
काठमाडौँ । रसुवागढी र तातोपानी भन्सार नाका सञ्चालनमा ल्याउनुपर्ने माग बढेको छ । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन पर्ने आवश्यकता दर्शाउँदै उद्योगी व्यवसायीले यस्तो आग्रह गरेका हुन् ।
चीनबाट मालवस्तु आयात गर्ने प्रमुख नाकाहरूमा रसुवागढी र तातोपानी नाका मानिन्छन् ।बाढी रसुवागढीको मितेरी पुल बगाइदिएको छ । हालै मात्र मितेरी पुलको निर्माण गर्न जग खन्न सुरु गरिएको छ । तर दशैं अघि यो मार्ग खुला हुन नसक्ने देखिएपछि थप पहल गर्न माग गरिएको हो ।
जेनजीको आन्दोलनले संसद र सरकारलाई विस्थापित भएको छ । नयाँ अन्तरिम सरकार बनेको छ । चीनले नयाँ सरकारलाई स्वागत गरेको छ । रसुवागढी र तातोपानी नाका खुलाउन कूटनीतिक सम्बन्धको सहयोग त्यतिकै महत्वपूर्ण रहेको जानकारहरू बताउँछन् ।
यहीबीच नेपाल चेम्बर अफ कमर्सले पनि सरकारको ध्यानाकर्षण गराएको छ । यसअघि नेपाल समुद्रपार निकास पैठारी संघले पनि यसबारे चिन्ता व्यक्त गरेको थियो ।
नेपाल–चीनबिचको व्यापारको लागि अत्यन्तै महत्वपूर्ण मानिने यी दुई नाकाहरू नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र आयात÷निर्यात प्रणालीमा गम्भीर समस्या देखिएको भन्दै चेम्बरले तत्काल पुनर्निमाणको पहल गर्न सरकारसमक्ष आग्रह गरेको हो ।
नजिकिँदै गरेको चाडपर्वका बेला उद्योगी, व्यवसायी तथा आम उपभोक्ता प्रत्यक्ष प्रभावित भएको र यसले मुल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र मन्त्रालय, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराइएको चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु, कच्चा पदार्थ र अन्य आवश्यक सामग्रीहरूको आयात अवरुद्ध भएकाले बजारमा सम्भावित अभाव सिर्जना हुने जोखिम बढेको छ ।
चीनसँग जोडिएको महत्वपूर्ण नाकाहरू लामो समय बन्द हुँदा वैदेशिक व्यापार मात्र होइन, साना उद्योग र व्यावसायिक प्रतिष्ठान पनि संकटमा परेका छन् । चीनबाट आउने इलेक्ट्रोनिक्स, लत्ताकपडा, फलफूल, खाद्यान्न, औषधि र अन्य दैनिक प्रयोगका सामग्रीहरू रोकिन पुगेको छ ।
महत्वपूर्ण व्यापारिक नाका खुलाउने विषयलाई उच्च प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग सहकार्य गरी तत्काल पहल गर्नुपर्नेमा चेम्बरलगायतका संघसंस्थाहरूले माग गरेका छन् ।
रसुवागढी र तातोपानी नाका तत्काल नखुलेपछि कोरला नाकाबाट नेपाल चीन बीचको व्यापार खुलेको छ। कोरला नाकाबाट मालवस्तु आउन थालेको भएपनि यो यी दुई नाकाको तुलनामा लागत बढाउने नाका हो । रसुवागढी र तातोपानी नाकाको तुलनामा कोरला नाकाबाट ९सय किलो मिटर जतिको लागत बढ्ने सम्बद्धहरूको भनाइ छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij