Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

जेनजी आन्दोलनको असर : नेप्से ३५.९९ अंकले घट्यो, बजारमा ५ अर्ब २३ करोडको कारोबार

जेनजी आन्दोलनको असर : नेप्से ३५.९९ अंकले घट्यो, बजारमा ५ अर्ब २३ करोडको कारोबार

  • काठमाडौं । विगत केही दिनदेखि दबाबमा रहेको शेयर बजार जेनजी पुस्ताले थालेको आन्दोलनका कारण थप प्रभावित भएको छ । सरकारले फेसबुक, एक्स, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल नेपालमा दर्ता नगरी सञ्चालन गरेको भन्दै दुई दर्जनभन्दा बढी सामाजिक सञ्जाल बन्द गरेपछि अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लागेको भन्दै जेनजी पुस्ताले आन्दोलन चर्काएका थिए । यसको प्रत्यक्ष असर सोमबार शेयर बजारमा देखिएको हो ।

    सोमबार नेप्से परिसूचक ३५.९९ अंकले घटेर बजारमा ५ अर्ब २३ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २५१ कम्पनीमध्ये २२९ कम्पनीको शेयर मूल्य घट्दा केवल २२ कम्पनीको मूल्य मात्र बढेको देखिएको छ ।

    उत्कृष्ट १० कारोबार गर्ने ब्रोकरमध्ये ३ ब्रोकरले बिक्रीलाई बढी प्राथमिकता दिएका छन् । नासा सेक्युरिटिजले ६० करोड ३४ लाख रुपैयाँको कारोबार गर्दै ३४ करोड २३ लाख बराबरको बिक्री गरेकाे छ, जुन खरिदभन्दा ८ करोड १२ लाख बढी हो । त्यस्तै श्रीहरि सेक्युरिटिजले २८ करोड ७० लाख बराबरको कारोबारमा ४ करोड ३५ लाख बढी बिक्री गरेका छन् भने त्रिशक्ति सेक्युरिटिजले पनि ४ करोड ७ लाख बढी बिक्री गरेका छन् ।

    यद्यपि, बाँकी ७ वटा ब्रोकर कम्पनीहरूले भने खरिदमै बढी जोड दिएका छन् । भिजन सेक्युरिटिजले ३६ करोड ७७ लाख बराबरको कारोबारमा बिक्रीभन्दा ३ करोड ७८ लाख बढी खरिद गरेका छन् । त्यसैगरी, आर्यतारा इन्भेष्टमेन्ट, डाइनामिक मनी म्यानेजर्स, इम्पेरियल सेक्युरिटिज, क्यापिटल म्याक्स, सनी सेक्युरिटिज र अनलाइन सेक्युरिटिजले समेत बिक्रीभन्दा खरिदमै जोड दिएका छन् ।

    आन्दोलनले हिंसात्मक रूप लिएपछि केही ब्रोकरमार्फत आक्रामक सेलिङ भए पनि समग्र बजारमा खरिद पक्ष हाबी रहेको तथ्यांकमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij