Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

  • भोजपुर। परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ । दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा सङ्कटमा पर्दै गएको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तरराष्ट्रिय बजारसम्म हुने भए पनि मागअनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीहरूको भनाइ छ । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय कालीगड हर्कबहादुर विश्वकर्माले बताउनुभयो । कालीगड पेसामा नयाँ पुस्ताको रुचि हराउँदै गएका कारण खुकुरी उत्पादनमा कमी आउँदा माग धान्न समस्या रहेको उहाँको भनाइ छ । “पछिल्लो समय भोजपुरे खुकुरीको देश–विदेशबाट माग आउने गरेको छ”, उहाँले भन्नुभयो, “गाउँघरमा अहिले दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ । बजारको मागलाई धान्न मुस्किल छ ।

    यो पेसालाई पुस्तान्तरणको अभाव देखिएको छ ।” मुख्य गरेर भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडालगायतका खुकुरीको बजारमा बढी माग रहेको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम २० हजारसम्म पर्ने व्यवसायी दिनेश गजमेरले बतउनुभयो । बाहिरका जिल्लाबाट दुईचार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने उहाँको भनाइ छ । विगतका वर्षहरूमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा व्यावसायिक रूपमा यो काम गर्ने मानिसहरूको सङ्ख्या क्रमशः घट्दै गएको उहाँले जानकारी दिनुभयो । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको उहाँले बताउनुभयो । विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij