Logo

Aug 14 2025 | २०८२, साउन २९गते

Aug 14 2025 | २०८२, साउन २९गते

images

वित्तीय अनुशासन कायम गर्नुपर्नेमा सांसदहरुको जोड

वित्तीय अनुशासन कायम गर्नुपर्नेमा सांसदहरुको जोड

  • काठमाडौँ।सङ्घीय सञ्चित कोष ऋणात्मक रहेकाले सांसदहरूले वित्तीय अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभएको छ । आज महालेखापरीक्षकको ६२औंँ वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षमाथि राष्ट्रियसभा अन्तर्गत ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’मा छलफल गरिएको थियो । सो छलफलमा सहभागी सांसदहरूले सञ्चित कोषको ऋणात्मक अवस्थामा सुधार ल्याउन र वित्तीय अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभएको हो । समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राज्यको बेरुजु कम गर्दै आर्थिक पारदर्शिता कायम गर्नुपर्ने बताउनुभयो । “राज्य कोषको ऋण कम गर्ने उपायको खोजी गर्नुपर्ने र बेरुजु घटाउन स्थानीय तहलाई सशक्तिकरण गर्नुपर्छ,” उहाँले भन्नुभयो । सांसद नारायणदत्त मिश्रले वित्तीय अनुशासन कायम गरेर राज्य कोषको ऋणात्मक अवस्थामा सुधार ल्याउनुपर्ने बताउनुभयो । सांसद जगप्रसाद शर्माले श्रम र बचत नगर्ने तर भ्रष्टाचार गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । यसैगरी सांसद किरणबाबु श्रेष्ठले आर्थिक अनुशासन कायम हुनुपर्ने बताउनुभयो ।

    महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको प्रतिवेदनमा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षको विषयमा छलफल गर्नुपर्ने बताउनुभयो । सङ्घमा भन्दा स्थानीय तहमा बेरुजुको अवस्था सुधार भइरहेको उहाँको भनाइ छ । “स्थानीय तहमा आठ प्रतिशतसम्म बेरुजु असुल गर्न बाँकी रहँदा सङ्घमा ३० प्रतिशत बेरुजु असुल गर्न बाँकी छ,” रायाले भन्नुभयो । महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीले तीन तहका एकल र साझा अधिकार सूचीका विषय कानुनी स्पष्टतासहित कार्यान्वयन गरिनुपर्ने धारणा राख्नुभयो । भण्डारीका अनुसार आर्थिक वर्ष २०८०/८१ को कूल बजेट रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रहेकामा रु दुई खर्ब ५६ अर्ब ४१ करोड तीन लाख (१४.६४ प्रतिशत) रकमान्तर भएको छ । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij