
काठमाडौं । सोमबार राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको प्रदर्शनमाथि प्रहरीले गरेको दमनबारे सातवटा देशका नेपालस्थित दूताबासले गम्भीर ध्यानाकर्षण गराएका छन् ।
अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स र दक्षिण कोरियाका दूताबासहरूले सोमबार साँझ संयुक्त वक्तव्य जारी गर्दै घटनाप्रति गहिरो दुःख र चिन्ता प्रकट गरेका हुन् ।
संयुक्त वक्तव्यमा भनिएको छ, “हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं । यी घटनाका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं । पीडित परिवारजन र प्रभावित व्यक्तिहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।”
सातवटा देशले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः दोहोर्याएका छन् । साथै, सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण समाधान खोज्न र मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij