
काठमाडौँ । नेपालमा कोरियन कम्पनी जी–फाइलोस को–अपरेटिभ लिमिटेडले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने भएको छ। यसको लागि लगानी बोर्ड नेपाल र कम्पनीबीच बिहीवार काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार, दुई पक्षबीच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने सहमति भएको छ। परियोजना सफल भएमा नेपालमा पहिलोपटक हरित हाइड्रोजन उत्पादन र फ्युल सेल प्रविधि भित्रिने छ। कोरियाली कम्पनीले प्रविधि, अनुभव र लगानीका सम्भावनाहरू प्रस्तुत गर्नेछ भने लगानी बोर्ड नेपालले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ।
हरित हाइड्रोजनलाई भविष्यको शुद्ध ऊर्जा स्रोत मानिँदै आएको छ, जसले नेपालमा नवीकरणीय ऊर्जाको दायरालाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। यस परियोजनाले वातावरणमैत्री उद्योग विस्तार, रोजगार सिर्जना र दिगो ऊर्जा सुरक्षामा योगदान पुर्याउने विश्वास गरिएको छ।
लगानी बोर्डका अनुसार कम्पनीले सात अर्बभन्दा बढी लगानी प्रस्ताव गरेको छ। कम्पनीले २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन शुरु गर्ने योजना बनाएको छ। प्लान्टको स्थान अहिलेसम्म निश्चित नभएको छ। यो पहिलो विदेशी लगानीसम्बन्धी प्रस्ताव हो, जसले नेपालको खेर जाने जलविद्युत प्रयोग गरी इलेक्ट्रोलाइसिस विधिमार्फत ग्रिन हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ।
उत्पादित ग्रिन हाइड्रोजनलाई स्टील तथा मल उद्योग, अमोनियम नाइट्रेट उत्पादन र भण्डारणमा प्रयोग गर्न सकिनेछ। जेठ १३ मा बसेको लगानी बोर्डको ६३ औँ बैठकले कम्पनीलाई पाइलट प्लान्ट र फ्युल सेल प्लान्ट स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययनको अनुमति दिएको थियो।
एमओयू कार्यक्रममा लगानी बोर्डका सीईओ सुशील ज्ञवाली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतको उपस्थिति रहेको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij