Logo

Aug 07 2025 | २०८२, साउन २२गते

Aug 07 2025 | २०८२, साउन २२गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २१ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २१ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  साउन २१ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू....

    पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

    ढोरपाटन (बागलुङ)। ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडीगोठबाहेक अरु कुनै पनि संरचना थिएन । गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिकजसो औसतमा एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जाने गरेका छन् । विशेष गरी बर्खाको समयमा बुकीपाटन हरियाली देखिने र यहाँबाट अनगिन्ती हिमश्रृङ्खलासहित हजारौँको सङ्ख्यामा भेडाका बथानको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो । बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा नहुँदा उनीहरु भेडी गोठालेसँगै गोठमा रात बिताउने गर्थे । गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे । तर अहिले त्यो समस्याको कम भएको छ ।

    मेयर भरतकुमार थापाको ३ करोड ४५ लाख बराबरको गैरकानुनी सम्पत्तिसहित मेयर भरतकुमार थापा दोषी, एक वर्ष कैद र जरिवाना

    काठमाडौँ। विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई गैरकानुनी सम्पत्ति आर्जन र भ्रष्टाचारसम्बन्धी दुई फरक मुद्दामा दोषी ठहर गरेको छ।

    बुधबार न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद र बिगो बराबर जरिवानाको फैसला सुनाएको हो।

    विशेष अदालतका अनुसार थापाको आयभन्दा व्यय बढी देखिएपछि सो अतिरिक्त रकम गैरकानुनी स्रोतबाट आर्जन गरिएको ठहर गरिएको हो। अदालतले उल्लेख गरेअनुसार, जाँच अवधिमा थापाको कूल आय रु. ९ करोड १४ लाख ३१ हजार मात्र भए पनि उनको खर्च रु. १२ करोड ५९ लाख ५३ हजार पुगेको थियो। सोही आधारमा रु. ३ करोड ४५ लाख २२ हजार ३८७ को स्रोत पुष्टि हुन नसकेपछि अदालतले उनलाई दोषी ठहर गरेको हो।

    अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) अनुसार थापालाई एक वर्ष कैदसहित उक्त बिगो बराबरको जरिवाना – रु. ३ करोड ४५ लाख २२ हजार ३८७ – तिर्नुपर्ने फैसला सुनाएको छ। साथै, सो गैरकानुनी रकमबाट आर्जन गरिएको सम्पत्ति समेत जफत गर्ने आदेश दिइएको छ।

    तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदहरूले मदिरा तस्करी नियन्त्रणमा गम्भीर हुन आग्रह गर्दै तस्करलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

    सदस्यहरू रञ्जुकुमारी झा र रेखा यादवले सप्तरीमा मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको घटनाको विरोध जनाउनुभएको छ । 

    सभाको आजको बैठकमा विशेष समयमा उहाँहरूले तस्करी नियन्त्रणका क्रममा गोलीगठ्ठाको प्रयोग नगरी तस्करीमा संलग्नलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।  

    मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा सप्तरीमा प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको मृत्यु भएको थियो । भारतीय सीमा नजिकबाट मदिरा तस्करीमा ‘सर्च अप्रेसन’ चलाउँदा प्रहरी र स्थानीयबीच झडप भएको थियो । 

    सांसदहरूले तस्करीले राजस्व चुहावट र नियन्त्रणका क्रममा जनताको मृत्यु भइरहेको भन्दै यसतर्फ गम्भीर हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    जनता समाजवादी पार्टीका सांसद झाले भन्नुभयो, “तस्करीको निदान एवं  नियन्त्रण, कानुनी कारबाहीका लागि सरकार किन गम्भीर छैन ?”

    साताको चौथो दिन बुधबार सुनको मूल्यमा घटेर तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम

    काठमाडौँ । साताको चौथो दिन  बुधबार  सुनको  मूल्यमा घटेर  तोलामा   १ लाख ९८ हजार ४ सय रुपैयाँ  कायम  भएको छ ।  साताको चौथो दिन बजारमा सुनको कारोबार मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ भने चाँदी २५ रुपैयाँ बढेको छ। बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९८ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

     

    मंगलबार सुन १ हजार ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।चाँदीको कारोबार मूल्य बुधबार तोलाको २ हजार ३ सय ५ रुपैयाँ भएको छ। मंगलबारका तुलनामा २५ रुपैयाँको बढोत्तरीसँगै नयाँ कारोबार मूल्य कायम भएको हो। अघिल्लो दिनका तुलनामा २५ रुपैयाँ बढ्दै मंगलबार प्रति तोला २ हजार २ सय ८० रुपैयाँ भएको थियो।

    समाजिक सुरक्षा कोषमा रोजगारदातालाई थप जिम्मेवार र श्रमिकलाई थप सुविधा दिइने प्रावधान

    काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आबद्ध रोजगारदाताले योगदानकर्ता तथा श्रमिकको रकम नियमित भुक्तानी नगरी सो बीचमा श्रमिकको कुनै दुर्घटना तथा मृत्यु भएमा उसले कोषबाट पाउने सुविधा रोजगारदाताले भुक्तानी गर्नुपर्ने प्रावधान व्यवस्थित गरेको छ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ का केही दफाहरूमा संशोधन गरी  यस्तो व्यवस्था गरेको हो । 

    सरकारले ऐनको दफा ९ को उपदफा ५मा  सूचीकृत रोजगारदाताले योगदान बापत्को रकम कोषमा जम्मा नगरे र त्यस्तो  अवधिभित्र दुर्घटना वा मृत्यु भई कुनै श्रमिकलाई यस ऐन बमोजिमको कुनै सुविधा उपलब्ध गराउनु पर्ने अवस्था भए  त्यस्तो सुविधा बराबरको रकम सम्बन्धित रोजगारदाताले नै श्रमिकलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको हो । 

    यसैगरी  सामाजिक सुरक्षा कोषले अब रोजगारदाताले कोषमा श्रमिकको रकम दाखिला गर्नुपर्ने समय १० दिन बढाएर २५ दिन कायम गरेको छ । यसअघि महिना समाप्त भएको १५ दिनभित्र दाखिला गर्नुपर्ने व्यवस्था रहेकोमा अब २५ दिनभित्र दाखिला गर्न पाइने जनाइएको छ । संशोधित नेपाल ऐनमा भनिएको छ ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को – (१) दफा ४ को उपदफा (४) मा रहेको ‘पन्ध्र दिनभित्र’ भन्ने शब्दहरूको सट्टा ‘पच्चीस दिनभित्र’ भन्ने शब्दहरू राखिएका छन्,’

    बुधबार ४० अर्ब निक्षेप खिच्दै नेपाल राष्ट्र बैंक

    काठमाडौँ । नेपाल   राष्ट्र बैंकले बुधबार ४० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ३५दिनका लागि सो निक्षेप खिच्न लागेको  जनाएको  हो ।  अहिले कुल निक्षेप ७१ खर्ब माथि पुगेको छ । अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । 

    विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न नहुनेमा प्रधानमन्त्रीको जोड

    आवाजा (तुर्कमेनिस्तान)।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड दिनुभएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत आज ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’सम्बन्धी ‘राउन्ड टेबल’को सहअध्यक्षता गर्दै उहाँले निष्पक्ष व्यापार सर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाब दिनुपर्नेमा जोड दिनुभयो । “यसै वर्ष जुनमा हामीले पारित गरेको सेभिया प्रतिबद्धताको कार्ययोजनाले पनि पूर्वाधार निर्माण, स्मार्ट व्यापार, कोरिडोरमा लगानी, यातायात र रसद उद्योगको विकास, व्यापार र भन्सार प्रक्रियालाई डिजिटलाइज गर्ने विषयलाई महत्त्व दिएको छ ।

    १३ अर्ब ५० करोड युरोको विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल परियोजनालाई इटालीले स्वीकृति दिने

    रोम  (रासस/एएफपी) ।इटाली सरकारले सिसिली टापुलाई मुख्य भूमिमा जोड्ने विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्न १३ अर्ब ५० करोड युरो (१५अर्ब ६० करोड डलर) परियोजनाका लागि बुधबार अन्तिम स्वीकृति दिनेछ ।उपप्रधानमन्त्री एवं पूर्वाधारमन्त्री माटेओ साल्भिनीले दशकौँको योजनापछि ‘इतिहासको पृष्ठ’ चिह्न लगाउँदै मेसिनाको जलडमरूमध्यमा राज्यद्वारा वित्त पोषित पुललाई मन्त्रिपरिषद्ले समर्थन गर्ने बताउनुभयो ।पुललाई बीचमा दुई रेल लाइन र दुवैतिर तीन लेनको ट्राफिकसहित डिजाइन गरिएको छ । यसको झुण्डिएको भाग विश्व कीर्तिमानी ३.३ किलोमिटर (२.०५ माइल) छ र दुई वटा चार सय मिटर (एक हजार तीन सय फिट) अग्लो टावरबीच फैलिएको छ ।सन् २०३२ सम्ममा सम्पन्न हुने तालिका रहेको यो पुल इन्जिनियरिङको अत्याधुनिक तहमा रहेको सरकारले बताएको छ । यो पुलले दुई टेक्टोनिक प्लेटको बीचमा पर्ने क्षेत्रमा तीव्र हावा र भूकम्पको सामना गर्न सक्छ ।मन्त्रीहरूले यसले दुई गरिब इटालियन क्षेत्र सिसिली र मुख्य भूमिको क्यालाब्रियामा आर्थिक वृद्धि र रोजगारी ल्याउने आशा गरेका छन् । साल्भिनीले यो परियोजनाले दशौँ हजार रोजगारी सिर्जना गर्ने प्रतिज्ञा गर्नुभयो ।अझै पनि यसले वातावरणीय प्रभाव र आलोचकहरूले अन्यत्र राम्रो खर्च गर्न सक्ने लागतलाई लिएर स्थानीय विरोधलाई जन्म दिएको छ ।इटालीमा घोषणा गरिएका, वित्त पोषित र कहिल्यै पूरा नगरिएका सार्वजनिक कार्यहरूको लामो इतिहासतिर औँल्याउँदै केही आलोचकहरू यो कहिले पनि साकार हुनेछैन भन्ने विश्वास गर्छन् ।

    शेयर बजारः नेप्से परिसूचक २.३५ बिन्दुले माथि भई २८३६.३५ बिन्दुमा, कारोबार साढे ७ अर्ब बढी

    काठमाडौँ । बुधबार नेप्से परिसूचक  २.३५ बिन्दुले माथि उक्लिएको छ । नेप्से उक्लिएर २८३६.३५ बिन्दुमा पुगेको हो ।

    कुल कारोबार ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९ सय ५२ रुपैया ७९ पैसा बराबर भएको नेप्सेले जनाएको छ । सो बराबरको कारोबार हुन २ करोड १६ लाख ५७ हजार ७ सय ६ कित्ता शेयरको खरिद बिक्री भएको हो ।

    ११ करोड रुपैयाँ ठगीको  आरोप लागेपछि सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव प्रहरीमा आफैं हाजिर

    काठमाडौँ ।   ११ करोड रुपैयाँ ठगी  गरेको  आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर मा हाजिर भएका छन् । श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी गरेको  आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका हुन् ।

    काठमाडौ प्रहरी परिसरले  सेयर कारोबारी दीपेन्द्र अग्रवालले  सेयर खरिद–बिक्री गर्ने विभिन्न १५ नाममध्येका २ जना आफूहरूले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उजुरी दिएको जनाएको छ ।स्रोत अनुसार  मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख नपाएको भन्दै जाहेरी दिएका थिए । ठगी कसुर सम्बन्धी उजुरी आएपछि  श्रीवास्तव आफैं परिसर कार्यालयमा उपस्थित भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij