Logo

Aug 10 2025 | २०८२, साउन २५गते

Aug 10 2025 | २०८२, साउन २५गते

images

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्ने

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्ने

  • काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताउनुभएको छ । मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकामा खुसी व्यक्त गर्दै उहाँले सामाजिक सञ्जालबाट तराईमा सिँचाइको स्थायी समाधान खोजिने बताउनुभएको हो । तराईमा आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको बताउनुभएको छ । वर्षासँगै सुक्खाले सङ्कटग्रस्त मधेस प्रदेशमा रोपाइँ सुरु भएकामा प्रशन्न हुनुभएका प्रधानमान्त्री ओलीले धेरै महिला सहभागी भएर रोपाइँ गरेको तस्बिरसहित देश र जनतालाई अभिवादन गर्दै “यस वर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईका खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो ।

    जहाँ रोपाइँ भयो, त्यहाँ पानीको अभावले रोपो मर्न थालेको थियो । किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेकाबेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो”, भन्नुभएको छ । आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको र अब त्यो दिन धेरै टाढा नभएको उहाँले बताउनुभएको छ । किसानको मुस्कान, जमिनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्यलाई देशको र वर्तमान सरकारको लक्ष्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै किसानलाई अभिवादन गर्नुभएको छ । “तत्कालका लागि ५०० वटा डिपबोरिङ जडानको काम सुरु गरिएको थियो, र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइरहेको छ । पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ । वर्षाले फेरि हरियाली फर्काउन थालेको छ । यही साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ, र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ”, प्रधानमन्त्रीले भन्नुभएको छ । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij