Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

खरानी टकटक्याएर  उठ्न खोज्दै  निजी क्षेत्र

खरानी टकटक्याएर  उठ्न खोज्दै  निजी क्षेत्र

  • काठमाडौँ । जेनजी आन्दोलनको क्रममा अर्बौँखर्बौँको निजी सार्वजनिक सम्पत्ति खरानी भएको छ । अहिलेसम्म भएका आन्दोलनमा भएको क्षतिको सरसर्ती पुनवरावलोकन गर्दा यो पटक निजी सम्पत्तिमा भएको आगजनी र तोडफोड जस्तो घटना विगतमा भएको पाइदैन् । २५ अर्बको क्षति त होटल क्षेत्रमा मात्रै भएको एक आकलन छ । अन्तरिम सरकरकी प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको क्षतिप्रति दिएको सकारात्मक अभिव्यक्तिबाट क्षतिबाट पीडित निजी क्षेत्रलाई केही हौसला प्राप्त भएको छ ।
    उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकालले पनि क्षतिबाट निराश नभइ सबैलाई उठ्न पर्ने गरी गरेको आह्वानले पनि उनीहरूलाई हौसला दिएको हो ।अध्यक्ष ढकाल आफै पनि जेनजी आन्दोलनको आगजनी र तोडफोडबाट पीडित भएको एक उद्यमी हुन् । 

    उद्योगी व्यवसायीका नेताको हैसियतले क्षतिबाट निराश नभइ उठ्नुपर्ने हौसला आत्मसात गर्नु बाहेक अर्को विकल्प पनि रहेको छैन् । अन्तरिम सरकारले पनि उनीहरूका लागि सहयोगी आड बन्नुपर्ने देखिएको छ ।नेपालकै उर्वर माटोमा सिँचाइ गरी सुन फलाउँ भावना बोकेका उद्यमीहरूका लागि स्वाभाविकरूपमा अर्काे विकल्प बाँकी पनि हुँदैन् ।अध्यक्ष ढकालको उद्यम व्यवसायमा २० हजारभन्दा बढीको प्रत्यक्ष रोजगारी जोडिएको छ । अप्रत्यक्ष रोजगारीबाट लाखौँ लाभान्वित भएको ढकाल आफैले पनि दाबी गरेका छन् ।

    आमरूपमा उद्योगी व्यवसायीहरू भन्छन् ‘आन्दोलनकारी नयाँ पुस्ताले  निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन भएको बुझ्नुपर्ने छ । उद्यमशीलता भनेको रोजगारी हो । राजस्वको स्रोत हो र समृद्धिको वाहक हो निजी क्षेत्र । ८१ प्रतिशत बढी मुलुकको अर्थतन्त्रमा योगदान रहेको र ८६ प्रतिशत बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बिना मुलुकको समृद्धि सम्भव नहुने बुझाइ नयाँ पुस्तामा हुनुपर्छ । ”

     उद्योगी  व्यवसायीहरूले जीवनभरको पसिना, सपना र समर्पणका इँटाले बनाएको घर र व्यवसाय आफ्नै आँखा अगाडि दन्दनी जल्दै खरानी भएको देख्नुपरेको पीडा सहनुपरेको छ । भौतिक क्षतिसँगै उनीहरूको मानसिक शक्तिमा प्रहार भएर होला एक उद्यमीले भने ‘ नेपालमा व्यवसाय गरी बस्नु गल्ती भएको रहेको महसुस भइरहेको छ ।’ 
    यसरी सम्पत्ति जलेर खरानी भएका भावविह्वल भएका उद्यमी व्यवसायीहरूलाई हौसला दिँदै अध्यक्ष ढकाल भन्छन् ‘ तर पनि यसरी चित्त बुझाऔँ कि आगोले इँटा र काठ जलाए पनि तपाईं हामीभित्रको हौसला र आत्मबल छँदै छन् । हाम्रा मन–मस्तिष्क, श्रमको मूल्य र तपाईं हामीले सदा बोकिरहेको आत्मबल कहिल्यै जल्दैन । तपाईं हामीले गुमाएका सामग्री हाम्रा आत्मबल र हौसलाले फेरि जुटाउन सकिन्छ । हाम्रो धैर्यता, संघर्ष र मेहनत गर्ने हाम्रो नियमितता र क्षमता नै हामी सबैको वास्तविक सम्पत्ति हो । यसैले भौतिक सम्पत्ति जोड्नुपर्छ, र अहिले लागेको घाउचोटलाई पनि सबै मिलेर पुर्नुपर्छ।’
    निजी क्षेत्रले क्षति बेहोरेर पनि उठ्न गरेको हौसलाको प्रधानमन्त्री कार्कीले पनि प्रशंसा गरेकी छिन् । र भनेकी छिन्  सफ्टलोन दिएर हुन्छ कि के गरेर हुन्छ सरकार सहयोग गर्न तयार हुनु पर्छ ’यसरी खरानी टकटक्याएर उठ्न लागेका छन् निजी क्षेत्रका उद्यमी व्यवसायीहरू । अझ क्षतिको आकलन हुन भने बाँकी नै छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij