटेको देखिएको थियो। सो दिन नेप्सेले प्राविधिक त्रुटी स्वीकार गर्दै सूचना प्रकाशित गरेको थियो।

    तर, त्यो गल्तीबाट सिक्ने मौका नपाउँदै साउन १९ गते पुनः सूचक गणनामा गडबडी भएको लगानीकर्ताले अनुभव गरेका छन्। बजार बन्द भइसकेपछि पनि नेप्से सूचक पटक–पटक फेरिएको देखियो भने वेबसाइटसमेत केही समयका लागि डाउन भएको थियो। यसले सूचक कति अंकले बढ्यो वा घट्यो भन्ने जानकारीबाट लगानीकर्ता बञ्चित हुन पुगे।

    लगानीकर्ताहरूले यस्तो अवस्थालाई बजार सुधार हुँदै गर्दा आएको ठूलो बाधा भन्दै गुनासो गरेका छन्। नेप्सेले अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्यलाई अन्तिम मूल्यका रूपमा लिने व्यवस्था गरेको भए पनि, यसमा देखिएको असमानता र प्राविधिक कमजोरीले यो प्रणालीमाथि नै प्रश्न उठेको छ।

    लगानीकर्ता ललित ढुङ्गानाले नेपालका लागि यो प्रणाली व्यवहारिक नभएको बताउँदै, यसले बजारको स्वाभाविक कारोबारलाई असर पुर्‍याउने जिकिर गरेका छन्। यता, नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने यो प्रणाली अन्तर्राष्ट्रिय अभ्यासअनुसारको भएको बताउँदै, म्यानुपुलेसन रोक्नमा प्रभावकारी रहेको दाबी गरेका छन्।

    शेयर बजार विश्लेषक केशव कोइरालाले गणना प्रणालीको विरोध गर्नुको सट्टा, प्रविधिमा भएका कमजोरी सच्याउनु आवश्यक रहेको धारणा राखेका छन्। उनी भन्छन्, "गणनामा समस्या देखिनु गम्भीर हो तर त्यसलाई व्यवस्थामाथि आक्रमण गर्ने आधार बनाउनु बजारलाई अनियन्त्रित बनाउन खोज्ने प्रयास हो।"

    उनका अनुसार, अन्तिम सेकेन्डमा कृत्रिम रूपमा मूल्य बढाउने वा घटाउने प्रवृत्ति रोक्न यो विधि अत्यन्त जरुरी छ। तर, प्रणालीमै पटक–पटक देखिने समस्या समाधान नगरेसम्म यसको प्रभावकारिता कमजोर हुने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij