
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समयमा उपलब्ध गराउनुपर्नेमा विशेष जोड दिनुभएको छ ।
मन्त्रालयको पदभार ग्रहणपछि मन्त्री घिसिङले लामो समयदेखि बढ्दो गुनासो बनेको अनुमतिपत्र ढिलाइको समस्या तत्काल समाधान गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले दशैंअघि सडक सुधार गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
मन्त्री घिसिङले भन्नुभयो, “सेवा प्रणालीलाई छिटो प्रवाह गर्ने गरी काम गर्नुपर्छ । चुनौती धेरै छन् तर जिम्मेवारीबाट भाग्ने छुट छैन । कार्बन उत्सर्जन कटौती गरेर जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विद्युतीय सवारी साधन प्रवर्द्धन गर्नुपर्छ । त्यसका लागि सात दिनभित्र चार्जिङ स्टेशन निर्माणबारे प्रतिवेदन तयार गर्नुस् ।”
पदभार ग्रहणसँगै गरिएको निर्णयअनुसार विद्युतीय सवारी साधन चार्ज गर्ने पूर्वाधार, मर्मत सम्भार गर्ने वर्कसप, ब्याट्री व्यवस्थापन लगायतका विषयमा सुझाव सिफारिस गर्ने भएको छ । साथै, विद्युतीय सवारीको प्रयोग बढाउन संस्थागत क्षमता विकास, अन्तरनिकाय समन्वय, गुणस्तर र मापदण्ड सुधारमा पनि काम गरिनेछ ।
यस अवसरमा मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक विभाग र यातायात व्यवस्था विभाग आगलागीका कारण क्षतिग्रस्त भएको जानकारी गराउँदै हालको कार्यसम्पादन वैकल्पिक स्थलबाट भइरहेको बताए ।
सचिव शर्माले मन्त्रीलाई सम्बोधन गर्दै, “जनअपेक्षाअनुरूप काम गर्नुस्, हामी साथ दिनेछौँ,” भन्नुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij